+
+
Shares

भारतमा नेपालीलाई पहिचानदेखि उपचारसम्म समस्या, कूटनीतिक पहल गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते ११:२९

६ मंसिर, काठमाडौं । भारतमा वर्षौंदेखि बस्दै आएका नेपालीहरूले आफ्नो पहिचान लुकाउन बाध्य छन् । त्यहाँ बस्ने नेपालीहरूसँग नेपाली नागरिकता भए पनि उनीहरूले विभिन्न समस्या झेल्न बाध्य छन् । बैंक खाता खोल्न, सिमकार्ड लिन, रोजगारी पाउन र उपचारका लागि रकम व्यवस्थापन गर्न समेत समस्या भोग्नुपरेको प्रवासी नेपालीहरू बताउँछन् ।

भारतको नयाँदिल्लीमा लामो समयदेखि बस्दै आएका नेपालीले आफ्ना समस्या समाधानका लागि नेपाल सरकारसँग भारतसँग कूटनीतिक पहल गर्न माग गरेका छन् । उनीहरूले भारतमा रहेका नेपालीको तथ्यांक संकलन, नागरिकताको सहज मान्यता, श्रमिकको सुरक्षा र स्वास्थ्य बीमाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

अर्घाखाँचीका विजय भुसालले भारतमा नेपाली पहिचान खुलाउँदा हेपिनुपर्ने डरले कतिपय नेपाली आफ्नो परिचय लुकाएर बस्न बाध्य भएको बताए । २७ वर्षदेखि भारतमा बस्दै आएका उनले लामो समय आफूलाई भारतीय भनेर चिनाउनुपरेको अनुभव सुनाए ।

‘नेपाली हुँ भन्दा हेपाइ सहनुपर्ने डरले आफूलाई भारतीय भनेर चिनाउनुपर्ने बाध्यता थियो । अब खुलेर गर्वका साथ आफू नेपाली हुँ भन्न चाहन्छु,’ भुसालले भने ।

उनले नेपाली नागरिकताकै आधारमा भारतमा बैंक खाता खोल्न, सिमकार्ड लिन र अन्य आधारभूत सेवा प्राप्त गर्न सक्ने व्यवस्था हुनुपर्ने बताए । भारतमा रहेका नेपालीको वास्तविक संख्या नेपाल र भारत दुवै सरकारले संयुक्त रूपमा संकलन गर्नुपर्ने उनको सुझाव छ ।

भुसालका अनुसार भारतमा घरजग्गा तथा अन्य व्यावहारिक कामका लागि नेपालीले आफ्नो पहिचान लुकाउनुपर्ने अवस्था छ । भाडामा बस्दा समेत विभेद् र अपमान सहनुपरेको उनले बताए ।

भारतमा रोजगारीका नाममा हुने ठगी पनि नेपालीले भोगिरहेको अर्को समस्या हो । पाल्पाका तेजराम न्यौपानेले विदेशमा राम्रो रोजगारी दिलाउने प्रलोभन देखाएर नेपालीलाई भारत ल्याउने र रकम लिएर दलाल सम्पर्कविहीन हुने घटनाबारे बताए ।

उनका अनुसार रोजगारीका लागि भारत आउने नेपाली कागजात र आर्थिक सुरक्षाको समस्यामा पर्ने गरेका छन् । भारतमा उपचारका लागि आउने नेपालीलाई रकम भुक्तानी तथा बैंकिङ कारोबारमा पनि कठिनाइ हुने गरेको उनले बताए ।

‘नेपालबाट उपचार गर्न आएकालाई पैसा ट्रान्सफर गर्न समस्या छ । सरकारले गर्ने भनेको कूटनीतिक पहल नै हो,’ न्यौपानेले भने ।

उनले गम्भीर रोगको उपचारका लागि भारत आउने नेपालीलाई अस्थायी बैंक खाता खोल्ने र आवश्यक रकम जम्मा तथा झिक्न सक्ने व्यवस्था गर्नुपर्ने माग गरे ।

