८ मंसिर, काठमाडौं । राष्ट्रपति कार्यालयमा विचाराधीन अध्यादेशको संख्या तीन पुगेको छ ।
गत आइतबार जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग बनाउने सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ ।
त्यसअघि नै दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ ।
यसअघि सरकारले गत कात्तिक १७ गते दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको थियो । उक्त निर्णयपछि सरकारले सिफारिस गरेका दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयमा छन् ।
मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल नेपाल ऐन २०४८ लाई संशोधन गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन लगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेर राष्ट्रपति कार्यालय पठाएको हो ।
राष्ट्रपति कार्यालयले प्राप्त अध्यादेश अध्ययनको क्रममा रहेको बताएको छ ।
संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य समयमा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछन् ।
अध्यादेश जारी भएपछि बसेको संघीय संसद्को दुवै सदनमा पेस गर्नुपर्छ ।
दुवै सदनले स्वीकृत नगरेमा वा अध्यादेश प्रतिस्थापन विधेयक आएर ऐनमा रूपान्तरित नभए सदनमा पेस भएको ६० दिनभित्र स्वत: निष्क्रिय हुनेछ ।
साथै, राष्ट्रपतिले चाहेमा जुनसुकै समयमा पनि अध्यादेश खारेज गर्न सक्छन् ।
सरकारले अध्यादेशमा के कस्ता विषय समावेश गरिएको छ भनेर कुनै जानकारी दिएको छैन । साथै, अध्यादेश ल्याउनुपर्ने कारण पनि स्पष्ट खुलाएको छैन ।
संविधानत: संसद् अधिवेशन नचलेको अवस्थामा तत्काल केही गर्न आवश्यक परे अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ ।
‘संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ’ संविधानको धारा ११४ मा छ । यसरी जारी भएको अध्यादेश ऐन सरह मान्य हुनेछ ।
तर सरकारले तत्काल केही गर्न आवश्यक परेको विषय के हो केही खुलाएको छैन । राष्ट्रपतिको कार्यालयले पनि अध्यादेश प्राप्त भएको सूचना दिएको छ ।
तर, के कस्ता प्रावधान छन् भनेर केही खुलाएको छैन ।
प्रतिक्रिया 4