साथी फेर्न सकिन्छ, तर छिमेकी फेर्न सकिँदैन भन्ने नेपाली उखान धेरै पटक सुनियो । बाल्यकालमा यो उखान सुन्दा त्यति विश्वास लाग्दैनथ्यो । साथी र छिमेकी दुवै त मानिस नै हुन्, आवश्यक परे दुवैसँग दूरी बनाउन सकिन्छ भन्ने लाग्थ्यो । तर समय, अनुभव र परिस्थितिले विस्तारै यस उखानको भित्री अर्थ बुझाउँदै लग्यो । आज आएर महसुस हुँदै छ, साथी रोज्न र बदल्न सकिएला, तर भौगोलिक रूपमा जोडिएको छिमेकीलाई आफ्नो इच्छाअनुसार बदल्न सकिँदैन । त्यसैले आज साथीभन्दा छिमेकीको चर्चा गर्ने जमर्को गरेको छु ।
केही समयअघिको कुरा हो । एक छिमेकीले आफ्नो घर अवलोकन गर्न निम्तो दिनुभयो । उहाँको निम्तो र सम्मानलाई स्वीकार गर्दै म पनि पुगेँ । उहाँले गेटदेखि छतसम्म पुर्याउनुभयो । घरका प्रत्येक कोठा घुमाउँदै त्यहाँ प्रयोग गरिएका सामग्री, डिजाइन र विशेषताबारे विस्तारपूर्वक जानकारी दिनुभयो । आफ्नो सामाजिक हैसियत, परिचय र पहुँचबारे पनि बताउनुभयो । चिया–खाजाको राम्रो व्यवस्था थियो । सत्कारमा कुनै कमी थिएन ।
फर्किने बेलामा एउटा कोसेलीको पोको दिँदै भन्नुभयो, ‘हाम्रो चलन यस्तै छ ।’ त्यसपछि खुसुक्क थप्नुभयो, ‘केही समस्या परे हामी छौँ, तर हामीले भनेको चाहिँ मान्नुपर्छ ।’
उहाँको त्यो अन्तिम वाक्यले भने मनमा अनेकौँ कुरा खेलायो । आतिथ्य, आत्मीयता र सहयोगको आवरणभित्र अपेक्षा र सर्त पनि लुकेको रहेछ भन्ने महसुस भयो । सहयोग गर्नु राम्रो कुरा हो, तर सहयोगसँगै आफ्नो कुरा मान्नुपर्ने सर्त जोडिन्छ भने त्यसलाई निःस्वार्थ सहयोग कसरी भन्ने? सम्बन्ध विश्वासमा टिक्नुपर्ने हो कि प्रभाव र दबाबमा?
यही घटनाले समाज र राष्ट्रबीचको सम्बन्धबारे सोच्न बाध्य बनायो । समाजमै ठूला, मझौला र साना छिमेकीको वर्गीकरण रहेछ भने शक्तिशाली र कमजोर राष्ट्रबीच असमान व्यवहार किन नहोस् त ? आखिर देश आफैँ चल्दैन, चलाउने त मानिसले नै हो । अनि मानिस पनि समाजकै उपज न हुन् । व्यक्तिको सोच, व्यवहार र संस्कारको प्रतिबिम्ब नै समाज र राष्ट्रको व्यवहारमा देखिने होइन र ?
यही प्रसङ्गमा बाल्यकालको एउटा घटना झलझली सम्झनामा आइरहेको छ । छिमेकीप्रतिको मेरो बुवाको व्यवहार र कूटनीतिक सोच आज पनि उत्तिकै सान्दर्भिक लाग्छ ।
प्रायः गाउँघरमा छिमेकीका करेसाबारी जोडिएका हुन्थे । जग्गा छुट्याउन बार लगाइएको हुन्थ्यो । कहिलेकाहीँ चौपाया आएर बारमा लगाइएको बाली खाइदिएपछि विवाद र झैझगडा सुरु हुन्थ्यो । कसको जग्गा कता पर्छ, कसको बाली कसले खायो भन्ने विषयले छिमेकीबीच मनमुटावसमेत उत्पन्न हुन्थ्यो । चौपायालाई कसको जग्गाको पुर्जा कहाँ छ भन्ने के थाहा!
