+
+
Shares

नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छ : पर्यटनमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्यटनमन्त्री खडकराज पौडेलले नेपाललाई ईयूको हवाई सुरक्षा सूचीबाट हटाउन सरकारले प्राविधिक, संस्थागत र कूटनीतिक तहमा सघन प्रयास गरिरहेको जानकारी दिनुभयो ।
  • मन्त्री पौडेलले सन् २०१३ देखि जारी अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको र आगामी गर्मी बिदापछि ईयूले समीक्षा गर्ने बताउनुभयो ।
  • हवाई सुरक्षा प्रणाली मजबुत बनाउन नियामक र सेवा प्रदायक निकायलाई छुट्टाछुट्टै संस्थागत संरचनामा रूपान्तरण गर्ने विधेयक सदनमा पेस गर्ने तयारी भइरहेको छ ।

२ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को ‘हवाई सुरक्षा सूची’ (एयर सेफ्टी लिस्ट) बाट हटाउन सरकारले प्राविधिक, संस्थागत र कूटनीतिक तहमा सघन प्रयास गरिरहेको जानकारी दिएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसद निश्कल राईले राखेको प्रश्नको उत्तर दिँदै मन्त्री पौडेलले सन् २०१३ देखि जारी अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए ।

सो क्रममा उनले ‘कालो सूची’ शब्दले नकारात्मक र विभेदकारी संकेत गर्ने उल्लेख गर्दै यसलाई प्राविधिक रूपमा ‘हवाई सुरक्षा सूची’ भन्नु उपयुक्त हुने बताए ।

मन्त्री पौडेलकाअनुसार युरोपेली संघले सन् २०२३ सेप्टेम्बरमा गरेको स्थलगत उडान सुरक्षा मूल्यांकनका खुला निष्कर्षहरूलाई कार्यान्वयनमा लैजान सरकार सक्रिय भएको छ ।

५ जुन २०२६ मा नेपालले सुधारात्मक कार्ययोजनाको विस्तृत विवरण ईयूसमक्ष पेस गरिसकेको र ईयूले आगामी गर्मी बिदापछि यसको समीक्षा गर्ने जानकारी प्राप्त भएको मन्त्री पौडेलले सदनलाई अवगत गराए ।

हवाई क्षेत्रको नियामक र सेवा प्रदायक निकाय एउटै हुँदा स्वार्थको द्वन्द्व सिर्जना भएको र यसले सुरक्षा प्रणालीमा चुनौती थपेको मन्त्री पौडेलको भनाइ छ । उडान सुरक्षा प्रणालीलाई मजबुत बनाउन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, युरोपेली युनियन उड्डयन सुरक्षा एजेन्सी लगायतका साझेदारहरूसँगको सहकार्यमा विभिन्न तालिम र कार्यशालाहरू सञ्चालन भइरहेका छन् ।

जुन २०२६ मा चालक दलको तालिम र उडान सञ्चालन मापदण्ड सम्बन्धी कार्यक्रम सम्पन्न भइसकेको र आगामी अगस्टदेखि नोभेम्बरसम्म थप प्राविधिक कार्यशालाहरू तय गरिएको मन्त्रालयले जनाएको छ ।

नेपाललाई सुरक्षा सूचीबाट हटाउन परराष्ट्र मन्त्रालयसँगको समन्वयमा कूटनीतिक प्रयासलाई पनि तिब्रता दिइएको  छ ।

‘नियामक र सेवा प्रदायकलाई छुट्टाछुट्टै संस्थागत संरचनामा रूपान्तरण गर्न आवश्यक विधेयक तर्जुमा भइसकेको छ । यसलाई निकट भविष्यमै स्वीकृतिका लागि सदनमा पेस गर्ने तयारीमा छौं,’ उनले भने ।

सांसद राईको पूरक प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले केवल कूटनीतिक पहलले मात्र नभई वास्तविक र मापनयोग्य सुधारमार्फत हवाई सुरक्षा सूचीबाट हट्न सरकार दृढताका साथ अघि बढिरहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?