+
+
Shares

कार्तिक आर्यनको जन्मदिनमा करण जोहरले के दिए सरप्राइज ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १३:०२

बलिउड अभिनेता कार्तिक आर्यन आज आफ्नो ३६औं जन्मदिन मनाइरहेका छन् । जन्मदिनको विशेष अवसरमा उनको नयाँ फिल्म घोषणा गरिएको छ । फिल्मको नाम ‘कालिया’ हो ।

यसपटक अभिनेता रोमान्स वा कमेडीमा नभई राक्षसको संसारमा देखिनेछन् । करण जोहरको धर्मा प्रोडक्सन्स र डोपामाइन स्टुडियोको ब्यानरमा निर्माण हुने यो फिल्म ‘मन्स्टर थ्रिलर’ विधामा आधारित हुनेछ ।

कसले निर्देशन गर्दैछन् ‘कालिया’ ?

कार्तिकको नयाँ फिल्म जन्मदिनको अवसरमा डरलाग्दो भिडियोमार्फत घोषणा गरिएको हो । भिडियो सार्वजनिक गर्दै करण जोहरले लेखेका छन्, ‘श्रीकृष्णले उसलाई टाढा पठाएका थिए । हामी मानिसले उसलाई फेरि बोलायौं ।’

यो वाक्यले फिल्मप्रति दर्शकको उत्सुकता बढाएको छ । फिल्मको निर्देशन सन्दीप मोदीले गर्नेछन् । उनले यसअघि ‘द नाइट म्यानेजर’ र ‘आर्या’ जस्ता चर्चित शृंखलाको निर्देशन गरेका छन् ।

के हुनेछ ‘कालिया’को कथा ?

‘कालिया’ को कथा भारतीय लोककथा र पौराणिक मान्यताबाट प्रेरित हुनेछ । फिल्ममा भारतका विभिन्न भागमा पुस्तौंदेखि सुनिँदै आएका कथा र विश्वासलाई आधार बनाएर डर लाग्दो संसार निर्माण गरिनेछ । निर्माण पक्षले मन्स्टर थ्रिलरको रोमाञ्चलाई भारतीय संस्कृति र परम्परागत कथासँग जोड्ने प्रयास गरेको छ ।

विशेष कुरा, यो फिल्मसँगै धर्मा प्रोडक्सन्सले नयाँ विधामा प्रवेश गर्दैछ । रोमान्टिक, पारिवारिक र व्यावसायिक फिल्म निर्माणका लागि परिचित यो निर्माण कम्पनीले पहिलोपटक मन्स्टर थ्रिलर फिल्म बनाउन लागेको हो । दर्शकलाई फरक र रोमाञ्चक सिनेमाई अनुभव दिने उद्देश्यले फिल्म ठूलो पर्दाका लागि तयार गरिँदैछ ।

कहिले रिलिज हुँदैछ ‘कालिया’ ?

‘कालिया’ निर्देशक सन्दीप मोदीका लागि पनि विशेष फिल्म हुनेछ । ‘द नाइट म्यानेजर’ र ‘आर्या’ जस्ता शृंखलाबाट परिचित मोदी पहिलोपटक हिन्दी फिल्ममार्फत सिनेमाघरमा आउँदैछन् । कार्तिक आर्यनसँग मिलेर उनले हिन्दी सिनेमामा नयाँ किसिमको संसार निर्माण गर्ने तयारी गरेका छन् ।

धर्मा प्रोडक्सन्स र डोपामाइन स्टुडियोले प्रस्तुत गर्ने यस फिल्मका निर्माता करण जोहर, अदार पूनावाला, अपूर्व मेहता, सोमेन मिश्रा, मारिज्के डी’सूजा र कार्तिक आर्यन हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?