+
+
Shares

आधारभूत तहका प्रहरीको गुनासो : तलबले परिवार पाल्न गाह्रो भयो

१६ वर्ष सेवापछि पेन्सन पाउनुपर्ने माग

नेपाल प्रहरीमा ८२.५ प्रतिशत हिस्सा ओगट्ने कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीको समस्या सुन्न प्रहरी प्रधान कार्यालयले स्थापना गरेको केन्द्रीय गुनासो व्यवस्थापन डेस्कमा दैनिक सयौँ उजुरी आउन थालेका छन्। गुनासामा सरुवा, श्रीमान्–श्रीमतीको जोडी मिलान, परिवार पाल्नै कठिन हुने न्यून तलब र १६ वर्ष सेवा अवधिमै पेन्सनको व्यवस्था हुनुपर्ने माग प्रमुख छन्।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ मंसिर ८ गते १७:५७

८ मंसिर, काठमाडौं । १८ कात्तिकमा प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा भएपछि डा. मनोजकुमार केसीले आधारभूत तह अर्थात् कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मका प्रहरी कर्मचारीको समस्या सम्बोधन गर्न हरप्रयास गर्ने बताए।

आधारभूत तहका कर्मचारीको गुनासो सम्बोधन गर्ने भन्दै आईजीपी केसीको निर्देशनमा ३ मंसिर अपराध अनुसन्धान विभागका एसपी गोविन्द पुरीको नेतृत्वमा ८ सदस्यीय समिति गठन भएको छ। प्रहरी महानिरीक्षक डा. केसीले हस्ताक्षर गर्दै उनीहरूलाई जिम्मेवारी तोकिएको पत्रसमेत दिए।

समितिमा एसपी पुरीसँगै कार्य विभागका डीएसपी कृष्णराज ओझा, कर्मचारी प्रशासन शाखाका इन्स्पेक्टर प्रकाश थापा, सुरक्षा सेवा व्यवस्था महाशाखाका इन्स्पेक्टर सञ्जिता श्रेष्ठ, कल्याण महाशाखाका वरिष्ठ सई शान्तालक्ष्मी बलामी, अपराध अनुसन्धान विभागका सई धर्मी यादव, सञ्चार निर्देशनालयका असई हरिबहादुर देउजा र विशेष कार्यदलका जवान विष्णु घिमिरे छन्।

उनीहरूलाई आधारभूत तहका प्रहरी कर्मचारीको पीरमर्का र गुनासो सुन्ने, लिपिबद्ध गर्ने र प्राप्त गुनासोलाई समयमै सम्बन्धित कार्यालयहरूसँग आवश्यक समन्वय गरी सम्बोधन तथा व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ।

यसको भोलिपल्ट प्रहरी हेडक्वार्टरमा गठन गरिएको केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको उद्घाटन आईजीपी केसीले गरे। कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्म ५४ हजार १२२ प्रहरी कर्मचारीलाई मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि गुगल फर्म लिङ्कसमेत पठाइयो।

आईजीपी केसीले आधारभूत तहका एक प्रहरी कर्मचारीसँग टेलिफोन संवाद गरी गुनासोसमेत सुन्दै यसको औपचारिक उद्घाटन गरेका थिए। अहिले धमाधम गुनासोहरू आइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्ले बताउँछन्।

‘अहिले धमाधम गुनासोहरू आउने क्रम सुरु भएको छ। जतिसक्दो चाँडो गुनासो सम्बोधन गर्ने गरी काम गरेका छौँ,’ प्रवक्ता काफ्लेले अनलाइनखबरसँग भने।

कसरी गर्छ समितिले काम ?

नेपाल प्रहरीमा आधारभूत तहका कर्मचारी ८२.५ प्रतिशत छन्। उनीहरूको समस्या तथा गुनासोहरूलाई सम्बोधन गर्न भन्दै प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिमको कार्यादेशअनुसार डेस्क स्थापना गरेर काम सुरु गरिएको प्रवक्ता काफ्लेको भनाइ छ।

यो डेस्कमा आएको गुनासो समितिले अध्ययन गरी सम्बन्धित प्रहरी कर्मचारीसँग समेत सम्पर्क गर्नेछ।

गुनासो आएको २ दिनभित्र यो काम गरेर यसको सम्बोधन गर्ने युनिटमा समितिले पठाउने प्रवक्ता काफ्ले बताउँछन्। त्यसपछि सम्बन्धित युनिटले बढीमा एक हप्ताभित्रमा त्यो गुनासो सम्बोधन गर्ने गरी व्यवस्था मिलाइएको छ।

उदाहरणका लागि कुनै एक कर्मचारीले सरुवासम्बन्धी गुनासो गरे भने उनको सरुवाको आवश्यकता, सरुवा हुन लागेको ठाउँ वा प्रदेशभित्रैको सरुवा भए सम्बन्धित प्रदेशको डीआईजी कार्यालय तथा अन्तरप्रदेशको भए प्रहरी कर्मचारी प्रशासनमा पठाएर गुनासो सम्बोधनको काम हुने प्रवक्ता काफ्लेको भनाइ छ।

