१० मंसिर, काठमाडौं । आमाको दूध प्रत्येक शिशुका लागि प्रकृतिको सबैभन्दा पोषिलो आहार मानिन्छ । तर सबै आमाको दूधमा पोषक तत्वको मात्रा समान हुन्छ भन्ने छैन ।
नौ देशका ३०५ आमाको दूधको नमूना विश्लेषण गरिएको नयाँ अध्ययनले दूधमा रहेको ऊर्जा, बोसो, ओमेगा–३ फ्याटी एसिड तथा मस्तिष्कको विकाससँग सम्बन्धित केही जैविक तत्वको मात्रा फरक–फरक देखाएको छ ।
स्विट्जरल्यान्डको लोजानस्थित नेस्ले रिसर्चका वैज्ञानिक र नेदरल्यान्ड्सको युनिभर्सिटी मेडिकल सेन्टर ग्रोनिङ्गेनका शोधकर्ताको सहकार्यमा गरिएको अध्ययनका निष्कर्ष वैज्ञानिक जर्नल साइन्टिफिक रिपोर्ट्स्मा प्रकाशित भएका छन् ।
३०५ आमाको दूधको विश्लेषण
शोधकर्ताले फ्रान्स, इटाली, नर्वे, पोर्चुगल, रोमानिया, स्पेन, स्विडेन, फिलिपिन्स र सिंगापुरका आमा तथा शिशुसँग सम्बन्धित तीन अध्ययनका तथ्यांक विश्लेषण गरेका थिए ।
अध्ययनमा सुरुमा ४५० आमा–शिशु जोडी सहभागी थिए । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को वृद्धि मापदण्डका आधारमा सामान्य रूपमा वृद्धि भइरहेका ३६४ शिशु पहिचान गरिएको थियो । तीमध्ये ३०५ आमाको परिपक्व दूधको नमूना उपलब्ध भएपछि विश्लेषण गरिएको हो ।
शोधकर्ताले शिशु जन्मेको २१ दिनपछि संकलन गरिएको दूधमा ऊर्जा, प्रोटिन, बोसो, ल्याक्टोज, फ्याटी एसिड र ग्याङ्ग्लियोसाइडको मात्रा मापन गरेका थिए ।
नर्वेमा दूधको ऊर्जा र बोसो बढी
अध्ययनअनुसार आमाको दूधमा औसत १०० मिलिलिटरमा ७१.२४ किलो क्यालोरी ऊर्जा पाइएको थियो । तर देशअनुसार यसको मात्रा फरक थियो ।
नर्वेका आमाको दूधमा १०० मिलिलिटरमा ८३.०५ किलो क्यालोरी ऊर्जा पाइएको थियो, जुन अध्ययनमा सहभागी देशमध्ये सबैभन्दा बढी हो ।
इटालीमा भने ५८.७० किलो क्यालोरी मात्रै पाइएको थियो ।
बोसोको मात्रा पनि देशअनुसार फरक देखियो । दूधमा औसत १०० मिलिलिटरमा ४.२१ ग्राम बोसो पाइएकोमा नर्वेमा ५.२९ ग्राम र इटालीमा २.८५ ग्राम थियो ।
यद्यपि नर्वेको तथ्यांक नौ आमामा आधारित भएकाले त्यसलाई त्यहाँका सबै आमाको दूधको अवस्था भनेर निष्कर्ष निकाल्न नमिल्ने शोधकर्ताले औंल्याएका छन् ।
दूधमा प्रोटिनको औसत मात्रा १.२६ ग्राम र ल्याक्टोजको मात्रा ७.१८ ग्राम प्रति १०० मिलिलिटर थियो । यी पोषक तत्वमा भने देशअनुसार तुलनात्मक रूपमा कम अन्तर देखिएको थियो ।
फिलिपिन्समा स्याचुरेटेड फ्याट बढी, नर्वेमा ओमेगा–३
अध्ययनमा दूधमा पाइने फ्याटी एसिडको संरचनामा पनि उल्लेखनीय अन्तर देखिएको छ । कुल फ्याटी एसिडमध्ये करिब ४२ प्रतिशत स्याचुरेटेड, ४१ प्रतिशत मोनोअनस्याचुरेटेड र १६ प्रतिशत पोलिअनस्याचुरेटेड फ्याटी एसिड रहेको थियो ।
फिलिपिन्सका आमाको दूधमा स्याचुरेटेड फ्याटी एसिडको अनुपात सबैभन्दा बढी करिब ५२ प्रतिशत थियो । स्पेनमा भने यो अनुपात करिब ३८ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।