यस्तै समस्याबाट आजित भएपछि बुवाले आमालाई सम्झाउँदै भन्नुभएको थियो, ‘अब त्यो ठाउँमा अदुवा र कर्कलो लगाउने हो भने झगडा नै हुँदैन । चौपायाले पनि खाँदैनन्, समस्या पनि रहँदैन ।’
बुवाको त्यो सानो उपायले ठूलो समस्या समाधान भएको सम्झना अझै ताजै छ । उहाँको व्यवहारमा एउटा चलाखी लुकेको थियो । छिमेकीसँग विवाद बढाउनुभन्दा विवाद जन्मिने कारण नै हटाउनु बुद्धिमानी हो । उहाँ भन्नुहुन्थ्यो, ‘पहिलो नजर छिमेकीमा हुनुपर्छ ।’
आज सोच्दा लाग्छ, बुवाको त्यो सामान्य कृषि उपायभित्र पनि एउटा परिपक्व कूटनीतिक दर्शन लुकेको रहेछ । विवाद भएपछि नाफाघाटको हिसाब गर्नुभन्दा विवाद नै नहुने वातावरण बनाउनु ठिक हो । सम्बन्ध बिग्रिएपछि सुधार्नुभन्दा बिग्रन नदिनु अझ बुद्धिमानी हुन्छ ।
वास्तवमा छिमेकी भनेको हाम्रो सुख, दुःख, सुरक्षा र सामाजिक जीवनसँग प्रत्यक्ष जोडिएको सम्बन्ध हो । आपत् पर्दा सबैभन्दा पहिले खबर पाउने र सहयोगका लागि आइपुग्ने व्यक्ति प्रायः छिमेकी नै हुन्छ । कहिलेकाहीँ आफ्ना आफन्त टाढा हुन सक्छन्, साथीभाइ व्यस्त हुन सक्छन्, तर छिमेकी भने हाम्रो वरिपरि नै हुन्छन् । त्यसैले छिमेकीसँगको सम्बन्धमा आत्मीयता, विश्वास र पारस्परिक सम्मान हुनुपर्छ ।
छिमेकीबीच विवादका विषय धेरैजसो प्राकृतिक स्रोत र साझा सम्पत्तिसँग जोडिएका हुन्छन् । जल, जमिन, जंगल, खनिज, तेल, हवाई क्षेत्र र सीमाजस्ता विषयमा स्वार्थ बाझिँदा विवाद उत्पन्न हुने हो । यस्ता विषयमा आफ्नो अधिकार र राष्ट्रिय हितको संरक्षण गर्नु प्रत्येक राष्ट्रको दायित्व हो । तर त्यसो गर्दा संवाद र सहकार्य टुट्नु हुँदैन ।
छिमेकी राष्ट्रहरूबीच भूगोलले सम्बन्ध जोडेको हुन्छ भने इतिहास, संस्कृति, व्यापार, भाषा र जनस्तरको आवतजावतले त्यसलाई अझ गहिरो बनाएको हुन्छ । त्यसैले एउटा देशमा हुने राजनीतिक, आर्थिक वा सामाजिक परिवर्तनले अर्को देशलाई पनि कुनै न कुनै रूपमा प्रभाव पार्छ नै । यस्तो अवस्थामा एकअर्काको संवेदनशीलता बुझ्नु र राष्ट्रिय स्वाभिमानको सम्मान गर्नु दुवै पक्षका लागि उत्तिकै आवश्यक हुन्छ ।
सहयोगको नाममा सर्त थोपर्ने, आफ्नो प्रभाव विस्तार गर्न खोज्ने वा अर्को पक्षको स्वाधीनता र स्वाभिमानलाई बेवास्ता गर्ने प्रवृत्तिले अस्थायी लाभ त देला, तर दीर्घकालीन सम्बन्धमा अविश्वास पैदा गर्न सक्छ । यति भन्दै गर्दा एउटा यथार्थ भुल्नु हुँदैन- सुखमा भन्दा दुःखमा छिमेकी चाहिन्छ ।
आजको विश्व एकअर्कामा निर्भर छ । व्यापार, पर्यटन, यातायात, ऊर्जा, प्रविधि र सुरक्षाजस्ता विषयमा कुनै पनि राष्ट्र एक्लै अघि बढ्न सक्दैन । मेरो बुझाइमा छिमेकीलाई पहिलो प्राथमिकता दिनु भनेको छिमेकीको हरेक कुरा स्वीकार गर्नु होइन । छिमेकीको अस्तित्व, संवेदनशीलता र अधिकारलाई सम्मान गर्दै आफ्ना हित र सरोकार पनि स्पष्ट रूपमा राख्नुपर्छ । असहमति हुँदा संवाद गर्नु, समस्या पर्दा सहयोग गर्नु र साझा हितका विषयमा सहकार्य गर्नु नै असल छिमेक सम्बन्धको आधार हो ।
मेरो बुवाले करेसाबारीमा अदुवा र कर्कलो लगाएझैँ हामीले पनि राष्ट्रिय जीवनमा विवादको जडलाई मिल्काएर छिमेकीसँग सम्बन्ध राम्रो बनाउनु उचित हुन्छ । हामीले पनि व्यक्तिगत जीवनदेखि सामाजिक सम्बन्ध र राष्ट्रिय कूटनीतिसम्म छिमेकीलाई पहिलो प्राथमिकता दिऔँ ।
प्रतिक्रिया 4