+
+
Shares

ब्राजिलका राष्ट्रपति ८१ वर्षीय लुलाले पहिलोपटक किने फोन, चुनावअघि सेल्फी खिच्न र इन्स्टाग्राम चलाउन सिक्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते १८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले पहिलोपटक स्मार्टफोन किनेका छन् र इन्स्टाग्राम चलाउन तथा सेल्फी खिच्न सिकिरहेका छन्।
  • चुनावको पहिलो चरणमा अपेक्षाभन्दा कम भोट पाएपछि लुला सामाजिक सञ्जालमा उपस्थिति बढाउन केन्द्रित भएका छन्।
  • ब्राजिलमा २५ अक्टोबरमा हुने दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा लुला र फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा हुँदैछ।

७ कात्तिक, काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले पहिलोपटक स्मार्टफोन किनेका छन्। फोनमा हुने कुराकानी रेकर्ड वा लिक हुन सक्ने चिन्ताका कारण उनी अहिलेसम्म व्यक्तिगत मोबाइल फोन प्रयोग गर्नबाट बच्दै आएका थिए।

यसअघि आवश्यकता पर्दा लुला अरूको फोन प्रयोग गर्थे। तर अहिले उनी आफैँ सेल्फी खिच्न र इन्स्टाग्राम चलाउन सिकिरहेका छन्। शनिबार एक चुनावी र्‍यालीमा उनले आफू इन्टरनेट चलाउन सिकिरहेको बताए।

चुनावको पहिलो चरणमा अपेक्षाभन्दा कम भोट पाएपछि लुलाले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति बढाउन ध्यान केन्द्रित गर्न थालेको मानिएको छ।

ब्राजिलमा अक्टोबर २५ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ। उनको भिडन्त फ्लाभियो बोल्सोनारोसँग हुँदैछ।

लुलालाई सामाजिक सञ्जाल सिकाउँदै कानुनकी छात्रा पहिलो चरणमा अपेक्षाभन्दा कम भोट पाएपछि लुलाको टोलीमा सामाजिक सञ्जाल इन्फ्लुएन्सर आना एलिसा सिल्भालाई समावेश गरिएको छ। उनले सामाजिक सञ्जालमार्फत लुलालाई युवासँग जोडिन र उनीहरूमाझ पहुँच बढाउन मद्दत गरिरहेकी छन्।

आनाका अनुसार, लुलाले इन्टरनेट नभएको समयमा राजनीति सुरु गरेका थिए। त्यतिबेला उनी मजदुर, ट्रेड युनियन र ठूला र्‍यालीहरूमार्फत मानिसहरूसम्म आफ्नो कुरा पुर्‍याउँथे।

तर अहिलेका युवाले सामाजिक सञ्जालबाटै समाचार र जानकारी लिन्छन्। यस्तो अवस्थामा लुलाले पनि आफ्ना पुराना प्रचार शैलीसँगै सामाजिक सञ्जालको प्रयोग सिक्नु परिरहेको छ।

सामाजिक सञ्जालमा बलियो पकड भएका नेताहरूको दबदबा पहिलो चरणको चुनावमा कैयौँ युवा नेताहरूले ठूलो जित हासिल गरे, जसको सामाजिक सञ्जालमा राम्रो पकड छ।

उनीहरू इन्टरनेटमार्फत ठूलो सङ्ख्यामा युवाहरूसम्म आफ्ना कुरा पुर्‍याउँछन्। यसले चुनाव प्रचारमा सामाजिक सञ्जालको महत्त्वलाई पनि देखाएको छ।

दक्षिणपन्थी लिबरल पार्टीका ३० वर्षीय निकोलस फरेराले चुनावमा ३० लाखभन्दा बढी भोट पाए। इन्स्टाग्राममा उनका करिब साढे २ करोड फलोअर्स छन्।

त्यस्तै, वामपन्थी नेताहरूमा ३३ वर्षीया एरिका हिल्टन र २१ वर्षीया आना एलिसा सिल्भाले पनि चुनावमा जित हासिल गरे। दुवैले ५ लाखभन्दा बढी भोट पाए। यी युवा नेताहरूको जितले ब्राजिलको राजनीतिमा नयाँ पुस्ताका नेताहरूले पनि बलियो समर्थन पाइरहेको देखाउँछ।

चौथो पटक राष्ट्रपति बन्ने दौडमा लुला ८१ वर्षीय लुला सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहिसकेका छन्। सन् २०२३ मा उनले तेस्रोपटक सत्ता सम्हालेका थिए। अब उनी चौथो पटक राष्ट्रपति बन्न चाहन्छन्।

ब्राजिलमा राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको मतदान अक्टोबर ४ मा भएको थियो। यसमा लुला दा सिल्भाले ४५ प्रतिशत भोट पाए भने पूर्वराष्ट्रपतिका छोरा फ्लाभियो बोल्सोनारोले ४७ प्रतिशत भोट पाए। कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी भोट नपाएका कारण अब दोस्रो चरणको मतदान हुँदैछ।

ब्राजिलको चुनावमा अमेरिका र चीनको नजर ब्राजिल ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र हो र ब्रिक्सको संस्थापक सदस्य पनि हो। त्यसैले यहाँ सरकार परिवर्तनको असर देशको राजनीतिमा मात्र सीमित रहनेछैन।

लुलाको सरकारले चीन र ब्रिक्स देशहरूसँगको सम्बन्ध बलियो बनाउन जोड दिँदै आएको छ। यस्तोमा उनको पुनरागमनले यी देशहरूसँगको वर्तमान सम्बन्ध र सहयोग निरन्तर रहने सम्भावना छ।

अर्कोतर्फ, फ्लाभियो बोल्सोनारोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निकट मानिन्छ। उनको जितले अमेरिकासँगको ब्राजिलको सम्बन्धमा नयाँ परिवर्तन ल्याउन सक्छ।

यस चुनावमा प्रतिस्पर्धा लुला भर्सेस फ्लाभियोको मात्र होइन। ब्राजिल अब अमेरिकाको नजिक जान्छ वा चीन र ब्रिक्ससँगको आफ्नो वर्तमान सम्बन्धलाई अझ बलियो बनाउँछ भन्ने कुरा २५ अक्टोबरमा हुने चुनावको नतिजाले तय गर्नेछ।

(रोयटर्स लगायतका एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?