ओमेगा–३ फ्याटी एसिडको अनुपात नर्वेमा सबैभन्दा बढी २.४९ प्रतिशत थियो । फिलिपिन्समा भने ०.४१ प्रतिशत मात्रै रहेको पाइएको छ । रोमानियामा पोलिअनस्याचुरेटेड फ्याटी एसिडको अनुपात सबैभन्दा बढी २२ प्रतिशत थियो ।
शोधकर्ताले डीएचए र ईपीए जस्ता महत्वपूर्ण ओमेगा–३ फ्याटी एसिडको मात्रा पनि मापन गरेका थिए । अध्ययनमा डीएचएको औसत अनुपात ०.३८ प्रतिशत र ईपीएको ०.०९ प्रतिशत रहेको पाइएको छ । यी तत्व शिशुको मस्तिष्क तथा स्नायु प्रणालीको विकाससँग सम्बन्धित पोषण अनुसन्धानमा महत्वपूर्ण मानिन्छन् ।
मस्तिष्क विकाससँग सम्बन्धित तत्वमा पनि भिन्नता
आमाको दूधमा पाइने जीएम३ र जीडी३ नामका दुई प्रमुख ग्याङ्ग्लियोसाइडको मात्रा पनि अध्ययन गरिएको थियो । यी जटिल बोसोसँग सम्बन्धित जैविक तत्व हुन्, जसको भूमिका शिशुको मस्तिष्क र स्नायु प्रणालीको विकासमा महत्वपूर्ण हुन सक्ने विषयमा अनुसन्धान भइरहेको छ ।
अध्ययनमा दूधमा जीएम३ को औसत मात्रा ०.८८ मिलिग्राम र जीडी३ को ०.२४ मिलिग्राम प्रति १०० मिलिलिटर पाइएको थियो ।
जीएम३ को मात्रा स्पेनका आमाको दूधमा सबैभन्दा बढी देखिएको थियो । तर यससम्बन्धी तथ्यांक केवल पाँच आमा–शिशु जोडीमा आधारित थियो ।
नेपाली आमाका दूधमा पनि भएका छन् अध्ययन
आमाको दूधमा पाइने पोषक तत्वको संरचनाबारे नेपालमा पनि वैज्ञानिक अध्ययन भएका छन् । सन् १९९९ मा प्रकाशित एक अध्ययनमा ग्रामीण नेपालका ४८ आमाको प्रसव भएको दुईदेखि चार हप्तापछिको दूधको नमूना विश्लेषण गरिएको थियो ।
अध्ययनमा दूधमा पाइने विभिन्न फ्याटी एसिडको संरचना मापन गरिएको थियो ।
अनुसन्धानमा लिनोलिक एसिड, अल्फा लिनोलेनिक एसिड, एराकिडोनिक एसिड र डीएचएजस्ता महत्वपूर्ण फ्याटी एसिडको मात्रा विश्लेषण गरिएको थियो ।
“Fatty acid composition of the milk lipids of women in Nepal” शीर्षकको उक्त अध्ययन न्युट्रेसन रिसर्च जर्नलको सन् १९९९ को अंकमा प्रकाशित भएको थियो ।
सो अध्ययनमा दूधको बोसोमा लिनोलिक एसिडको अनुपात ७.९१ प्रतिशत र अल्फा लिनोलेनिक एसिडको अनुपात १.९३ प्रतिशत पाइएको थियो । त्यस्तै, एराकिडोनिक एसिड ०.३५ प्रतिशत र डीएचए ०.२१ प्रतिशत रहेको उल्लेख गरिएको थियो ।
यी फ्याटी एसिड शिशुको वृद्धि र विकासका लागि महत्वपूर्ण मानिन्छन् । लिनोलिक एसिड ओमेगा–६ समूहको आवश्यक फ्याटी एसिड हो, जसले शरीरका कोषको संरचना, छालाको स्वास्थ्य तथा सामान्य वृद्धि र विकासमा भूमिका खेल्छ ।
अल्फा लिनोलेनिक एसिड ओमेगा–३ समूहको आवश्यक फ्याटी एसिड हो । शरीरले यसलाई केही मात्रामा ईपीए र डीएचएजस्ता अन्य ओमेगा–३ फ्याटी एसिडमा रूपान्तरण गर्न सक्छ । यी तत्व कोषको संरचना र विभिन्न जैविक प्रक्रियाका लागि महत्वपूर्ण हुन्छन् ।
