प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा राम्रा कुरा जे भए, ती त राम्रा भइगए । दुई देशबीचको राजनीतिक समझदारीलाई नयाँ उचाइमा पुर्याइयो भनिएझैं भएको हो भने त्यो पनि राम्रो कुरा हो । नेपाल सरकार छ, यसका लागि धन्यवादको भागिदार ।
तर, केही मुख्य बुँदाहरूमा चाहिँ जे अनहोनी नहोस् भनेको त्यही भयो । अघिल्लो एस्प्रेसोमा मैले भनेको थिएँ– हामी रोटीबेटी, रामधाम, विशेष सम्बन्ध टाइपका शाब्दिक नृत्यमा फस्छौं र एजेन्डामा बुँदाबुँदा कुरा गर्ने बेला भने कताकता चुक्न पुगिहाल्छौं ।
म यो विषयमा केवल प्रधानमन्त्री बालेन शाहलाई मात्रै टिप्पणी गर्न गइरहेको छैन, संस्थागत स्मृतिहरूलाई पुरानो सत्ताका ‘ब्यागेज’ का नाममा कम आँक्ने हुँदा हुने गल्तीहरू हुन् यी । विगतका सरकारहरूले धेरथोर मात्रामा गर्ने गरेकै गल्तीका निरन्तरता पनि हुन् यी । विपक्षी पार्टीहरू पनि धेरै खुसी नभए हुन्छ, किनभने तालमेल मिलाउन नजान्दा हानि भयो भने त्यो कुनै पार्टी विशेषलाई होइन, सिंगो देशैलाई हुन्छ ।
तीमध्ये एउटा मुख्य बुँदा हो ईपीजीको । यो एस्प्रेसोमा लिपुलेक लिम्पियाधुरादेखि सुस्ता मर्चवारसम्मका सीमा विवाद सबै कोट्याउन सम्भव छैन । अनि भैरहवाको हवाई प्रवेशविन्दुको अनुमतिलगायत समग्र विषयमा विवेचना गर्न पनि सम्भव छैन । प्रधानमन्त्री बालेन स्वयंले विगतमा सिमानाबारे एकदमै संवेदनशील र क्रान्तिकारी कुरा गरेको अझसम्म सम्झना रहेकाले म आज ईपीजीतर्फै केन्द्रित हुन्छु ।
१९५० को शान्ति तथा मैत्री सन्धिले नेपाल–भारतबीच असमान सम्बन्धलाई कायम राख्यो भनेर एउटा एमिनेन्ट पर्सन्स ग्रुप अर्थात् ईपीजी बनेको थियो सन् २०१६ मा । त्यसबेला भारतमा उही नरेन्द्र मोदी प्रधानमन्त्री बनेको पनि दुई वर्ष भइसकेको थियो । भारतीय नाकाबन्दी भर्खरै सकिएको बेला थियो । अब सीमा विवादलगायत असमान सन्धि–सम्झौता र त्यसले उत्पन्न गरेका दुईदेशीय लफडा सधैंका लागि शान्त पार्ने भनेर बनेको थियो, प्रबुद्ध व्यक्तित्व समूह अर्थात् ईपीजी ।
नेपालबाट पूर्वमन्त्री तथा कूटनीतिज्ञ भेषबहादुर थापा संयोजक थिए, भारतबाट आजपर्यन्त सत्तारुढ भाजपाका एक वरिष्ठ नेता भगतसिंह कोस्यारी । दुवैतर्फका ईपीजीमा एकदमै अनुभवी, राजनीतिक कूटनीतिक मामलामा पनि घागडान वेत्ताहरू सदस्य रहेका थिए । तिनले दुई वर्षजति काम गरेर जुन रिपोर्ट तयार पारे, त्यसलाई नेपाल र भारत दुवैतर्फका प्रधानमन्त्रीहरूले बुझ्ने र कार्यान्वयनमा लैजाने कार्यादेश तयार पारिएको थियो ।
प्रतिवेदन तयार भयो, तर प्रधानमन्त्रीहरूले बुझ्ने साइत कहिल्यै परेन । नेपालका प्रधानमन्त्रीहरू पनि किसिमकिसिमका थिए– कोही रामको जन्मभूमि खोजेर बस्ने, विवादका मूल बुँदामा कूटनीतिक चलाखीसहित प्रवेशै नगर्ने । कोही महाकालेश्वरमा पूजाआजा गर्न तयार हुने, ईपीजीको मुद्दा उठाउँदा सम्बन्ध गिजोलिन्छ भन्ठान्ने । मैले अरू होइन, केपी ओली र प्रचण्डको कुरा गरेको ।

त्यसैले लौ न त, एकपल्ट राम्रोसँग सीमालगायत पुराना लफडाका कुरा गरौं भन्यो भने भारतविरोधी राष्ट्रवाद उचाल्यो पनि भन्छन् केही विद्वान् मन्त्रीजीहरू ।
