+
+
Shares

आप्रवासी संकटमा स्पेन र सदस्य राष्ट्रबीच तनाव, ईयूले बोलायो आपत्कालीन बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते ६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरक्कोबाट करिब ६० हजार आप्रवासी स्पेनको सेउटा क्षेत्रमा प्रवेश गरेपछि ईयू सदस्य राष्ट्रबीच सीमा सुरक्षा र आप्रवासन नीतिलाई लिएर गम्भीर तनाव बढेको छ ।
  • स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजले आप्रवासी संकटबारे केही युरोपेली सरकारले देखाएको पूर्वाग्रह र आलोचनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आफ्नो सीमा नियन्त्रणमा रहेको स्पष्ट पार्नुभएको छ ।
  • इटालीले स्पेनसँगको सेन्जेन व्यवस्था एक महिनाका लागि निलम्बन गरेको छ भने अन्य देशले पनि सीमा जाँच कडा बनाउने लगायतका विकल्पमाथि विचार गरिरहेका छन् ।

१७ साउन, काठमाडौं । मोरक्कोबाट करिब ६० हजार आप्रवासी स्पेनको उत्तरी अफ्रिकी भूभाग सेउटामा प्रवेश गरेपछि ईयू सदस्य राष्ट्रबीच सीमा सुरक्षा र आप्रवासन नीतिलाई लिएर तनाव बढेको छ । यस आप्रवासी संकटबारे छलफल गर्न युरोपेली संघ (ईयू)ले मंगलबार आपत्कालीन बैठक बोलाएको छ ।

ईयूका २२ सदस्य राष्ट्रले संयुक्त पत्र जारी गर्दै आप्रवासन संकटको सामना गर्न समन्वित कदम चाल्न तथा संघको बाह्य सीमा थप मजबुत बनाउन माग गरेका छन् ।

संयुक्त पत्रमा गैरकानुनी रूपमा ईयू प्रवेश गर्न सकिने धारणा सिर्जना गर्ने गरी हुने ‘हाइब्रिड थ्रेट’प्रति चिन्ता व्यक्त गरिएको छ । त्यस्तो धारणा फैलिँदा थप मानिसले गैरकानुनी प्रवेशको प्रयास गर्न सक्ने, साझा आप्रवासन नीतिप्रतिको विश्वास कमजोर हुने र त्यसको असर सबै सदस्य राष्ट्रमा पर्ने पत्रमा उल्लेख छ ।

तर, संकटका विषयमा युरोपेली देशहरूले स्पेनप्रति गरेको प्रतिक्रियाप्रति स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजले असन्तुष्टि जनाएका छन् ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेर लेयेनलाई छुट्टै पत्र लेख्दै सान्चेजले केही युरोपेली सरकारको व्यवहारप्रति ‘गम्भीर चिन्ता’ रहेको बताएका छन् । उनले ४८ घण्टाभित्रै स्पेनले सेउटा सीमा क्षेत्रमा पुन: पूर्ण नियन्त्रण कायम गरेको र आप्रवासीलाई मुख्यभूमि युरोपतर्फ अनधिकृत रूपमा जानबाट रोकिएको दाबी गरेका छन् ।

उनले अधिकांश युरोपेली देशले संकटका बेला ‘समर्थन र ऐक्यबद्धता’ देखाए पनि केही सरकारले पूर्वाग्रह, गलत सूचना, अज्ञानता वा राजनीतिक स्वार्थका कारण स्पेनमाथि आक्रमण गरेको आरोप लगाए । सान्चेजले सेउटा सेन्जेन क्षेत्रको हिस्सा नभएको समेत स्पष्ट पारेका छन् ।

सेन्जेन सम्झौतालाई लिएर पनि विवाद

सेउटामा भएको घटनापछि युरोपको सीमा–रहित यात्रासम्बन्धी सेन्जेन व्यवस्थालाई लिएर पनि विवाद चर्किएको छ ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले स्पेनसँगको सेन्जेन व्यवस्था एक महिनाका लागि निलम्बन गर्ने निर्णय गरेकी छन् । फिनल्यान्ड र डेनमार्कले समेत यस्तो कदमप्रति समर्थन जनाएका छन् ।

