९ मंसिर, काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले पुँजी बजारको विकासमा योगदान बढाउन नयाँ वित्तीय उपकरणहरूमा समेत लगानी विस्तार गर्न कोषले खोजिरहेको बताएका छन् ।
नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिमा भएको सैद्धान्तिक छलफलमा उनले पुँजी बजारमा कोषको भुमिका थप प्रभावकारी बनाउन नयाँ वित्तीय उपकरणमा लगानी गर्ने व्यवस्था ऐनमै समेट्न खोजिएको बताए ।
उनका अनुसार नागरिक लगानी कोषको लगानीलाई परम्परागत क्षेत्रबाट विस्तार गर्दै पुँजी बजारका नयाँ वित्तीय उपकरणसम्म पुर्याउन आवश्यक छ ।
‘हामीलाई संस्थागत रूपमा खड्किएको एउटा महत्वपूर्ण कुरा के हो भने छरिएर रहेको वचत संकलन गरी राष्ट्र निर्माणमा पुँजी परिचालन गर्ने उद्देश्यका साथ यो ऐन बनेको हो । तर, प्राथमिकता प्राप्त क्षेत्र र परियोजना कर्जामा हाम्रो ठूलो लगानी हुन नसकिरहेको अवस्था छ । त्यसलाई सहजीकरण गर्न र पुँजी बजारको विकासमा पनि योगदान पुर्याउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने ।
यसले पुँजी बजारको विकासमा योगदान पुर्याउनुका साथै उपलब्ध पुँजीलाई विभिन्न उत्पादनशील क्षेत्रमा परिचालन गर्ने अवसर सिर्जना गर्नेछ ।
कार्कीले कोषको लगानी क्षमता र कार्यक्षेत्र विस्तारसँगै सञ्चालनका क्रममा देखिएका व्यावहारिक तथा संस्थागत समस्याहरू समाधान गर्न पनि ऐन संशोधन आवश्यक रहेको बताए ।
कोषको दैनिक सञ्चालनमा देखिएका कमीकमजोरी सुधार गर्ने र महालेखा परीक्षकको कार्यालयबाट हुने लेखापरीक्षणका क्रममा औंल्याइएका कैफियत सम्बोधन गर्ने विषयलाई समेत संशोधन प्रक्रियामा समेटिएको उनले जानकारी दिए ।
‘नागरिक लगानी कोष ऐनको सन्दर्भमा पुँजी बजारमा हामीले कसरी योगदान बढाउन सक्छौं भन्ने आशयका साथ पुँजी बजारका नयाँ वित्तीय उपकरणहरूमा पनि लगानी विस्तार गर्नुपर्छ भन्ने विषयलाई महत्वपूर्ण रूपमा लिइएको छ । त्यसैगरी, हाम्रा सञ्चालनसम्बन्धी कामकारबाहीमा देखिएका केही कमीकमजोरी सुधार गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।
प्रतिक्रिया 4