+
+
Shares

अमेरिकासँग वार्ता गर्न इरानले अघि सार्‍यो पुरानै ७ सर्त

‘हाम्रो अडान पहिले नै स्पष्ट छ । इरानका सात सर्त पूरा नभएसम्म न कुनै कदम चालिनेछ, न वार्ता हुनेछ,’ गलिबाफले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १४:५१

काठमाडौं । अमेरिकासँग वार्ताको नेतृत्व गरिरहेका इरानी संसद्का सभामुख मोहम्मद बाघेर गलिबाफले वार्ताका लागि आफ्नो देशको अडानमा कुनै परिवर्तन नभएको बताएका छन् ।

उनले अमेरिकासँग सम्झौता गरेर युद्ध अन्त्य गर्न पुरानै सात सर्त पूरा हुनुपर्ने इरानको अडान रहेको प्रस्ट पारेका छन् ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) निकट समाचार संस्था फार्समा प्रकाशित समाचारअनुसार गलिबाफले इरानका सात सर्त पूरा नभएसम्म कुनै पनि कदम नचाल्ने र वार्ता पनि नगर्ने बताएका छन् ।

अमेरिकाले दिइरहेको धम्की र अपमानजनक अभिव्यक्तिलाई उसको निराशाको संकेत भएको गलिबाफको टिप्पणी छ ।

‘हाम्रो अडान पहिले नै स्पष्ट छ । इरानका सात सर्त पूरा नभएसम्म न कुनै कदम चालिनेछ, न वार्ता हुनेछ,’ गलिबाफले भनेका छन् ।

उनले शत्रु पक्ष(अमेरिका–इजरायल)बाट हुने कुनै पनि शत्रुतापूर्ण गतिविधिको निर्णायक जवाफ दिन इरान तयार रहेको चेतावनीसमेत दिएका छन् । अमेरिका र इजरायलले गलत आकलन गरेमा युद्धको भौगोलिक दायरा विस्तार गर्न सकिने उनको भनाइ छ ।

इरानी संसद्का सभामुख मोहम्मद बाघेर गलिबाफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका पछिल्ला निरर्थक टिप्पणी र धम्कीको जवाफमा आफूले यस्तो अभिव्यक्ति दिएको गलिबाफले बताएका छन् ।

यसअघि बेसेन्टले एक्समा लेख्दै इरानको अवैध वित्तीय सञ्जाल ध्वस्त पार्ने अभियान जारी रहने बताएका थिए ।

यसैबीच, अमेरिकी अर्थ मन्त्रालयले सोमबार इरानका दुई दर्जनभन्दा बढी मुद्रा विनिमय केन्द्र, नक्कली कम्पनी तथा प्रमुख व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । इरानको विश्वव्यापी छाया बैंकिङ सञ्जाललाई कमजोर पार्ने उद्देश्यले प्रतिबन्ध लगाइएको अमेरिकाको भनाइ छ ।

इरानले अमेरिकासँगको वार्ताका लागि अघि सारेका सात सर्तमध्ये इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, प्रतिबन्धमा राहत दिनुपर्ने, रोक्का गरिएका इरानी रकम फुकुवा गर्नुपर्ने, सबै मोर्चामा युद्धविराम हुनुपर्ने र युद्ध औपचारिक रूपमा अन्त्य भएको घोषणा गर्नुपर्नेलगायत छन् ।

–अलजजीराको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?