+
+
Shares

आन्द्राको समस्याका कारण ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो आईसीयूमा

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई आन्द्रामा समस्या देखिएपछि राजधानी ब्राजिलियास्थित डिएफ स्टार अस्पतालको आइसीयुमा भर्ना गरिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १८:०६

६ मंसिर, काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई आन्द्रामा समस्या देखिएपछि राजधानी ब्राजिलियास्थित डिएफ स्टार अस्पतालको आइसीयुमा भर्ना गरिएको छ। अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।

७१ वर्षीय बोल्सोनारोलाई पेटमा जटिलता देखिएपछि शुक्रबार अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरूले उनको शरीरमा पानीको मात्रा सन्तुलित राख्न उपचार सुरु गरेका छन्। साथै पोषण सहयोगका लागि ग्यास्ट्रिक ट्युब पनि राखिएको छ।

अस्पतालले जारी गरेको मेडिकल बुलेटिनअनुसार बोल्सोनारोको स्वास्थ्य अवस्था चिकित्सकीय रूपमा स्थिर छ। उनी होसमा छन्। उनी सचेत छन् र बिनाकुनै सहयोग आफैँ सास फेरिरहेका छन्। यद्यपि, चिकित्सकहरूले उनलाई कहिले डिस्चार्ज गरिनेछ भन्नेबारे केही संकेत दिएका छैनन्।

उनका छोरा कार्लोस बोल्सोनारोले एक्समा एक पोस्ट गर्दै आफ्नो बुबालाई यस्तो अवस्थामा कहिल्यै नदेखेको बताएका छन्। उनले अर्को शल्यक्रिया आवश्यक पर्न सक्ने संकेत पनि गरेका छन्।

सन् २०१८ को चुनावी अभियानका क्रममा छुरा प्रहार भएयता बोल्सोनारोमा पेटसम्बन्धी जटिलताको समस्या देखिँदै आएको छ। उक्त आक्रमणपछि उनको धेरै पटक शल्यक्रिया भइसकेको छ। उनी पटक-पटक अस्पताल भर्ना हुनुपरेको छ।

एएफपीको रिपोर्टअनुसार, सन् २०१९ देखि २०२२ सम्म ब्राजिलमा शासन गरेका पूर्वराष्ट्रपतिलाई गत वर्ष २७ वर्षको जेल सजाय सुनाइएको थियो। सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएपछि सत्तामा रहिरहन कू को षड्यन्त्र रचेको अभियोगमा उनलाई यो सजाय दिइएको हो। केही महिना जेलमा बिताएपछि स्वास्थ्य समस्याका कारण बोल्सोनारोलाई मार्च महिनामा घरमै नजरबन्दमा सारिएको थियो।

ब्राजिलको सर्वोच्च अदालतले अर्को महिना एउटा कानुनको संवैधानिकतामाथि विचार गर्ने तालिका तय गरेको छ। उक्त कानुनले कू को षड्यन्त्रको सम्बन्धमा दोषी ठहरिएका बोल्सोनारो र अन्य व्यक्तिहरूको जेल सजाय घटाउन सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?