News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मी अस्पतालको निर्माणाधीन नयाँ भवनमा प्राविधिक त्रुटि भेटिएपछि सहरी विकास तथा भवन निर्माण विभागले आगामी भदौ ३१ गतेभित्र निर्माण कार्य सक्न निर्देशन दिएको छ।
- पाँच वर्षदेखि निर्माणाधीन उक्त २५ करोड ९५ लाख रुपैयाँ लागतको भवनमा फ्लोरिङ र लिफ्ट प्रणालीमा गुणस्तरहीन काम भएको अनुगमनका क्रममा पाइएको छ।
- अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र पाण्डेले निर्माण कार्यमा अब कुनै बहानाबाजी स्वीकार्य नहुने र कामको निरन्तर अनुगमन गरिने प्रतिबद्धता जनाउनुभएको छ।
१३ असार, गुल्मी । दुई वर्षमा बन्नुपर्ने गुल्मी अस्पतालको भवन पाँच वर्ष पुग्नै लाग्दा पनि बन्न सकेको छैन् । लामो समयदेखि निर्माणाधीन रहेको गुल्मी अस्पताल को सुविधासम्पन्न नयाँ भवन निर्माणमा ढिलाइ भएपछि चौतर्फी निगरानी बढाइएको छ ।
पटक-पटक म्याद थप्दा पनि निर्माण कार्य सम्पन्न हुन नसकेपछि सहरी विकास तथा भवन निर्माण विभाग केन्द्रीय कार्यान्वयन इकाइका आयोजना प्रमुख झपट विश्वकर्मा सहितको टोलीले अस्पताल भवनको स्थलगत अवलोकन गरेको छ ।
निर्माण व्यवसायीका प्रतिनिधि, अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र पाण्डेलगायत सरोकारवालाको सहभागितामा गरिएको अवलोकनका क्रममा भवन निर्माणका केही प्राविधिक त्रुटि भेटिएका छन् ।
विशेषगरी फ्लोरिङको काम सम्झौताअनुसार गुणस्तरीय नभएको, लिफ्ट प्रणालीमा २० जना अट्ने क्षमताको लिफ्ट हुनुपर्नेमा ८ जनामात्र अट्ने क्षमताको व्यवस्था गरिएको लगायतका कमजोरी देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।
अवलोकनपछि आयोजना प्रमुख विश्वकर्माले निर्माण व्यवसायीलाई सम्झौताअनुसारका सबै काम गुणस्तरीय रूपमा सम्पन्न गरी आगामी भदौ ३१ गतेभित्र भवन हस्तान्तरण गर्न निर्देशन दिएका छन् ।
उनले निर्माणमा देखिएका त्रुटिहरू तत्काल सच्याएर थप ढिलाइ नगर्न आग्रह गरे । अस्पताल विकास समिति अध्यक्ष पाण्डेले जिल्लावासीले लामो समयदेखि आधुनिक अस्पताल भवनको प्रतीक्षा गरिरहेको उल्लेख गर्दै अब थप बहानाबाजी नगरी निर्धारित समयभित्र निर्माण सम्पन्न गर्नुपर्ने बताए ।
उनले गुणस्तरमा कुनै सम्झौता नगर्ने र निर्माण कार्यको निरन्तर अनुगमन गरिने बताए । अस्पतालको सुविधासम्पन्न अत्याधुनिक भवन निर्माणका लागि २०७८ असार १८ गते सम्झौता भई काम सुरु गरिएको थियो ।

२०८० असार १७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि तोकिएको समयमा काम नसकिएपछि पटक-पटक म्याद थप गरिएको छ । भवन निर्माणको जिम्मा स्वच्छन्द-बानियाँ जेभी, हेटौंडा मकवानपुरले लिएको हो ।
पाँच तले भवन निर्माणका लागि २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँ लागत रहेको छ । परियोजनाको रकम भारत सरकारको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत आयोजना कार्यान्वयन इकाइ (भवन) मार्फत उपलब्ध गराइएको हो ।
हालसम्म भवन निर्माणको भौतिक प्रगति ९१ प्रतिशतभन्दा केही बढी सम्पन्न भएको छ । भवनको अहिले पेन्टिङ ,वायरिङ, आल्मुनियम लगाउनेलगायतका काम भइरहेका छन् ।
नयाँ भवनमा आईसीयू, सर्जिकल, मेडिकल तथा बाल उपचार कक्षको छुट्टाछुट्टै व्यवस्था हुनेछ । यसले जिल्लामा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
गुल्मी अस्पताल २०७१ सालमै ५० शय्यामा स्तरवृद्धि भए पनि पर्याप्त भौतिक पूर्वाधारको अभावमा सेवा विस्तार पूर्ण रूपमा कार्यान्वयन हुन सकेको थिएन ।
नयाँ भवन निर्माण सम्पन्न भएसँगै जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने र उपचारका लागि बाहिरी जिल्लामा धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4