७ मंसिर, गुल्मी । गुल्मी अस्पतालको नवनिर्मित पाँच तले भवनबाट मंसिर अन्तिम सातादेखि पूर्ण स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी थालिएको छ ।
भवनमा गृह प्रवेश गरिएसँगै अस्पतालले आवश्यक उपकरण, सामग्री तथा पूर्वाधार व्यवस्थापनको तयारी थालेको छ।
२५ करोड ९५ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको भवनमा ओपीडी, आकस्मिक, प्रसूति, शल्यक्रिया, आईसीयू तथा विशेषज्ञ उपचार सेवाका संरचना छन्।
नयाँ भवन सञ्चालनमा आएपछि अस्पतालको सेवा विस्तार हुनुका साथै बिरामीलाई सहज र गुणस्तरीय उपचार उपलब्ध हुने अस्पताल प्रमुख डा. विभव बस्यालले बताए।
पुरानो साँघुरो भवनका कारण सेवा प्रवाहमा हुँदै आएको कठिनाइ नयाँ भवन सञ्चालनसँगै हट्ने अपेक्षा गरिएको छ।
२०७८ असारमा निर्माण सम्झौता भएको भवन दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्माणमा झण्डै पाँच वर्ष लागेको हो।
नयाँ भवनबाट सेवा सुरु भएपछि सामान्यदेखि जटिल स्वास्थ्य उपचारका लागि समेत बाहिरी जिल्ला जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।
प्रतिक्रिया 4