आधारभूत तहका कर्मचारीका जायज गुनासाहरू स्वतःस्फूर्त प्रस्तुत गर्न सक्ने वातावरण निर्माण गर्नु, प्रहरी कर्मचारीहरूका लागि सहज, पहुँचयोग्य, गोप्य, निष्पक्ष र एकीकृत प्रणाली स्थापना गर्नु र प्राप्त गुनासाहरूको निष्पक्ष, प्रमाणमा आधारित र शीघ्र सम्बोधन गर्नु यसको मुख्य उद्देश्य रहेको बताइन्छ।

गुनासो सम्बोधनका लागि जिम्मेवार संयन्त्रहरूको प्रभावकारिता अभिवृद्धि गर्नु, सुपरिवेक्षक तथा जिम्मेवार अधिकारीहरूमा जवाफदेहिता अभिवृद्धि गर्नु, सङ्गठनभित्र दोहोरिरहने समस्या तथा प्रणालीगत कमजोरीहरूको पहिचान गरी नीतिगत, प्रशासनिक तथा कल्याणकारी सुधारका उपायहरू अवलम्बन गर्नु यो डेस्क स्थापनाको प्रमुख प्राथमिकता रहेको प्रहरी प्रधान कार्यालयले बताएको छ।

सरुवादेखि तलब थोरै भएकोसम्म गुनासो

गुनासो सुन्ने डेस्क स्थापना गरेसँगै दैनिक सयौँको सङ्ख्यामा गुनासो आउने गरेको छ। प्रवक्ता काफ्लेका अनुसार सबैभन्दा बढी सरुवाको विषयलाई लिएर गुनासो आउने गरेको छ।

सरुवा पायक नपरेको र विभिन्न घरायसी समस्या देखाउँदै सरुवा मिलाउनका लागि भन्दै गुनासो आउने गरेको छ। त्यसैगरी जोडी मिलानको विषयमा पनि गुनासो आउने गरेको छ।

श्रीमान्–श्रीमती नै प्रहरी भएको तर फरक–फरक तथा टाढाको प्रहरी कार्यालयमा रहेको भन्दै जोडी मिलाउनका लागि पनि गुनासो आएको छ। केही गुनासो भने आर्थिक विषयसँग पनि सम्बन्धित छन्।

आधारभूत तहका प्रहरी कर्मचारीको तलब अत्यन्त न्यून भएको र उक्त तलबले परिवार पाल्नसमेत गाह्रो भएको गुनासो आएको छ। तलब थोरै भएको र कल्याणकारी सुविधासमेत थोरै भएको गुनासो छ।

प्रहरी कल्याणकारी कोषमार्फत सहुलियत दरमा पाउने ऋणबारे पनि गुनासोहरू आएका छन्।

अर्कोतर्फ भने १६ वर्षमै पेन्सनको विषयलाई लिएर पनि गुनासो आएको छ। आधारभूत तहका कर्मचारीले सेवा गरेको १६ वर्ष पुगेपछि पेन्सन हुनुपर्ने भन्दै गुनासोहरू आएको प्रहरी प्रधान कार्यालयले बताएको छ।

२०४९ सालदेखि १६ वर्ष सेवावधि पुगेपछि पेन्सन हुने व्यवस्था थियो । तर २६ चैत २०६० मा प्रहरी नियमावली २०७१ जारी भएसँगै पेन्सनका लागि सेवावधि २० वर्ष पुर्‍याइयो ।

प्रहरी सङ्गठनको जगका रूपमा रहेका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका आधारभूत तहका कर्मचारीहरूको पेसागत जीवनलाई अझ सुरक्षित, सम्मानित, मर्यादित र न्यायपूर्ण बनाउन तथा कार्यक्षेत्रमा भोग्नुपरेका समस्या, कठिनाइ, विभेद र गुनासाहरूलाई उचित सम्बोधन गर्ने उद्देश्यले डेस्क स्थापना गरिएकाले सम्भव भएसम्म सम्बोधन हुने गरी काम भइरहेको प्रवक्ता काफ्ले बताउँछन्।

आधारभूत तह प्रहरी सङ्गठनको आधारभूत स्तम्भ हुनुका साथै सडकदेखि सीमासम्म, प्रहरी कार्यालयदेखि विपद् घटनास्थलसम्म जनताले देख्ने र महसुस गर्ने असली अनुहार भएको चर्चा गर्दै आधारभूत तह सन्तुष्ट नभएसम्म जनताले गुणस्तरीय र प्रभावकारी प्रहरी सेवा प्राप्त गर्न कठिनाइ हुने आईजीपी केसीले बताएका थिए। अहिले सोहीअनुसार गुनासो सम्बोधनको कामलाई तीव्रता दिइएको प्रहरी प्रधान कार्यालयले बताएको छ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?