एराकिडोनिक एसिड पनि कोषको झिल्ली निर्माण, वृद्धि र विभिन्न जैविक संकेत प्रक्रियामा भूमिका खेल्छ । डीएचए भने मस्तिष्क र आँखाको रेटिनामा महत्वपूर्ण संरचनात्मक फ्याटी एसिड हो । शिशुको मस्तिष्क, दृष्टि र स्नायु प्रणालीको विकाससँग यसको सम्बन्धका कारण स्तनपानसम्बन्धी पोषण अनुसन्धानमा डीएचएलाई विशेष महत्व दिइन्छ ।
सन् १९८३ मा पनि काठमाडौं उपत्यकाका ६ गाउँका स्तनपान गराइरहेका २६ महिलाको पोषण अवस्थाबारे पनि अध्ययन गरिएको थियो । सन् १९८६ मा प्रकाशित उक्त अनुसन्धानमा आमाको खानपान, रगत, पिसाब र दूधको नमूना विश्लेषण गरिएको थियो ।
अनुसन्धानमा क्याल्सियम, सेलेनियम र भिटामिन बी–६ लगायतका पोषक तत्वको मात्रा तथा आमाको पोषण अवस्थाबारे अध्ययन गरिएको थियो ।
सन् २०१६ मा प्रकाशित अर्को अध्ययनमा नेपालका चुमनुब्री उपत्यका र काठमाडौंमा बसोबास गर्ने ८२ तिब्बतीयन मूलका महिलाको दूधमा बोसो, प्रोटिन, चिनी र ऊर्जा मापन गरिएको थियो ।
उक्त अध्ययनमा दूधमा औसत ५.२ ग्राम बोसो, १.२६ ग्राम प्रोटिन र ७.३७ ग्राम चिनी प्रति १०० मिलिलिटर पाइएको थियो । दूधको औसत ऊर्जा ८१.४ किलो क्यालोरी प्रति १०० मिलिलिटर रहेको अध्ययनले देखाएको थियो ।
अनुसन्धानमा दूधमा बोसोको मात्रा शिशुको उमेर र आमाको शरीरमा रहेको बोसोको अवस्थासँग सम्बन्धित देखिएको थियो । तर बसोबासको उचाइ र दूधको पोषण संरचनाबीच स्पष्ट सम्बन्ध भने भेटिएको थिएन । अध्ययनले उच्च हिमाली क्षेत्रका तिब्बती महिलाको दूधमा तुलनात्मक रूपमा बढी ऊर्जा हुन सक्ने देखाए पनि त्यसलाई सबै नेपाली आमाको दूधको विशेषता मान्न मिल्दैन ।
देशअनुसार पोषणको आवश्यकता फरक हुन्छ ?
विश्व स्वास्थ्य संगठनले शिशुलाई जन्मेको पहिलो ६ महिनासम्म पूर्ण स्तनपान गराउन सिफारिस गरेको छ । आमाको दूधमा पोषक तत्वसँगै शिशुको वृद्धि, विकास र संक्रमणबाट बचाउन भूमिका खेल्ने विभिन्न जैविक तत्व पनि हुन्छन् ।
नौ देशमा गरिएको अध्ययनले आमाको दूधको संरचनामा विश्वव्यापी रूपमा हुने भिन्नताबारे महत्वपूर्ण तथ्यांक उपलब्ध गराएको छ । तर दूधमा बढी बोसो, डीएचए वा ग्याङ्ग्लियोसाइड हुने देशका शिशुको विकास राम्रो हुन्छ भन्ने निष्कर्ष भने यसले निकालेको छैन ।
आमाको खानपान, दूध उत्पादनको मात्रा र प्रसवको तरिका लगायतका पक्षको प्रभाव अध्ययनमा पूर्ण रूपमा विश्लेषण गर्न सकिएको छैन । त्यस्तै, अफ्रिका, अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डका आमाहरू अध्ययनमा समावेश थिएनन् ।
अध्ययनले आमाको दूध केवल पोषणको स्रोत नभई जटिल जैविक संरचना भएको प्राकृतिक आहार रहेको देखाएको छ । तर यसको संरचनामा देखिने देशगत भिन्नताले शिशुको स्वास्थ्य र विकासमा कस्तो प्रभाव पार्छ भन्ने बुझ्न थप अनुसन्धान आवश्यक रहेको शोधकर्ताहरूको निष्कर्ष छ ।
प्रतिक्रिया 4