+
+
Shares

यौन दुर्व्यवहारको प्रमाण भेटिएपछि अमेरिकी सांसद जिमी गोमेजले दिए राजीनामा

अमेरिकाको क्यालिफोर्निया राज्यका डेमोक्रेटिक सांसद जिमी गोमेजले यौन दुर्व्यवहारको विश्वसनीय प्रमाण भेटिएपछि कङ्ग्रेसबाट राजीनामा दिने घोषणा गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १४:२०

८ मंसिर, काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यका डेमोक्रेटिक सांसद जिमी गोमेजले यौन दुर्व्यवहारको विश्वसनीय प्रमाण भेटिएपछि कङ्ग्रेसबाट राजीनामा दिने घोषणा गरेका छन्।

अमेरिकी समाचार संस्था सीबीएस न्युजका अनुसार अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सको आचारसंहिता समितिले सोमबार छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि उनले पद छोड्ने निर्णय गरेका हुन्।

आचारसंहिता समितिको प्रतिवेदनमा गोमेजले आफू र कर्मचारीबीचको शक्तिको असन्तुलनलाई बेवास्ता गर्दै संसद्की एक महिला कर्मचारीमाथि अवाञ्छित यौन प्रस्ताव तथा व्यवहार गरेको उल्लेख छ। ५१ वर्षीय गोमेजले प्रतिवेदनका निष्कर्षमा आफ्नो असहमति रहे पनि आगामी डिसेम्बर १ देखि लागू हुने गरी राजीनामा दिने बताएका छन्।

लस एन्जलसको एक क्षेत्रबाट पाँच कार्यकाल सांसद रहिसकेका गोमेज यही महिना सम्पन्न मध्यावधि निर्वाचनमा पराजित भएका थिए र यो वर्षको अन्त्यमा पद छोड्ने तयारीमा थिए।

सीबीएसका अनुसार गोमेजले सोमबार एक विज्ञप्ति जारी गर्दै समितिका निष्कर्षहरूप्रति आफ्नो कडा असहमति रहे पनि राजीनामा दिनुबाहेक अन्य विकल्प नदेखेको उल्लेख गरेका छन्।

‘म आचारसंहिता समितिको प्रतिवेदनको गम्भीरतालाई स्वीकार गर्छु र पहिले नै भनेजस्तै आफ्नो वैवाहिक सम्बन्धबाहिर मैले गरेका व्यक्तिगत गल्तीहरूको पूर्ण जिम्मेवारी लिन्छु,’ उनले भनेका छन्।

समितिले सुरुमा तत्कालीन सांसद एरिक स्वालवेलले आयोजना गरेको एक पार्टीमा गोमेजले एक युवा कर्मचारीलाई चुम्बन गरिरहेको देखिएको भन्ने विवरणमाथि छानबिन थालेको थियो।

क्यालिफोर्नियाकै डेमोक्रेट सांसद रहेका स्वालवेलले आफैँमाथि लागेको यौन दुर्व्यवहारको आरोपका कारण राजीनामा दिएलगत्तै गोमेजको प्रकरण बाहिरिएको थियो। विवाहित गोमेजविरुद्ध अनुचित यौन सम्पर्कको आरोप लगाउँदै संसद्की कर्मचारीका कानुन व्यवसायीले उजुरी गरेपछि द्विदलीय समितिले गत अगस्टमा अनुसन्धानको घोषणा गरेको थियो।

त्यतिबेला गोमेजले आफूबाट गल्ती भएको तर ती क्रियाकलाप सहमतिमा नै भएको दाबी गरेका थिए।

आचारसंहिता समितिले प्रतिवेदनमा ‘साक्षी १’ का रूपमा उल्लेख गरिएकी एक महिलासँग बयान लिएको थियो। ती महिलाले आफू संसद्को कर्मचारी रहँदा सांसद गोमेजले एकपटक सार्वजनिक स्थानमा र अर्कोपटक आफ्नै संसदीय कार्यालयमा गरी दुईपटक अवाञ्छित यौन व्यवहार गरेको बताएकी थिइन्।

उनले सन् २०२४ फेब्रुअरीमा वासिङ्टन डीसीस्थित एक बारमा रहँदा गोमेजले ‘आफ्नो स्कर्टभित्र हात हालेको’ आरोप लगाउँदै उक्त घटनामा ‘कुनै सहमति नरहेको’ बयान दिएकी थिइन्। गोमेजको उक्त व्यवहारले ती कर्मचारीलाई गम्भीर र निरन्तर मानसिक पीडा पुर्‍याएको र उनलाई जागिर छोड्ने निर्णयमा पुर्‍याउन भूमिका खेलेको प्रतिवेदनमा जनाइएको छ।

(बीबीसीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?