+
+
Shares

स्पेन छिर्न हजारौंको जोखिमपूर्ण यात्रा : समुद्रमा मृत्यु, युरोपमा नयाँ बहस

काखमा बालबालिका र आँखामा सुरक्षित भविष्यको सपना बोकेका हजारौं मानिस समुद्र पार गर्दै स्पेनको सेउटा पुगे। तर सबैले किनार भेटेनन्- कम्तीमा १८ जनाको यात्राले समुद्रमै विश्राम लियो र बाँचेका मानिसको संघर्षले युरोपमा आप्रवासन, सीमा सुरक्षा र मानवीय दायित्वबारे नयाँ बहस जन्माएको छ।

वसन्त रानाभाट वसन्त रानाभाट
२०८३ साउन १५ गते १०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनको स्वायत्त सहर सेउटामा समुद्री मार्गबाट युरोप प्रवेश गर्ने क्रममा कम्तीमा १८ जना आप्रवासीको ज्यान गएको छ।
  • समुद्रबाट अवैध रूपमा प्रवेश गर्नेहरूको संख्या बढेपछि स्पेनले थप सुरक्षाकर्मी परिचालन गर्दै राष्ट्रिय आपत्काल घोषणाको माग सामना गरिरहेको छ।
  • इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले यस घटनालाई युरोपेली सीमा सुरक्षाका लागि प्रत्यक्ष खतरा भन्दै कडा निगरानीको आवश्यकता औंल्याएकी छन्।

१५ साउन, बार्सिलोना । भूमध्यसागरको पश्चिमी किनारमा बिहीबार बिहान देखिएको दृश्य सामान्य थिएन। समुद्रमा युवा पुरुषहरू मात्र थिएनन्; काखमा साना बालबालिका बोकेका अभिभावक, परिवारका सदस्य, किशोर–किशोरी र भविष्यको खोजीमा निस्किएका सयौं मानिस एउटै दिशातर्फ अघि बढिरहेका थिए।

कसैले साना बालबालिकालाई हावा भरिएका रबरका ट्युबमा राखेका थिए भने कसैले उनीहरूको हात समातेर समुद्र पार गर्ने प्रयास गरिरहेका थिए। धेरैले पौडी खेल्दै स्पेनको स्वायत्त सहर सेउटा पुग्ने जोखिमपूर्ण बाटो रोजेका थिए।

केही मानिस किनारमा पुग्न सफल भए। धेरैलाई स्पेनी उद्धार टोलीले समुद्रबाट जीवितै बाहिर निकाल्यो। तर सबैको यात्रा सुरक्षित रहेन। तीव्र बहाव, थकान र जोखिमपूर्ण यात्राका कारण स्पेनी सञ्चारमाध्यमका अनुसार कम्तीमा १८ जनाले ज्यान गुमाएका छन्।

युरोप पुग्ने सपना बोकेका मानिसहरूका लागि समुद्र फेरि एकपटक समाधिस्थल बनेको छ। यो घटनाले स्पेनको आप्रवासन नीति, युरोपेली संघको सीमा सुरक्षा, मानव तस्करीका अन्तर्राष्ट्रिय सञ्जाल र स्पेन–मोरक्को सम्बन्धतर्फ विश्वको ध्यान खिचेको छ।

स्पेनका प्रमुख दैनिक एल पाइस र ला भाङ्गार्डिया, सार्वजनिक प्रसारक आरटीभीई तथा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स, एपी र बीबीसीले घटनालाई सन् २०२१ को सीमा संकटसँग तुलना गरेका छन्।

स्थानीय प्रशासनले केन्द्र सरकारसँग तत्काल हस्तक्षेपको माग गरेको छ। सरकारले सेना र थप सुरक्षाकर्मी परिचालन गरेको छ। प्रधानमन्त्री पेद्रो सान्चेज र गृहमन्त्री फर्नान्डो ग्रान्दे–मार्लास्काले घटनाक्रमको प्रत्यक्ष निगरानी गरिरहेका छन्।

अफ्रिकामा रहेको स्पेन, जहाँबाट सुरु हुन्छ युरोप

सेउटा नक्सामा सानो देखिए पनि यसको रणनीतिक महत्त्व ठूलो छ। यो स्पेनको स्वायत्त सहर हो, तर भौगोलिक रूपमा अफ्रिकी महादेशको उत्तरी किनारमा मोरक्कोसँग जोडिएको छ। यही कारण अफ्रिकाबाट युरोप प्रवेश गर्न चाहने हजारौं मानिसका लागि यो सबैभन्दा छोटो र संवेदनशील मार्ग बनेको छ।

युरोपेली संघका लागि पनि सेउटाको विशेष महत्त्व छ। सेउटा र मेलिल्ला अफ्रिकी भूमिमा रहेका युरोपेली संघका एकमात्र स्थलीय नाका हुन्। त्यसैले यहाँ हुने प्रत्येक गतिविधिलाई स्पेनको मात्र नभई समग्र युरोपको सीमा सुरक्षासँग जोडेर हेरिन्छ।

