+
+
Shares

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ हेरेपछि दर्शकले के भने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १८:१०

काठमाडौं । गत शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको धीराज राजवंशीको डेब्यू निर्देशकीय फिल्मले प्रदर्शनसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्म हेरेर निस्किएका दर्शकले यसको कथा, छायांकन, दृश्य, कलाकारको अभिनय र प्रस्तुतिको प्रशंसा गरेका हुन्।

दर्शकले ‘हिमालयन गोल्ड’ लाई नेपाली फिल्ममा नयाँ स्वाद दिने फिल्मका रूपमा व्याख्या गरेका छन् । हिमालका आकर्षक दृश्य, सिनेम्याटोग्राफी र कथालाई प्रस्तुत गरिएको शैलीले फिल्मलाई विशेष बनाएको उनीहरूको भनाइ छ । कतिपय दर्शकले त नेपाली फिल्मले अब हलिउड र बलिउडको स्तरलाई समेत चुनौती दिन थालेको प्रतिक्रिया दिएका छन् ।

आफूले अहिलेसम्म हेरेका नेपाली फिल्म भन्दा फरक कथा र प्रस्तुति पाएको प्रतिक्रिया दर्शकले दिएका छन् । उत्कृष्टमध्येको एक भन्दै कथा, अभिनय र सस्पेन्सको प्रशंसा गरे । हरेक दृश्यपछि अब के हुन्छ भन्ने कौतूहलता जागिरहने फिल्म हेरेर निस्किएका एक दर्शकले बताए । ‘नेपाली फिल्ममा यस्तो खालको सस्पेन्स र थ्रिलरको अनुभव विरलै गरेको थिएँ’ उनले भने ।

फिल्म हेरेपछि नेपाली फिल्मको स्तर हलिउड र बलिउडसम्म पुग्न सक्ने विश्वाससमेत जागेको उनको प्रतिक्रिया छ ।

अर्का दर्शकले फिल्मको सिनेम्याटोग्राफीलाई असाध्यै उत्कृष्ट बताए । नेपाली फिल्ममा कमै देखिने गुफा तथा हिमाली क्षेत्रका दृश्यलाई पर्दामा उतारिएको शैलीले आफूलाई प्रभावित पारेको उनको भनाइ थियो ।

विशेषगरी दिवंगत अभिनेता सुनिल थापाको संवाद र चरित्र आफूले विगतमा देख्दै आएको भूमिकाभन्दा फरक र अप्रत्याशित लागेको उनीहरूको भनाइ छ ।

फिल्ममा सुनिल थापाको अभिनयलाई दर्शकले विशेष रूपमा सम्झिएका छन् । उनको संवाद शैली र चरित्र चित्रणले आफूलाई आश्चर्यचकित बनाएको एक दर्शकले बताए । यो फिल्म सुनिल थापाले अभिनय गरेको अन्तिम फिल्मसमेत भएकाले उनको भूमिका थप चासोको विषय बनेको छ ।

‘हिमालयन गोल्ड’ ले यार्सागुम्बाको विषयलाई आधार बनाएर त्यससँग जोडिएका सामाजिक, सांस्कृतिक र मानवीय पक्षलाई समेत प्रस्तुत गरेको दर्शकको बुझाइ छ । यार्सागुम्बाबारे सामान्य जानकारी भए पनि त्यसको खोजी र संकलनसँग जोडिएका तीन दशकअघिका घटनाक्रम तथा त्यसपछाडिको कथाबारे फिल्मबाट नयाँ कुरा थाहा पाएको दर्शकहरूले बताएका छन् ।

एक युवती दर्शकले फिल्मलाई यार्सागुम्बाको कथामा मात्र सीमित नरहेको भन्दै मानवीय मनोविज्ञानको समेत गहिरो खोजी गरेको प्रतिक्रिया दिइन् । विशेषगरी सुनको खोजीमा लाग्दा मानिसको व्यवहार र सोचमा आउने परिवर्तनलाई फिल्मले रोचक ढंगले प्रस्तुत गरेको उनको भनाइ थियो ।

त्यस्तै, फिल्मको अभिनयलाई स्वाभाविक र संवादलाई बनावटीपनरहित पाएको दर्शकको प्रतिक्रिया छ । नेपाली संस्कृति, हिमाली भूगोल र स्थानीय जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास पनि उनीहरूले रुचाएका छन् ।

धीराज राजवंशीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा कर्मा शाक्य, परीक्षा लिम्बु, सुनिल थापा, मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्याललगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?