खासमा सीमाका कुरा किन गर्न खोजिएको हो, बुझ्नुभो अर्थमन्त्री स्वर्णिम वाग्लेजी । किनभने, अबदेखि सीमाका कुरा कहिल्यै गर्नु नपरोस् भनेर एकपल्ट राम्रोसँग सीमाकै कुरा गर्न खोजिएको हो । यो भारतविरोधी वा चीनविरोधी एजेन्डा होइन ।
तर, ईपीजीको औचित्यलाई भारतीय विदेश सचिव विक्रम मिश्रीले यसरी चकनाचुर पारिदिए, अब सायद नेपालको उच्च सरकारी नेतृत्व, परराष्ट्र मन्त्रालय, तपाईंहरू, कतिसम्म भने स्वयं विपक्षीसमेतले यसबारे राम्रोसँग बोल्लान् भन्ने अपेक्षा छ ।
यो अपेक्षा किनभने, ईपीजी कुनै लहडबाजीको विषय थिएन । दुवै देशका सरकारहरूले सोचीसम्झी गरेको सुझबुझपूर्ण निर्णय थियो । यसले केवल १९५० को सन्धि पुनरावलोकन मात्रै मागेको थिएन, दुई देशबीचको समग्र सम्बन्धलाई बृहत्तर दायरामा पुन:परिभाषित गर्ने कार्यादेश ईपीजीसँग थियो ।
सन् १९५० को शान्ति तथा मैत्री सन्धिसँगै व्यापार तथा पारवहनसम्बन्धी सम्झौता, सुरक्षा तथा सीमासम्बन्धी व्यवस्था, अन्य द्विपक्षीय समझदारी जस्ता विषय सम्बोधन गर्नुपर्ने थियो । नेपालमा यसअघिका सरकारहरूले पनि भारतसँग ईपीजीको विषयमा पर्याप्त दबाब सिर्जना गर्न नसक्दा यो टर्दै आएको थियो ।
बालेन सरकार गठन भएसँगै ईपीजीका संयोजक भेषबहादुर थापाले ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्री शिशिर खनाललाई बुझाएका थिए । त्यो साँचो कुनै दिन त खुल्ला भनेको, भारतले त यो च्याप्टर बन्द भइसकेको संकेत गरिदियो । अब नेपालले के भन्छ त ? थाहा चाहियो सरकार !
बालेनको पछिल्लो गीतै छ– जय महाकाली आयो गोर्खाली । डराउँदैन यसपालि ।
अघिल्लो एस्प्रेसोमा पनि भनिसकियो, छिमेकीसँग मर्का राख्नु भनेको ऊसँग शत्रुता साध्नु होइन । डाक्टरलाई रोगबारे सुनाउनु भनेको अस्पतालको विरोध गर्नु हो र ? त्यसैले ईपीजीले प्रतिवेदन तयार पारेर दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने भनेको पनि धेरै नै भइसक्यो । के त्यो प्रतिवेदन मोदी र बालेन दुवैले बुझिदिए हुँदैन र ?
केही विकास सहायता, केही आश्वासन र केही संयुक्त दृष्टिपत्र इधरउधर भएपछि हाम्रो भ्रमण अभूतपूर्व सफल भइहाल्छ । हामी हाम्रा प्रधानमन्त्रीले पाउने सम्मान गारद, गान्धी स्मारकको नोट, अघिल्ला प्रधानमन्त्रीसँग तुलना, कुन भाषामा बोले, कस्तो लुगा लगाए, कस्तो चस्मा लगाए, कुन कलाकारको धुन बज्यो, कस्तो फोटो पाए, कस्तो उपहार लेनदेन गरे आदिमा निकै समय कटाउँछौं । त्यो बेला सरकारलाई मात्रै होइन, आफैंलाई पनि सोध्न बिर्सन्छौं ।
दुई देशले त्यत्रो दुईदुई साल लगाएर, त्यत्रो आर्थिक भौतिक बौद्धिक साधनस्रोत खर्चेर गरेको मिहिनेत एकै छिनमा स्वाहा हुन सक्दो रहेछ । अनि, सहमतिबाट थालिएको बृहत् परियोजना तुहाउन कुनै अर्को ‘सहमति’ नचाहिने रहेछ ।
ब्रेकथ्रु नै ब्रेकथ्रुको श्रृङखलामा यो कस्तो ब्रेक ? नेपाल सरकारले जवाफ देओस् र भारतसँग पनि जवाफ मागोस् । नत्र भन्दिओस्, भारतले मात्रै होइन हामीले पनि छाडिदियौं ईपीजी प्रतिवेदन । अब विगतका ब्यागेज नबोक्ने, भविष्यका कुरामात्रै गर्ने ।
प्रतिक्रिया 4