स्पेनले पछिल्ला वर्षहरूमा सीमाको तारबार बलियो बनाएको छ। समुद्री निगरानी बढाउनुका साथै मोरक्कोसँगको सहकार्य पनि विस्तार गरेको छ। तर यी सबै उपायका बाबजुद अफ्रिकाबाट युरोप पुग्ने सपना बोकेका मानिसहरूको लहर रोकिएको छैन।

समुद्रबाट प्रवेशको नयाँ लहर

स्थानीय प्रशासनले अवस्थालाई मानवीय तथा सुरक्षा संकट भन्दै केन्द्र सरकारसमक्ष राष्ट्रिय आपत्काल घोषणा गर्न माग गरेको छ। आप्रवासी स्वागत केन्द्रहरू क्षमताभन्दा बढी भरिएका छन् भने सयौं मानिस सडकमा रात बिताउन बाध्य भएका छन्

सार्वजनिक भएका भिडियोमा हजारौं मानिस पौडी खेल्दै, हावा भरिएका ट्युब र अस्थायी फ्लोटको सहारामा सेउटातर्फ अघि बढिरहेको देखिन्छ। केही समूहले सीमा गेट र तारबार हुँदै प्रवेश गर्ने प्रयास गरेका दृश्य पनि सार्वजनिक भएका छन्।

सेउटा प्रवेश गर्नेहरूको वास्तविक संख्या अझै स्पष्ट छैन। रोयटर्सले स्पेनी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिहीबार एकै दिन दुईदेखि तीन हजार मानिस सेउटा प्रवेश गरेको अनुमान गरिएको जनाएको छ। तर सीमा सुरक्षाको जिम्मेवारीमा रहेको गार्डिया सिभिलले त्यसको आधिकारिक पुष्टि गरेको छैन।

त्यसअघि एक सातामै एक हजार ५०० भन्दा बढी मानिस समुद्री मार्गबाट सेउटा पुगेको स्थानीय प्रशासनले जनाएको थियो। तीमध्ये अधिकांश युवा मोरक्केली छन्। संख्यामा फरक देखिए पनि सेउटाले पछिल्ला केही वर्षयताकै ठूलो आप्रवासी दबाब सामना गरिरहेकोमा सबै स्रोत सहमत छन्।

समुद्रमा बढ्दो मृत्यु, गहिरिँदो मानवीय संकट

समुद्रबाट युरोप प्रवेश गर्ने प्रयासमा कम्तीमा १८ जनाको मृत्यु भएको स्पेनी सञ्चारमाध्यमहरूले प्रहरी स्रोतलाई उद्धृत गर्दै जनाएका छन्। उद्धार टोलीले धेरैलाई जीवितै बाहिर निकाले पनि प्रत्येक सफल उद्धारसँगै दुःखद समाचार पनि आइरहेका छन्। तर अहिलेको त्रासदी बिहीबारको घटनामा मात्र सीमित छैन।

सेउटाका स्थानीय सरकार प्रमुख हुआन जेसुस भिभासका अनुसार पछिल्ला महिनाहरूमा सेउटाको समुद्री क्षेत्रमा ६० जनाको शव फेला परिसकेको छ। यो संख्या बिहीबारको घटनामा मात्रै मृत्यु भएकाहरूको होइन, पछिल्ला महिनाहरूमा यही मार्ग हुँदै युरोप प्रवेश गर्ने प्रयासमा ज्यान गुमाएकाहरूको हो।

यो तथ्यले एउटा कटु यथार्थ उजागर गर्छ- युरोप पुग्ने सपना अझै पनि धेरैका लागि समुद्रमै समाप्त भइरहेको छ।

स्थानीय प्रशासनले अवस्थालाई मानवीय तथा सुरक्षा संकट भन्दै केन्द्र सरकारसमक्ष राष्ट्रिय आपत्काल घोषणा गर्न माग गरेको छ। आप्रवासी स्वागत केन्द्रहरू क्षमताभन्दा बढी भरिएका छन् भने सयौं मानिस सडकमा रात बिताउन बाध्य भएका छन्।

म्याड्रिडको पहिलो प्रतिक्रिया

सीमाको अवस्था जटिल बन्दै गएपछि स्पेन सरकारले थप सुरक्षाकर्मी, उद्धार टोली र सेना परिचालन गरेको छ। तर म्याड्रिडका लागि अहिलेको चुनौती सीमा नियन्त्रणमा मात्रै सीमित छैन।

एकाएक यति ठूलो संख्यामा मानिसले किन यही समुद्री मार्ग रोजे? यो प्रश्नले सबैलाई गम्भीर बनाएको छ । यसको उत्तर खोज्ने क्रममा स्पेनको सर्वोच्च अदालतको हालैको एउटा फैसला राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ।

