+
+
Shares

दिल्लीका अखबारमा बालेन : केही आशंका, केही उत्सुकता 

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने औपचारिक भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ कभरेज गरेका छन्। प्रमुख मिडियाले यस भ्रमणलाई कूटनीतिक कोर्स करेक्सन, २ अर्ब डलरको आर्थिक प्याकेज, अयोध्या-जनकपुर रेल सेवा, अग्निपथ र भूराजनीतिक सन्तुलनको परीक्षाका रूपमा विश्लेषण गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते २०:४३

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुईदिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँदिल्ली पुगेका हुन् ।

प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो विदेश राजकीय भ्रमण हो । यसलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ स्थान दिएका छन् ।

बीबीसी हिन्दीको एक रिपोर्टले प्रधानमन्त्री शाहको भारत भ्रमणको बारेमा विशेषज्ञहरूको विश्लेषण प्रकाशित गरेको छ। रास्वपा सत्तामा आएपछि भारत विरोधी राष्ट्रवादको युग समाप्त भएको अर्थमन्त्री स्वर्णिम वाग्लेको कथनलाई पनि रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्ट उल्लेख गरिए अनुसार, नयाँ दिल्लीस्थित थिंक ट्याङ्क अब्जर्भर रिसर्च फाउन्डेसनका उपाध्यक्ष हर्ष वी. पन्तले यो भ्रमणलाई नेपाल-भारत सम्बन्धको महत्त्वपूर्ण मोड मानेका छन्।

उनले भनेका छन्, ‘बालेन शाहले नेपालमा नेताहरूको नयाँ पुस्ताको प्रतिनिधित्व गर्छन्। उनी बलियो जनमतका साथ चुनिएका हुन्। उनले राष्ट्रिय सार्वभौमसत्ता र आर्थिक विकासका विषयमा ठोस नतिजा निकाल्ने आफ्नो इच्छा देखाएका छन्। त्यसैले यो भ्रमण नेपाल-भारत सम्बन्धका लागि नयाँ अवसरको ढोका बन्न सक्छ।’

पन्तले भनेका छन्, ‘यो एउटा चुनौती पनि हो। भारतले नयाँ प्रकारको नेतृत्वसँग तालमेल मिलाउन सिक्नुपर्छ। नेपाल र भारत दुवैले यो भ्रमणलाई सतर्कतापूर्वक हेर्नेछन् भन्ने मलाई लाग्छ।’

परम्परागत कूटनीतिक शैलीभन्दा फरक बाटो अपनाइरहेका बालेन शाहबारे सीमित बुझाई भएको कुरा पनि रिपोर्टमा लेखिएको छ ।

नेपाल-भारत सम्बन्धका विशेषज्ञ र भारतीय सेनाका सेवानिवृत्त मेजर जनरल अशोक मेहतालाई उद्धृत गर्दै रिपोर्टले भारतमा बालेन शाहबारे निकै कम जानकारी रहेको बताएका छन्।

शाहका विगतका केही सार्वजनिक अभिव्यक्तिका कारण उनीप्रति शंकाको वातावरण बनेको मेहताले बताएका छन्। नेपाली संसदमा सीमा विवादको चर्चाका क्रममा दिएका बयानलाई ध्यानमा राख्दा, बेलायतसँग कुराकानी गर्ने कुरा पनि गरेका थिए । मेयर छँदा उनले ग्रेटर नेपालको कुरा गरेका थिए। यसले गर्दा प्रधानमन्त्री बालेनप्रति सन्देहास्पद दृष्टि राखिने मेहताले बताएका छन् ।

उनले भनेका छन्, ‘यही कारणले भारतमा उनलाई लिएर एक प्रकारको अविश्वास छ। उनको व्यक्तित्वलाई लिएर एक रहस्यको भाव पनि छ। साथै, उनलाई जान्ने-बुझ्ने उत्सुकता पनि छ।’

सत्ता सम्हाले लगत्तै बालेन शाहले प्रोटोकलको हवाला दिँदै भारतीय विदेश सचिवलाई भेट्ने समय नदिएको खबरहरू पनि आएका थिए। यसकारण विदेश सचिवको काठमाडौँ भ्रमणसमेत रद्द गर्नुपरेको थियो।

