१० मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको पानी बाहिरिने मुख्य प्राकृतिक निकास मार्ग हो चोभार गल्छी, जहाँबाट बागमती नदी साँघुरो पहाडी चिरा हुँदै उपत्यकाबाहिर बग्छ । यो ठाउँ पौराणिक कथा र भूगर्भशास्त्र दुवै हिसाबले विशेष मानिन्छ ।
प्राकृतिक सौन्दर्यसँगै चोभार मञ्जुश्रीसँग जोडिएको किंवदन्ती पनि छ । मञ्जुश्रीले आफ्नो खड्गले चोभारको डाँडा काटेर गल्छी खोलेपछि तालको पानी बाहिरिएको र उपत्यकामा मानव बस्ती बस्न योग्य भूमि बनेको विश्वास गरिन्छ ।
उपत्यकाभित्र बग्ने नदीहरूको पानी एकीकृत भई बाहिरिने यो ठाउँमा चराचुङ्गी पनि आफ्नै पारामा रम्ने गरेको देख्न सकिन्छ । बागमती नदीमा आहारा खोज्दै आफ्नै शैलीमा रम्ने उनीहरूको त्यो पारा निकै रोमाञ्चक देखिन्छ । सेता बकुल्ला र खुला आकाशमा पखेटा फैलाएर उडिरहेका बाज तथा चीलले चोभार गल्छीको प्राकृतिक सुन्दरतामा थप रौनक थपिदिन्छ ।
सेता बकुल्लाहरू बडेमानको चट्टानमा शान्त भएर उभिएका देख्न सकिन्छ भने कतै झुन्डमा बसेका त कतै एकाएक पखेटा फैलाएर आकाशतिर उडिरहेका दृश्य अझ मनमोहक देखिन्छ । हरियाली पृष्ठभूमिमा सेता पखेटा फैलाएर उड्ने बकुल्लाहरूले प्रकृतिको सुन्दर चित्र प्रस्तुत गर्छन् ।
त्यस्तै, आकाशमा मन्द गतिमा चक्कर लगाइरहेका बाज तथा चीलले यहाँको वातावरणलाई थप आकर्षक बनाउँछ । बागमती नदीको कलकल आवाज, चराहरूको उडान, चिसो हावा र वरिपरिको शान्त वातावरणले यहाँ पुग्ने जो कोहीलाई केही क्षण भए पनि प्रकृतिसँग रमाउने अवसर प्रदान गर्छ ।

प्रतिक्रिया 4