+
+
Shares

न्युयोर्कका मेयर ममदानीको घरभाडा नबढाउने निर्णय अदालतद्वारा सदर

२० लाखभन्दा बढी बासिन्दालाई राहत

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते ११:३२

१० मंसिर, काठमाडौं । अमेरिकाको न्युयोर्क स्टेट सुप्रिम कोर्टले न्युयोर्क सहरका मेयर जोहरान ममदानीको घरभाडा नबढाउने निर्णयलाई सदर गरेको छ। अदालतले सहरका करिब आधा भाडाका आवास इकाइमा लागू हुने उक्त निर्णयविरुद्ध घरधनीहरूको समूहले दायर गरेको निवेदन बुधबार खारेज गरिदिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

सस्तो र सुलभ आवासको प्रतिबद्धतासहित चुनावी अभियान चलाएका मेयर ममदानीले अदालतको फैसलालाई स्वागत गरेका छन्। उनले यसलाई ‘भाडामा बस्नेहरू, सुलभ आवास र कामकाजी न्युयोर्कवासीले आफूले धान्न सक्ने सहरमा बस्न पाउनुपर्छ भन्ने सिद्धान्तको जित’ भएको टिप्पणी गरेका छन्।

सहरका कुल २३ लाख भाडाका इकाइमध्ये १० लाख इकाइ ओगट्ने भाडा नियन्त्रित अपार्टमेन्टहरूको भाडा नबढाउने निर्णय रेन्ट गाइडलाइन्स बोर्डले गरेको थियो। घरधनीहरूले उक्त बोर्डमा ममदानीप्रति वफादार व्यक्तिहरूको प्रभाव रहेकाले निर्णय स्वतन्त्र नभएको तर्क गर्दै उजुरीमा यसलाई देखावटी प्रक्रियाको संज्ञा दिएका थिए।

तर, न्यायाधीश ब्रेन्डन ल्यान्ट्रीले भाडा नबढाउने निर्णय अनुचित वा स्वेच्छाचारी रहेको प्रमाणित गर्न घरधनीहरू असफल भएको ठहर गरे। साथै, आफ्नो एजेन्डासँग सहमत व्यक्तिहरूलाई रेन्ट गाइडलाइन्स बोर्डमा नियुक्त गर्ने पूर्ण अधिकार मेयर ममदानीसँग रहेको फैसलामा उल्लेख छ।

‘निर्वाचनका परिणामहरू हुन्छन्, जुन हाम्रो लोकतन्त्रको मेरुदण्ड हो,’ अदालतको फैसलामा भनिएको छ, ‘स्वघोषित प्रजातान्त्रिक समाजवादी मेयर ममदानी सन् २०२५ को आम निर्वाचनबाट न्युयोर्क सहरको मेयरमा निर्वाचित भएका हुन्।

निर्वाचित भएपछि उनले आफ्नो छनोटअनुसार बोर्डका सदस्यहरू नियुक्त गरे, जसको पूर्ण अधिकार उनलाई थियो। बोर्डका सदस्यहरूले उनको राजनीतिक विचार र दर्शनसँग मेल खाने दृष्टिकोण राख्नु कुनै सरोकारको विषय होइन र यसले कुनै किसिमको मिलेमतोलाई सङ्केत गर्दैन।‘

भाडा नबढाउने यो निर्णय सन् २०२६ अक्टोबर १ देखि अर्को वर्षको सेप्टेम्बर ३० सम्म नवीकरण हुने भाडा निश्चित गरिएका अपार्टमेन्टका एकवर्षे र दुईवर्षे भाडा सम्झौतामा लागू हुनेछ।

मेयर ममदानीले अदालतको यो फैसलाले २० लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष लाभ पुर्‍याउने बताएका छन्। एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘आवास विलासिता होइन, यो आधारभूत आवश्यकता हो। यस बिदाको सप्ताहान्तमा २० लाखभन्दा बढी न्युयोर्कवासीले अलिकति राहतको सास फेर्न पाउनेछन्।‘

(रोयटर्सको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?