इन्डियन एक्सप्रेसमा २० नोभेम्बरमा प्रकाशित समाचारमा,  यो भ्रमणलाई कूटनीतिक सम्बन्ध सुधार र कोर्स करेक्सनको अवसरको दृष्टिबाट व्याख्या गरिएको छ। भारतीय पक्षको दृष्टिकोण झल्किने गरी लेखिएको यस रिपोर्टमा प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेपछि एक वर्षसम्म विदेश भ्रमण नगर्ने र राजदूत वा सचिव स्तरका अधिकारीहरूलाई नभेट्ने नीति लिएका कारण भारत–नेपाल सम्बन्धमा चिसोपना आएको उल्लेख गरिएको छ।

हिन्दुस्तान टाइम्समा प्रकाशित एक समाचारमा शाहको भारत भ्रमणलाई कूटनीतिक सम्बन्धको नयाँ सुरुवात र ठोस विकास साझेदारीको कोणबाट व्याख्या गरिएको छ। यसमा विगतको कूटनीतिक तिक्ततालाई बढी भविष्यमुखी सहकार्य, राजकीय सम्मान र ठूला आर्थिक एजेन्डाहरूलाई मुख्य आधार बनाएको छ।

समाचारका अनुसार, परम्परागत व्यापार, ऊर्जा र कनेक्टिभिटीका साथै स्टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुद (विशेषगरी भारत–नेपालबीचको क्रिकेट सम्बन्ध) लाई भारतीय विदेश मन्त्रालयले प्राथमिकतामा राखेको छ।

बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण र विकास आयोजनाका लागि नेपालले १ अर्ब डलर अनुदानसहित कुल २ अर्ब डलरको आर्थिक प्याकेज प्रस्ताव गरेको समाचारमा उल्लेख छ। यद्यपि, भारतीय पक्षले यति ठूलो रकम एकैपटक दिन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र नेपालको खर्च गर्न सक्ने क्षमताको मूल्याङ्कन आवश्यक पर्ने संकेत गरेको छ।

सम्बन्ध सुधारको हिस्साका रूपमा भारतले आर्थिक सहकार्य, लगानी, पारवहन, ऊर्जा, डिजिटल कनेक्टिभिटी र स्वास्थ्य क्षेत्रका दीर्घकालीन लक्ष्य समेटिएको संयुक्त भिजन दस्तावेज सार्वजनिक गर्ने प्रस्ताव गरेको छ।

समाचारमा जेनजी विद्रोहबाट केपी शर्मा ओलीको सरकार ढलेपछि फागुनको चुनावबाट सत्तामा आएको रास्वपाका नेताहरूले ‘विगतको भारी’ बोकेर नबस्ने र भारतसँग ठोस सम्बन्ध चाहेको बताइएको कुरा समेटिएको छ ।

साथै, भ्रमणमा लिपुलेक, कालापानी, लिम्पियाधुराको सीमा विवाद र भारतीय सेनामा गोर्खा भर्तीसम्बन्धी मतभेदबारे पनि छलफल हुन सक्ने औँल्याइएको छ।

न्यूज १८ मा प्रकाशित यस समाचारमा नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई धार्मिक-सांस्कृतिक कूटनीति, भावनात्मक एकता र पूर्वाधार विकासको कोणबाट व्याख्या गरिएको छ। न्यूज १८ ले यस भ्रमणलाई अत्यन्तै सकारात्मक र सद्भावपूर्णको संज्ञा दिएको छ ।

विगतमा दुई देशबीच केही उतारचढाव देखिए पनि नेपालमा आएको प्राकृतिक विपद्का बेला भारत दृढतापूर्वक साथमा उभिएको र त्यसलगत्तै हुन लागेको यो भ्रमणले सम्बन्धमा नयाँ ऊर्जा भर्ने उल्लेख छ।

यस भ्रमणको सबैभन्दा मुख्य आकर्षणका रूपमा प्रधानमन्त्री मोदी र शाहद्वारा गरिने अयोध्या–जनकपुर रेल सेवाको भर्चुअल उद्घाटनलाई देखाइएको छ। राम जन्मभूमि अयोध्या र सीताको जन्मस्थल जनकपुरधामलाई जोड्ने यस रेल सेवालाई यातायात सेवा मात्र नभई रामायणकालीन आध्यात्मिक, धार्मिक र सांस्कृतिक सम्बन्ध तथा धार्मिक पर्यटनको नयाँ युगको सुरुवातका रूपमा व्याख्या गरिएको छ।