यसै महिनाको सुरुआतमा स्पेनको सर्वोच्च अदालतले समुद्रबाट सेउटा वा मेलिल्ला पुग्ने प्रयासमा भेटिएका आप्रवासीलाई आवश्यक कानुनी प्रक्रिया पूरा नगरी तत्काल मोरक्को फर्काउन नमिल्ने फैसला गरेको थियो। उक्त फैसला स्थलमार्गबाट तारबार नाघेर प्रवेश गर्नेहरूको हकमा भने लागू हुँदैन।

अदालतको निर्णय मानवअधिकार र अन्तर्राष्ट्रिय कानुनी दायित्वसँग सम्बन्धित छ। तर स्पेनको गृह मन्त्रालयले मानव तस्करीका अन्तर्राष्ट्रिय सञ्जालले यही निर्णयलाई गलत रूपमा प्रचार गरेको आरोप लगाएको छ।

ती सञ्जालले ‘अहिले स्पेन प्रवेश गर्न सजिलो भएको’ सन्देश फैलाएर विशेषगरी युवा आप्रवासीलाई समुद्री मार्ग रोज्न उक्साएको गृह मन्त्रालयको दाबी छ। यद्यपि मोरक्कोका केही मानवअधिकारकर्मीले समुद्र पार गर्ने अधिकांश मानिसलाई अदालतको फैसलाबारे जानकारी नै नहुन सक्ने बताएका छन्।

यही कारण सर्वोच्च अदालतको फैसला, मानव तस्करीका अन्तर्राष्ट्रिय सञ्जाल, सरकारको आप्रवासन नीति र विपक्षी दलहरूको आलोचना एकअर्कासँग गाँसिएर स्पेनको राष्ट्रिय बहसको केन्द्रमा पुगेका छन्।

स्पेनका प्रमुख सञ्चारमाध्यमले संकटलाई आ–आफ्नो दृष्टिकोणबाट विश्लेषण गरेका छन्। ‘एल पाइस’ले यसलाई युरोपेली संघको बाह्य सीमा सुरक्षासँग जोडिएको चुनौतीका रूपमा व्याख्या गरेको छ भने ‘ला भाङ्गार्डिया’ले मानवीय संकटलाई केन्द्रमा राखेको छ। रोयटर्सले सुरक्षा, कूटनीति र सरकारी प्रतिक्रियालाई विशेष महत्त्व दिएको छ।

यी रिपोर्टलाई एकै ठाउँमा राखेर हेर्दा एउटा स्पष्ट चित्र देखिन्छ- स्पेन अहिले सीमा पार गर्ने मानिसहरूको संख्या मात्र व्यवस्थापन गरिरहेको छैन; उसले आफ्नो आप्रवासन नीति, युरोपेली जिम्मेवारी र मानवीय दायित्वबीच सन्तुलन खोजिरहेको छ।

यो संकटले सन् २०२१ को घटना पनि सम्झाइदिएको छ। त्यतिबेला दुई दिनमै आठ हजारभन्दा बढी मानिस सेउटा प्रवेश गरेका थिए। उक्त घटनाले स्पेन–मोरक्को सम्बन्धमा गम्भीर कूटनीतिक तनाव सिर्जना गर्नुका साथै युरोपेली संघभित्र सीमा सुरक्षाबारे ठूलो बहस निम्त्याएको थियो।

इटालीको कडा प्रतिक्रिया

सेउटाको घटनापछि सबैभन्दा तीव्र प्रतिक्रिया इटालीबाट आएको छ। इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले सामाजिक सञ्जाल एक्समा सेउटाका दृश्यलाई ‘अत्यन्त चिन्ताजनक’ बताएकी छन्।

‘अनियन्त्रित गैरकानुनी आप्रवासन युरोपेली सीमाको सुरक्षामाथिको प्रत्यक्ष खतरा हो,’ उनले भनेकी छन्। युरोपेली सीमा सुरक्षा अझ कडा बनाउनुपर्ने उनको धारणा छ।

मेलोनीले इटालीका गृहमन्त्री मातेओ पियान्तेदोसीसँग छलफल गरेपछि आवश्यक परे स्पेनसँगको शेन्जेन व्यवस्थाअन्तर्गतको निर्बाध आवतजावतमा अस्थायी सीमा जाँच पुनःस्थापित गर्ने विकल्पसमेत विचाराधीन रहेको संकेत गरेकी छन्।

स्पेन युरोपेली संघको बाह्य सीमा भएकाले यहाँको सुरक्षा चुनौतीलाई ब्रसेल्सले साझा जिम्मेवारीका रूपमा हेर्दै आएको छ। सीमा निगरानी, प्राविधिक सहयोग र आवश्यक परे फ्रन्टेक्समार्फत थप जनशक्ति परिचालन गर्न सकिने विषयमा छलफल भइरहेको स्पेनी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?