फिनल्यान्ड, फ्रान्स र पोर्चुगलले पनि सीमा जाँच पुन: सुरु गर्ने विषयमा विचार गरिरहेको बताएका छन् । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सेनले सेन्जेन सहकार्य निलम्बन गर्नेसहित ‘सबै विकल्प’माथि विचार गर्न ईयूलाई आग्रह गरेकी छन् ।

सेन्जेन क्षेत्रअन्तर्गत अहिले युरोपका २९ देश र ४५ करोडभन्दा बढी मानिस पर्छन् ।

युरोपेली आयोगकी अध्यक्ष फन डेर लेयेनले सेउटामा देखिएका दृश्यलाई ‘अस्वीकार्य’ भनेकी छन् । उनले नियम पालना नगरी कसैलाई पनि ईयू प्रवेश गर्न दिन नसकिने बताएकी छन् ।

जर्मनीका चान्सलर फ्रेडरिक मर्जले मोरक्कोलाई गैरकानुनी रूपमा प्रवेश गरेका आप्रवासीलाई तत्काल फिर्ता लैजान आग्रह गरेका छन् ।

अधिकांश आप्रवासी सेउटाबाट फर्किए, ६७ जनाको मृत्यु

स्पेनी अधिकारीहरूका अनुसार जुलाई ३० मा सेउटा पुगेका अधिकांश आप्रवासी फिर्ता भइसकेका छन् । संकटका क्रममा मृत्यु हुनेको संख्या भने कम्तीमा ६७ पुगेको छ ।

स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले शनिबार अवस्था लगभग सामान्य अवस्थामा फर्किएको बताएका थिए । पानीको बाटो हुँदै हुने गैरकानुनी प्रवेश रोक्न सरकारले ‘इन्फ्लेटेबल ब्यारियर’ निर्माणको काम गरिरहेको उनले जानकारी दिए ।

उनका अनुसार सेउटामा पुगेका अधिकांश आप्रवासी त्यहाँबाट फर्किसकेका छन् र स्थानीय व्यवसायहरू पनि पुन: सञ्चालनमा आएका छन् ।

यसअघि शुक्रबार प्रधानमन्त्री सान्चेजले समुद्री मार्गबाट आउने आप्रवासीलाई तत्काल फिर्ता पठाउने सरकारको अधिकारलाई सीमित गर्ने सर्वोच्च अदालतको हालैको निर्णयको फाइदा मानव तस्करहरूले उठाएको आरोप लगाएका थिए ।

अफ्रिकासँग जोडिएका ईयूका दुई मात्र स्थलसीमा

मोरक्कोमा गत वर्ष युवाहरूले सरकारविरुद्ध गरेको प्रदर्शन र त्यसपछि देखिएको सामाजिक–आर्थिक असन्तुष्टिको पृष्ठभूमिमा सेउटामा आप्रवासीको पछिल्लो लहर आएको हो ।

सेउटा र मेलिल्ला युरोपेली संघका अफ्रिकासँग जोडिएका दुई मात्र स्थलसीमा हुन् । मोरक्कोबाट आप्रवासीहरू समुद्रमा केही किलोमिटर पौडिएर समेत सेउटा प्रवेश गर्ने प्रयास गर्छन् ।

गर्मी मौसममा सेउटा प्रवेश गर्ने प्रयास बढ्ने गरेको छ । यस्ता प्रयास सामाजिक सञ्जालमार्फत संगठित हुने गरेका छन् ।

सन् २०२१ मा केही दिनकै अवधिमा करिब ८ हजार मानिस सेउटा प्रवेश गरेका थिए । त्यस घटनाले स्पेन र मोरक्कोबीचको कूटनीतिक तनावसमेत बढाएको थियो ।

स्पेनले भने आप्रवासनका विषयमा तुलनात्मक रूपमा उदार नीति अपनाउँदै आएको छ । गत अप्रिलमा स्पेनी सरकारले करिब ५ लाख गैरकानुनी रूपमा बसिरहेका आप्रवासीलाई कानुनी हैसियत प्रदान गरी श्रम बजारमा औपचारिक रूपमा समेट्ने योजना स्वीकृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?