‘यो रेल सेवा यातायातको नयाँ साधन मात्र हुने छैन, बरु यसले भारत र नेपालबीचको गहिरो धार्मिक, आध्यात्मिक र सांस्कृतिक सम्बन्धलाई पनि नयाँ मजबुती दिनेछ। अयोध्या भगवान् रामको जन्मभूमि हो भने जनकपुर माता सीताको जन्मस्थल हो। यस्तो अवस्थामा यी दुई सहरबीचको रेल सम्पर्कलाई रामायणकालीन सम्बन्धसँग जोडेर पनि हेरिएको छ,’ रिपोर्टमा उल्लेख गरिएको छ ।

जी न्यूजमा प्रकाशित सामग्रीमा नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई ‘कूटनीतिक व्यावहारिकता र आर्थिक बाध्यता’ रूपमा चित्रण गरिएको छ । यसलाई विशेषगरी विपद्पछिको पुनर्निर्माणको आवश्यकताको कोणबाट व्याख्या गरिएको छ।

यस समाचारले बालेन शाहको सुरुवाती ‘ना’ (अनिच्छा) कसरी ‘हाँ’ (सहमति) मा बदलियो भन्ने प्रश्न उठाउँदै, त्यसपछाडिको मुख्य कारण २ अर्ब डलरको आर्थिक प्याकेज र रसुवा-भोटेकोशीबाट भएको विनाशको पुनर्निर्माणलाई मानेको छ।

अन्य मिडियाहरूभन्दा फरक जी न्यूजले बिजनेस डेलिगेशन र अग्निपथ योजनाका कारण रोकिएको गोर्खा भर्तीको मुद्दालाई पनि स्पष्ट रूपमा उठाएको छ।

समाचारमा प्रधानमन्त्री बनेपछि बालेन शाहले सुरुमा भारत भ्रमणप्रति अनिच्छा देखाएर स्वतन्त्र नेतृत्वको सन्देश दिन खोजेका तर कूटनीतिमा व्यावहारिकता र समयको मागलाई बुझ्दै उनी अहिले संवादका लागि तयार भएको विश्लेषण गरिएको छ।

‘बालेन शाहको यो भ्रमण यस्तो समयमा भइरहेको छ, जतिबेला नेपाल एक ठूलो प्राकृतिक विपद्‌बाट तङ्ग्रिने प्रयास गरिरहेको छ। यस वर्षको अगस्टमा आएको रसुवा-भोटेकोशी हिमताल विस्फोट बाढीले नेपालमा ठूलो विनाश निम्त्याएको थियो। यस विपद्‌मा १,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए भने ७,००० भन्दा बढी घर र कैयौँ जलविद्युत् आयोजनाहरूमा नराम्ररी क्षति पुगेको थियो,’ समाचारमा उल्लेख गरिएको छ ।

बिजनेस स्ट्यान्डर्डमा प्रकाशित एक रिपोर्टमा शाहको भ्रमणलाई ‘भारतको रणनीतिक हित, नेपालको भारतमाथिको आर्थिक/पारवहन निर्भरता र सीमा विवादमा तेस्रो पक्षको संलग्नता अस्वीकार गर्ने भारतीय अडान’ को कोणबाट व्याख्या गरिएको छ।

बिजनेस स्ट्यान्डर्डले विशेष गरी भूराजनीतिक सन्तुलन, नेपालको भूपरिवेष्ठित बाध्यता र मे महिनामा बालेन शाहले सीमा विवाद समाधानका लागि चीन र बेलायतको संलग्नता खोजेको अभिव्यक्ति पछि उत्पन्न भएको कूटनीतिक असहजतालाई मुख्य रूपमा उठाएको छ।

भारतको समग्र क्षेत्रीय रणनीतिक हितका लागि नेपाल अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै दुई देशका नेताहरूले बारम्बार चर्चा गर्ने सदियौँ पुरानो रोटी-बेटीको सम्बन्ध र छिमेकी पहिलो नीतिलाई समाचारमा जोड दिइएको छ।

गत मे महिनामा प्रधानमन्त्री शाहले भारत र नेपालबीचको लामो समयदेखिको सीमा विवाद समाधान गर्न चीन र बेलायतको संलग्नता खोज्ने अभिव्यक्ति दिएपछि द्विपक्षीय सम्बन्धमा केही असहजता आएको समाचारमा उल्लेख छ।

