News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनको स्वायत्त सहर सेउटामा प्रवेश गरेका करिब ५० हजार आप्रवासीमध्ये ४८ हजारभन्दा बढी मानिस निराश भएर स्वेच्छाले मोरक्को फर्किएका छन्।
- सामाजिक सञ्जालमा फैलिएको भ्रमपूर्ण सूचना र रोजगारीको खोजीमा युरोप पुग्ने सपना बोकेका हजारौं युवा बस्ने ठाउँ र खानाको अभावमा फर्किन बाध्य भएका हुन्।
- यस संकटका क्रममा समुद्रमा ५७ जनाले ज्यान गुमाएका छन् भने प्रधानमन्त्री पेद्रो सान्चेजले युरोपेली संघलाई एकताबद्ध रहन आह्वान गरेका छन्।
१६ साउन, बार्सिलोना । ‘साँच्चै भन्नुपर्दा, म किन आएँ भन्ने पनि अहिले थाहा छैन। अब म फर्किरहेको छु। हिजो दिउँसोदेखि केही खाएको छैन। पैसा ल्याएको थिएँ, तर पनि खान पाइएन।हामीले जे गरिरहेका छौं, त्यो न राम्रो छ, न रमाइलो।’
मोरक्कोको ट्याङ्जियरका एक युवाले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग भनेका यी शब्दहरूले अहिलेको सेउटा संकटको सबैभन्दा ठूलो विडम्बना बयान गर्छन्। केही घण्टाअघि मात्रै युरोप पुग्ने आशामा समुद्रमा हाम फालेर स्पेनको स्वायत्त सहर सेउटा पुगेका हजारौं मानिस अहिले त्यही बाटो हुँदै निराश भएर मोरक्को फर्किरहेका छन्।
बिहीबार बिहानदेखि सुरु भएको यो अभूतपूर्व आप्रवासी लहरमा स्पेनको गृह मन्त्रालयका अनुसार करिब ५० हजार मानिस सेउटा प्रवेश गरेका थिए। तर शुक्रबार साँझसम्म तीमध्ये ४८ हजार ३ सयभन्दा बढी स्वेच्छाले मोरक्को फर्किएको मन्त्रालयले जनाएको छ ।
अहिले सेउटामा दुई हजारभन्दा कम मानिस मात्र बाँकी रहेको स्पेन सरकारको दाबी छ।तर प्रश्न यहींबाट सुरु हुन्छ-युरोप पुग्ने सपना बोकेर समुद्र तरेका हजारौं मानिस केही घण्टामै किन फर्किए ?
स्पेन पुगेर पनि किन टिक्न सकेनन् ?
स्पेनी दैनिक ला भान्गार्डियाका अनुसार पहिलो दिनको उत्साह दोस्रो दिनसम्म आइपुग्दा निराशामा बदलिएको थियो।सयौं मानिस पार्क, समुद्री किनार, डाँडा र खुला स्थानमा रात बिताइरहेका थिए। अस्थायी आप्रवासी केन्द्र सीईटीआई पहिलो दिनमै भरिएको थियो।नयाँ आउनेका लागि न बस्ने ठाउँ थियो, न पर्याप्त खाना।
समाचारपत्रले उद्धृत गरेकी अमिना नामकी एक मोरक्केली महिलाले समुद्रमा करिब एक घण्टा पौडी खेलेर सेउटा पुगेको बताइन्।तर बिहान खाना किन्न निस्कँदा धेरै सुपरमार्केट र पसल बन्द भइसकेका थिए। व्यापारीहरूले सम्भावित लुटपाटको डरले सटर झारेका थिए। अन्ततः उनले पनि फर्किने निर्णय गरिन्।
उता रोयटर्ससँग कुरा गरेका २० वर्षीय अयमानले पाँच घण्टा पौडी खेलेर सेउटा पुगेको बताए। तर उनले पनि त्यहाँ खाना नपाएको र केही समयपछि त्यहाँबाट बाहिरिन बाध्य भएको अनुभव सुनाएका छन्।