कोठीबाट नेपाली महिलाको उद्धार

भारतमा नेपाली महिला तथा बालबालिका विभिन्न प्रलोभनमा पारेर ल्याउने र शोषणमा पार्ने घटनासमेत रहेको प्रवासी नेपालीले बताएका छन् ।

अछामकी जानकी कडायतले एजेन्टले कामको प्रलोभन देखाएर नेपाली महिलालाई भारत ल्याउने र कतिपयलाई कोठीमा पुर्‍याउने गरेको बताइन् । त्यहाँ पुगेपछि बाहिर निस्कनसमेत नदिने अवस्था रहेको उनको भनाइ छ ।

कडायतले पछिल्लो एक वर्षमा पाँच नेपाली महिलालाई कोठीबाट उद्धार गर्न सहयोग गरेको बताइन् । उद्धार गरिएका महिलालाई प्रहरीको सहयोगमा परिवारसम्म पुर्‍याउनसमेत कठिन हुने गरेको उनले सुनाइन् ।

उनले नेपालबाट भारत आउने महिला तथा बालबालिकाको गन्तव्य, कामको प्रकृति र बसोवास गर्ने स्थानबारे सीमा पार गर्नुअघि नै जाँच गर्नुपर्ने सुझाव दिइन् । माइती नेपाललगायत सम्बन्धित निकायले आवश्यक कागजात र परिचय सुनिश्चित गरेर मात्रै रोजगारीमा लगाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल–भारत मैत्री बसमा ठगी र सुरक्षा जोखिम

भारतमा रहेका नेपालीले नेपाल–भारत आवतजावत गर्ने बस सेवामा समेत समस्या भोगिरहेका छन् । कतिपय बसले आवश्यक अनुमति नलिई यात्रु ओसारपसार गर्ने, सीमामा यात्रुलाई अर्को एजेन्टको जिम्मा लगाउने र एउटै सिट विभिन्न व्यक्तिलाई बेच्ने गरेको प्रवासी नेपालीको गुनासो छ ।

भुसालका अनुसार एउटै सिट नम्बर विभिन्न एजेन्सीले बेच्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र सुरक्षा मापदण्ड पालना नगरी बस सञ्चालन गर्ने प्रवृत्ति छ । चाडपर्वका बेला यात्रुको चाप बढ्दा यस्ता समस्या थप बढ्ने गरेको उनले बताए ।

यातायात सेवाको नियमित अनुगमन र नियमन गर्नुपर्ने माग प्रवासी नेपालीले गरेका छन् ।

स्वास्थ्य बीमा र अभिलेखको माग

कञ्चनपुरको बेलौरीका अर्जुन भण्डारीले भारतमा रहेका नेपालीको वास्तविक संख्या र अवस्थाको अभिलेख नहुँदा बिरामी पर्दा, मृत्यु हुँदा वा अन्य संकटमा सहयोग गर्न कठिन हुने गरेको बताए ।

रोजगारीका लागि केही महिनामात्र भारत आउने नेपाली अचानक बिरामी पर्दा उपचार खर्च जुटाउन नसक्ने र मृत्यु भए शव व्यवस्थापन तथा परिवारलाई सूचना पुर्‍याउनसमेत समस्या हुने गरेको उनको भनाइ छ ।

भण्डारीले नेपाल र भारतबीच आवतजावत गर्ने नागरिकको व्यवस्थित अभिलेख राख्नुपर्ने बताए । त्यस्तो अभिलेखका आधारमा भारतमा रहेका नेपालीका लागि स्वास्थ्य बीमा र अन्य सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न सकिने उनको सुझाव छ ।

भारतमा रहेका नेपालीका समस्या समाधानका लागि पहिचान, श्रमिक अधिकार, मानव बेचबिखन नियन्त्रण, यातायात नियमन तथा स्वास्थ्य र आर्थिक सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले भारतसँग ठोस कूटनीतिक पहल गर्नुपर्ने प्रवासी नेपालीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?