त्यसको केही दिनमै नयाँ दिल्लीले सीमा विवाद समाधान गर्न दुई देशबीच स्थापित द्विपक्षीय संयन्त्र रहेको भन्दै कुनै पनि तेस्रो पक्षको भूमिकालाई ठाडै अस्वीकार गरेको थियो।

बीबीसी हिन्दीमा प्रकाशित अर्को  विस्तृत रिपोर्टमा यो भ्रमणलाई नयाँ पुस्ताको व्यावहारिक राजनीति, भूराजनीतिक सन्तुलन र आन्तरिक चुनौतीबीचको कूटनीतिक परीक्षाको कोणबाट सन्तुलित विश्लेषण गरिएको छ।

बीबीसीले नेपालभित्रको राजनीतिक यथार्थ, दिल्लीको बिग ब्रदर प्रवृत्तिको बुझाइ, चीनसँगको सन्तुलन र शाहको आफ्नै शासनशैलीमाथि उठिरहेका प्रश्नहरूलाई समेत समेटेको छ।

समाचारमा विश्लेषकहरूले त्यस्तै भैरहवा (गौतम बुद्ध) र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नेपालले लामो समयदेखि भारतसँग पश्चिमी हवाई प्रवेश मार्ग मागिरहेको तर ती विमानस्थल चिनियाँ निर्माण र लगानीमा बनेकाले दिल्ली सतर्क रहेको विश्लेषण गरिएको छ।

शाहले बेइजिङतर्फ खुला कूटनीतिक संकेत नदिए पनि भारत आउनु ठीकअघि नोभेम्बर १५ मा रास्वपाका २० सांसदको टोलीलाई ११ दिने चीन भ्रमणमा पठाएर दुई छिमेकीबीच सन्तुलन मिलाउन खोजेको औँल्याइएको छ।

इन्डिया टुडेमा ६ नोवेम्बरमा प्रकाशित रिपोर्टमा नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई अहमबाट व्यावहारिकतातर्फको यात्रा, भारतको अपरिहार्य आर्थिक-रणनीतिक भूमिका र गोर्खा भर्ती (अग्निपथ) को नयाँ मोडको कोणबाट व्याख्या गरिएको छ।

रिपोर्टले बालेन शाहको कूटनीतिक यू-टर्नमाथि व्यङ्ग्यात्मक टिप्पणी पनि गरेको छ ।

मे महिनामा विदेश सचिव स्तरका अधिकारीलाई नभेट्ने आफ्नै नियमका कारण विक्रम मिस्रीको भ्रमण रद्द भएको र अमेरिकी दूतहरूलाई समेत नभेटिएको पृष्ठभूमिमा शाहले पछि भारतीय राजदूत नवीन श्रीवास्तव र अहिले मिस्रीलाई भेट्नुलाई इन्डिया टुडेले अहमभन्दा व्यावहारिकता हाबी भएको भनेको छ।

आर्थिक बाध्यताले शाहलाई दिल्ली डोऱ्याएको कुरा पनि रिपोर्टमा उल्लेख गरेको छ । विपद्को पुनर्निर्माण र प्रसारण लाइन निर्माणका लागि नेपालले २ अर्ब डलरको आर्थिक प्याकेज मागेको र यही आर्थिक बाध्यताले शाहलाई दिल्ली डोऱ्याएको विज्ञहरूको भनाइ छ।

भारतले हालै आफ्नो अग्निपथ योजनामा संशोधन गर्दै तालिमरत अग्निवीरहरूलाई तीनवटै सेनामा नियमित सैनिकका रूपमा भर्ती हुने बाटो खोलेको छ। शाहको भ्रमणको ठीकअघि भारतले चालेको यस कदमले सन् २०२२ देखि रोकिएको नेपाली गोर्खा सैनिक भर्ती पुनः सुचारु गर्न अनुकूल वातावरण बनाएको समाचारमा उल्लेख छ।

भारतका पाँच राज्य नेपालसँग जोडिएकाले नेपाल चीनतर्फ ढल्किँदा दिल्लीमा सुरक्षा चिन्ता बढ्ने गर्छ। यस्तो अवस्थामा शाहले आफ्नो पहिलो द्विपक्षीय भ्रमणका लागि चीनको सट्टा भारत रोज्नुलाई दिल्लीप्रतिको सकारात्मक कदमका रूपमा हेरिएको भारतीय सञ्चार माध्यमहरूको विश्लेषण छ ।

(विभिन्न भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित सामग्रीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?