ला भान्गार्डियाका अनुसार सेउटाको एल ताराखाल सीमा क्षेत्रमा शुक्रबार अनौठो दृश्य देखियो।
एकातिर मोरक्कोबाट अझै पनि केही समूह रबरको ट्युब बोकेर समुद्र हुँदै स्पेन प्रवेश गर्ने प्रयास गरिरहेका थिए।अर्कोतिर अघिल्लो दिन युरोप पुगेको उत्साह बोकेका सयौं मानिस त्यही बाटो हुँदै लामो लाइनमा मोरक्को फर्किरहेका थिए।
स्पेनको गृह मन्त्रालयका अनुसार केही समय प्रति मिनेट करिब १५० जनाको दरले मानिस फर्किरहेका थिए।सीमा क्षेत्रमा खटिएका स्पेनी सैनिकहरूले उनीहरूलाई बाहिरिने मार्ग देखाइरहेका थिए।मन्त्रालयले यी सबै फिर्ता स्वेच्छिक भएको जनाएको छ।
‘डाँडामा रात बिताएँ’
स्पेनी दैनिक एल पाइसले फर्किने केही आप्रवासीसँग कुरा गरेको छ।समाचारपत्रसँग कुरा गरेका एक व्यक्तिले भने, ‘मैले डाँडामा रात बिताएँ, किनकि मानिसहरूले हामीलाई ढुंगा हानेर र बन्दुक देखाएर लखेटे।’
यो व्यक्तिगत अनुभव भए पनि यसले सेउटामा पुगेपछि धेरैले सामना गरेको असुरक्षा, अनिश्चितता र निराशाको झलक दिन्छ।यही कारण अहिले एउटा प्रश्न सबैभन्दा धेरै उठिरहेको छ-युरोप पुग्ने सपना बोकेर समुद्र तरेका हजारौं मानिस केही घण्टामै किन फर्किन बाध्य भए ?
यसको उत्तर केवल स्पेनको सीमा व्यवस्थापनमा सीमित छैन। त्यसको पछाडि सामाजिक सञ्जालमा फैलिएको भ्रम, मानव तस्करीका सञ्जाल, मोरक्कोको आर्थिक यथार्थ र युरोपको आप्रवासन नीतिसम्म जोडिएका धेरै तह छन्।
इन्स्टाग्रामको भिडियोदेखि समुद्रसम्म : कसरी फैलियो ‘स्पेन जाने’ हल्ला ?

सेउटामा देखिएको यो अभूतपूर्व आप्रवासी लहर केवल एक दिनको आकस्मिक घटना थिएन। स्पेनी सञ्चारमाध्यम र अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार यसको पृष्ठभूमिमा सामाजिक सञ्जालमा फैलिएको भ्रम, मानव तस्करीका सञ्जाल र मोरक्कोको आर्थिक संकट एकसाथ जोडिएका थिए।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आफ्नो विस्तृत स्थलगत रिपोर्ट १६ वर्षीय मोरक्केली किशोर अयुब एल अब्यादको कथाबाट सुरु गरेको छ।उनी मोरक्कोको उत्तरी क्षेत्रबाट आफ्ना आफन्तसँग सेउटा नजिक पुगेका थिए। उनले रोयटर्ससँग भने,
‘हामीले इन्स्टाग्राममा मानिसहरू सेउटा प्रवेश गरिरहेका भिडियोहरू हेर्यौं। त्यसपछि हामीले पनि प्रयास गर्ने निर्णय गर्यौं। राम्रो जीवनको आशामा हामी अल्लाहमाथि भरोसा गरेर सीमा पार गर्न निस्कियौं।’
रोयटर्सका अनुसार सामाजिक सञ्जालमा ‘सीमा खुला छ’, ‘अहिले स्पेन प्रवेश गर्न सजिलो छ’ भन्ने सन्देश तीव्र रूपमा फैलिएको थियो। यही सूचनाले हजारौं युवालाई केही घण्टामै सेउटातर्फ आकर्षित गरेको देखिन्छ।
