+
+
Shares

भारतको पश्चिम बंगाल प्रान्तको नाम परिवर्तन गरिँदै

यसपटक केन्द्र र राज्य(प्रदेश) दुवैमा भाजपा नेतृत्वको सरकार रहेकाले नाम परिवर्तनको प्रस्ताव रोक्न सक्ने सम्भावना कम रहेको राजनीतिक विश्लेषकहरूको आकलन छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते २०:०५

काठमाडौं । भारतको पश्चिम बंगाल राज्यको नाम परिवर्तन गरी ‘पश्चिम बंगा’ राख्ने तयारी सुरु भएको छ ।

राज्यका सबै सरकारी तथा प्रशासनिक कागजातमा अब ‘वेस्ट बंगाल’ को सट्टा ‘पश्चिम बंगा’ नाम प्रयोग गर्नेगरी यस्तो तयारी सुरु भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पश्चिम बंगालका मुख्यमन्त्री सुभेन्दु अधिकारीले प्रदेशको नाम परिवर्तनको प्रस्ताव राखिसकेका छन् । इन्डियन एक्सप्रेसका अनुसार मन्त्रिपरिषद्ले उक्त नाम परिवर्तनसम्बन्धी प्रस्ताव स्वीकृत गरिसकेको छ ।

समाचारअनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको बंगाल सरकारले आगामी डिसेम्बर ९ मा विधानसभा(प्रदेश संसद्)मा नाम परिवर्तनसम्बन्धी प्रस्ताव पेस गर्नेछ । विधानसभाबाट पारित भएपछि सो प्रस्ताव केन्द्र सरकार र केन्द्रीय संसद्(लोकसभा)मा पठाइनेछ । त्यसपछि मात्रै नयाँ नाम कार्यान्वयनमा आउनेछ ।

मुख्यमन्त्री अधिकारीका अनुसार विधानसभाको हिउँदे अधिवेशनमा प्रस्ताव पेस गरिनेछ । डिसेम्बर ४ देखि १४ सम्म ११ दिन चल्ने अधिवेशनमा यससम्बन्धी प्रस्तावमाथि छलफल हुने भनिएको छ । उनले अंग्रेजीमा पनि राज्यको नाम ‘पश्चिम बंगा’ नै लेखिने बताए ।

यसअघि तृणमूल कांग्रेसकी नेतृ ममता बनर्जी नेतृत्वको सरकारले सन् २०१८ मा राज्यको नाम परिवर्तन गरी ‘बाङ्ला’ राख्ने प्रस्ताव विधानसभाबाट सर्वसम्मतिले पारित गरेको थियो ।

बनर्जीअघि रहेका वामपन्थी नेतृत्वले पनि राज्यको नाम परिवर्तन गर्ने प्रक्रिया अघि बढाएका थिए ।

तर, दुवै सरकारका प्रस्तावले केन्द्र सरकारको स्वीकृति पाउन सकेनन् ।

यसअघि भारतीय कांग्रेस नेता मनमोहन सिंह नेतृत्वको यूपीए गठबन्धन सरकार र भाजपाकै नेता नरेन्द्र मोदी नेतृत्वको एनडीए गठबन्धन सरकारले यसअघि नाम परिवर्तनका प्रस्तावलाई स्वीकृति दिएका थिएनन् ।

सन् २०१९ मा ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस सरकारलाई केन्द्र सरकारले राज्यको नाम ‘बाङ्ला’ राख्ने प्रस्ताव अस्वीकार गरेपछि धक्का लागेको थियो । त्यसबेला केन्द्र सरकारले राज्यको नाम परिवर्तन गर्न संविधान संशोधन आवश्यक पर्ने बताएको थियो ।

यसपटक भने केन्द्र र राज्य(प्रदेश) दुवैमा भाजपा नेतृत्वको सरकार रहेकाले नाम परिवर्तनको प्रस्ताव रोक्न सक्ने सम्भावना कम रहेको राजनीतिक विश्लेषकहरूको आकलन छ ।

–इन्डियन एक्सप्रेसको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?