+
+

विप्लव समूहले केन्द्रीय समिति बैठक बहिस्कार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २८ गते १७:२४

Biplap२८ कात्तिक, काठमाडौं । संस्थापन पक्षसँग असन्तुष्ट भई कपिलवस्तुमा बेग्लै राष्ट्रिय भेला गरेको विप्लव समूहले शनिबारदेखि हुन लागेको नेकपा-माओवादीको केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।

कपिलवस्तुमा भेला सकेर बुटवल फर्केका विप्लव समूहका एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग टेलिफोनमा भने- ‘शनिबारको बैठकमा हामी सहभागी हुँदैनौं, साथीहरु बुटवलमै रहेकाले बैठकमा भाग लिन भ्याउँदैनौं ।’

नेकपा-माओवादीको पोलिटब्यूरो बैठकले कात्तिक २९ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो । मंसिर ६ गते वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकार सदस्य समेत सहभागी हुने गरी विस्तारित बैठक बोलाउने निर्णयसमेत पोलिटब्यूरो बैठकले गरेको छ ।

पदाधिकारी र पोलिटब्यूरो बैठक बहिस्कार गरेको विप्लव समूहले भने २६ र २७  गते कपिलवस्तुमा भूमिगतरुपमा बेग्लै भेला सम्पन्न गरेको छ ।

विस्तारित बैठक सार्न माग

शनिबार हुने केन्द्रीय समिति बैठकमा सहभागी नभए पनि वैकल्पिक सदस्यलाई समेत मतदानको अधिकार दिने अवस्थामा मंसिर ६ मा तोकिएको विस्तारित बैठकमा भने सहभागिता जनाउने विप्लव समूहले निर्णय गरेको छ ।

‘विस्तारित बैठकमा भने सहभागी हुन सक्छौं, विप्लव समूहका केन्द्रीय सदस्यले भने, ‘तर मंसिर ६ मा गर्ने भनिएको बैठक अगाडि सार्नुपर्छ भन्ने हाम्रो माग छ ।’

कारवाही नगरुञ्जेल पार्टी नफुटाउने

यसैवीच कपिलवस्तु भेलाले पार्टी फुटाएको आरोपबाट बच्नका लागि कारवाही नहुञ्जेल पार्टीभित्रै बसेर छापामार संघर्ष अघि बढाउने निर्णय गरेको छ ।

‘हामी आफ्नो बाटो हिँड्छौं, तर, पार्टी फुटाएको घोषणा गर्दैनौं,’ कपिलवस्तु भेलाको निश्कर्ष सुनाउँदै एक नेताले भने-‘पार्टीबाट हामीमाथि कारवाही गरिएछ भने त्यतिबेला अलग्ग्ै किसिमले सोचिने छ, अन्यथा पार्टीमै रहेर हामी आफ्ना गतिविधि सञ्चालन गर्छौं ।’

कपिलबस्तुको शिवगढी जंगलमा ‘केन्द्रीय अन्तरक्रियात्मक कार्यक्रम’ नाममा भएको भेलामा विप्लवले पार्टीको केन्द्रीय समितिले अस्वीकार गरेको प्रतिवेदनसहित दुई बटा दस्तावेज पेश गरेका थिए ।

नेतृत्व लिन तयार

भेलाले संसदीय प्रणालीबाट जनवादी सत्ता स्थापना असम्भव भएको भन्दै जनविद्रोहको विकल्प नभएको निष्कर्ष निकालेको छ । एक नेताले भने-‘यसबारे पार्टीमा एक पटक छलफल चलाउँछौं । त्यो सुरुवाइ भएन भने आफ्नो ढंगले अघि बढ्छौं ।’

सुरुमा प्रचारात्मक आन्दोलन गर्ने र विद्रोहमा जाने विप्लवको तयारी छ । भेलाअघि नै विप्लपले आन्दोलनको सुरुवात भ्रष्टाचारीहरुलाई कारबाही गरेर सुरु गर्ने बताएका थिए ।

माओवादी आन्दोलन संकटमा पारेको भन्दै विप्लवले उपलब्धि रक्षाका लागि नेतृत्व लिन तयार रहेको समेत बताएका छन् ।
भेलापछि विप्लवले शुक्रबार आफू पक्षीय सल्लाहकारहरुसँग छलफल गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?