तर, स्पेन सरकारको बुझाइ फरक छ।स्पेनको गृह मन्त्रालयले यो अवस्थाका लागि मानव तस्करीका अन्तर्राष्ट्रिय सञ्जाललाई जिम्मेवार ठहर गरेको छ।मन्त्रालयका अनुसार स्पेनको सर्वोच्च अदालतले हालै समुद्रबाट सेउटा वा मेलिल्ला पुग्ने प्रयास गर्ने आप्रवासीलाई तत्काल सीमाबाट फिर्ता पठाउन नहुने विषयमा गरेको फैसलालाई तस्करहरूले गलत रूपमा प्रचार गरे। त्यसैलाई आधार बनाएर ‘अहिले स्पेन प्रवेश गर्न सजिलो भएको’ भन्ने भ्रम फैलाइएको मन्त्रालयको दाबी छ।तर सामाजिक सञ्जाल मात्र यो संकटको कारण होइन।
रोयटर्सले मोरक्कोका धेरै युवासँग कुरा गर्दै बेरोजगारी, बढ्दो महँगी, आर्थिक निराशा र युरोपमा राम्रो भविष्यको आशा नै उनीहरूलाई समुद्रमा हाम फाल्न तयार बनाएको उल्लेख गरेको छ।
सीमा फेरि बन्द, अश्रुग्यास र पानीको फोहोरा
पहिलो दिन ठूलो संख्यामा मानिस सीमा पार गरेपछि शुक्रबारदेखि मोरक्कोको नीति फेरिएको देखियो।
रोयटर्सका संवाददाताले सेउटा सीमा क्षेत्रमा दंगा नियन्त्रण प्रहरी, अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेर भीड नियन्त्रण गरिएको प्रत्यक्ष देखेको उल्लेख गरेका छन्।सीमा नजिक जलेको एउटा बस र सातवटा गाडीका अवशेष पनि देखिएको रोयटर्सले जनाएको छ।
स्पेनतर्फ भने सेना, गार्डिया सिभिल, राष्ट्रिय प्रहरी र उद्धार टोलीको उपस्थिति उल्लेख्य रूपमा बढाइएको थियो। डाँडामाथिबाट सीमा पार गर्ने अवसर पर्खिरहेका मानिस र अर्कोतर्फ फर्किनेहरूको लामो लाइनले सीमा क्षेत्रलाई असामान्य बनाएको थियो।
सेउटा पुगेका अधिकांश मानिसको अन्तिम लक्ष्य त्यो सहर थिएन। उनीहरूको सपना स्पेनको मुख्यभूमि हुँदै फ्रान्स, इटाली वा युरोपका अन्य मुलुक पुग्ने थियो।तर केही घण्टामै उनीहरूले अर्को यथार्थ देखे-भरिएको आश्रय केन्द्र, बन्द पसल, सीमित खाना, कानुनी अनिश्चितता र मुख्यभूमि स्पेन पुग्ने कुनै तत्काल सम्भावना थिएन।
मृत्युले झन् गहिरियो संकट
मानिस फर्किन थाले पनि समुद्रमा ज्यान गुमाउनेहरूको संख्या बढिरह्यो। एल पाइसका अनुसार अहिलेको सेउटा संकटमा मृत्यु हुनेको संख्या ५७ पुगेको छ।
समाचारपत्रले यसलाई स्पेनको सीमामा पछिल्ला वर्षहरूमा भएको सबैभन्दा घातक घटनामध्ये एक भनेको छ।तुलना गर्दै उसले सन् २०१४ मा एल ताराखाल क्षेत्रमा १४ जना र सन् २०२२ मा मेलिल्लामा कम्तीमा २३ जनाको मृत्यु भएको स्मरण गराएको छ।
इटालीको आलोचना, स्पेनको प्रतिवाद

सेउटाको घटनापछि सबैभन्दा कडा प्रतिक्रिया इटालीबाट आयो।प्रधानमन्त्री जियोर्जिया मेलोनीको सरकारले स्पेनबाट इटाली जाने हवाई तथा समुद्री यात्रुमाथि अनियमित (र्यान्डम) सीमा जाँच पुनः लागू गर्ने निर्णय गर्यो।यो व्यवस्था एक महिनासम्म लागू हुने बताइएको छ।
यसपछि स्पेनका परराष्ट्रमन्त्री होसे मानुएल अल्बारेसले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै शेन्जेन क्षेत्रको अखण्डता ‘पूर्ण रूपमा सुरक्षित’ रहेको बताए। उनले इटालीतर्फ संकेत गर्दै ‘जानाजानी भ्रम फैलाउने प्रयास’ बन्द हुनुपर्ने टिप्पणी गरे।
उता युरोपेली आयोगले पनि सेउटाबाट मुख्यभूमि युरोपतर्फ ठूलो संख्यामा मानिस सरेको भन्ने दाबी पुष्टि नभएको स्पष्ट पारेको छ। तर त्यसैबीच फ्रान्सले स्पेनसँगको सीमामा खटिने सुरक्षाकर्मीको संख्या पाँच गुणासम्म बढाउने निर्णय गरेको छ।
सान्चेजको जवाफ : ‘तथ्यांकलाई पनि सम्मान गरौं’
सेउटा संकटलाई लिएर युरोपभर राजनीतिक बहस चर्किरहेका बेला स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले सामाजिक सञ्जाल एक्समार्फत आलोचकलाई अप्रत्यक्ष रूपमा जवाफ दिएका छन्। उनले युरोपेली सीमा तथा तटरक्षक निकाय फ्रोन्टेक्सको तथ्यांक सार्वजनिक गर्दै लेखेका छन्, ‘एकता र सहानुभूति वैकल्पिक हुन सक्छन्। तर युरोपेली सन्धि र तथ्यांकको सम्मान वैकल्पिक होइन।’
सान्चेजले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२१ देखि २०२६ सम्म इटाली हुँदै ४ लाख ७८ हजार ६ सय, पश्चिमी बाल्कन मार्ग हुँदै ३ लाख ४० हजार ६ सय, ग्रीस हुँदै २ लाख ५९ हजार ८ सय र स्पेन हुँदै २ लाख ३४ हजार ७ सय ६० जना अनियमित रूपमा युरोप प्रवेश गरेका छन्।
यी तथ्यांक सार्वजनिक गर्दै उनले अन्त्यमा लेखेका छन्, ‘यो विभाजन गर्ने समय होइन। बलियो र एकताबद्ध युरोपेली संघ निर्माणलाई निरन्तरता दिने समय हो।’ सान्चेजको यो अभिव्यक्तिलाई सेउटा संकटपछि स्पेनको आप्रवासन नीतिमाथि प्रश्न उठाइरहेका इटालीलगायत केही युरोपेली नेताप्रतिको अप्रत्यक्ष जवाफका रूपमा हेरिएको छ।
ट्रम्पको टिप्पणीले बहस अमेरिकासम्म पुग्यो
सेउटाको संकट युरोपमै सीमित रहेन।यसको राजनीतिक तरंग अमेरिकासम्म पनि पुगेको छ।स्पेनी दैनिक एल पाइसका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेउटाको घटनालाई अमेरिकाको आप्रवासन बहससँग जोड्दै टिप्पणी गरेका छन्। उनले स्पेनको अवस्थातर्फ संकेत गर्दै भनेका छन्, ‘यदि गलत पक्ष सत्तामा आयो भने तीन वर्षपछि हाम्रो अवस्था पनि यही हुनेछ।’
एल पाइसका अनुसार ट्रम्पले अमेरिकाभित्र र विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाका लागि आवश्यक कदम चाल्ने विषयमा पनि आफ्नो प्रशासनले विचार गरिरहेको बताएका छन् ।
प्रतिक्रिया 4