१० मंसिर, बुटवल । शहरको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेका बेला बुटवलमा शौचालयबाट निस्कने फोहोर प्रशोधन गरी प्रांगारिक मल उत्पादन थालिएको छ ।
व्यवस्थापन गर्न कठिन र जोखिमपूर्ण मानिने दिसा–पिसाबजन्य फोहोरलाई बुटवल सेनिटरी प्रालिअन्तर्गत नेपाल बायो कम्पोस्टले उपयोगी कृषि सामग्रीमा रूपान्तरण गर्न थालेको हो ।
कम्पनीले घरघरका शौचालयबाट संकलन हुने दिसा–पिसाबजन्य फोहोरमा गाईवस्तुको गोबर, झारपात, पिनालगायत पदार्थ मिसाएर प्रशोधन गरी मासिक करिब १० मेट्रिक टन कम्पोस्ट मल उत्पादन गर्दै आएको छ ।
दैनिक करिब ३२ हजार लिटर दिसा–पिसाबजन्य फोहोर संकलन तथा व्यवस्थापन गर्दै आएको कम्पनीले फोहोरलाई समस्याका रूपमा मात्रै नभई उपयोगी स्रोतका रूपमा समेत प्रयोग गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ ।
‘शौचालयजन्य फोहोरको सुरक्षित व्यवस्थापन आफैंमा ठूलो चुनौती हो । तर यही चुनौतीलाई अवसरमा बदल्दै निजी क्षेत्रले करोडौं रुपैयाँ लगानी गरेर फोहोर प्रशोधन र प्रांगारिक मल उत्पादनको काम गरिरहेको छ,’ कम्पनीका नेतृत्वकर्ता यमबहादुर थापाले भने, ‘यसले एकातिर शहरी सरसफाइ र वातावरण संरक्षणमा योगदान पुर्याएको छ भने अर्कोतिर प्रांगारिक कृषि उत्पादनका लागि आवश्यक मल उपलब्ध गराउने कामसमेत भएको छ ।’

पाँच व्यवसायीको तीन करोड बढी लगानी
नेपाल बायो कम्पोस्टको नेतृत्व यमबहादुर थापाले गरेका छन् । सेनिटरी व्यवसाय गर्दै आएका थापाले कृष्णप्रसाद पन्थी, शान्ति बलाल मगर, राजकुमार श्रेष्ठ र अशोक नेपालीलाई साझेदार बनाएर यो परियोजना सञ्चालन गरेका हुन् ।
सेनिटरी व्यवसायबाट आर्जित आम्दानीलाई फोहोर प्रशोधन तथा व्यवस्थापनको पूर्वाधार निर्माणमा लगानी गरेर उनीहरूले नयाँ उद्यम सुरु गरेका हुन् ।
सञ्चालक अशोक नेपालीका अनुसार सेनिटरी व्यवसायबाट प्रत्येक महिना पाँचै जना साझेदारले औसत ७५ हजार रुपैयाँका दरले आम्दानी गर्दै आएका थिए । तर त्यसबाट प्राप्त आम्दानी व्यक्तिगत उपभोगमा खर्च गर्नुको सट्टा फोहोर प्रशोधन केन्द्र निर्माणमा लगानी गरिएको उनले बताए ।
राज्यले गर्नुपर्ने फोहोर व्यवस्थापनको काम आफूहरूले निजी क्षेत्रबाट गरिरहेको भए पनि आवश्यक संरक्षण र प्रोत्साहन नपाएको नेपालीको गुनासो छ । वर्षौंको मिहिनेत र आम्दानीबाट तीन करोड रुपैयाँभन्दा बढी लगानी गरेर प्रशोधन केन्द्र निर्माण गरिएको उनले बताए ।
‘राज्यले गर्नुपर्ने फोहोर व्यवस्थापनको काम हामीले निजी क्षेत्रबाट गरिरहेका छौँ । तर यस्तो काम गर्ने लगानीकर्तालाई प्रोत्साहन गर्नुको सट्टा कतिपय पक्षबाट निरुत्साहित गर्ने प्रवृत्ति देखिएको छ,’ नेपालीले भने, ‘वर्षौंको आम्दानीबाट तीन करोड बढी लगानी गरेका छौँ । हाम्रो लगानीको संरक्षण र परियोजना दिगो सञ्चालनको सुनिश्चितता राज्यले गर्नुपर्छ ।’
उनका अनुसार फोहोर प्रशोधनका लागि कम्पनीले जमिनमुनि एक लाख लिटर क्षमताको प्रशोधन ट्यांकी निर्माण गरेको छ । ठूलो परिमाणमा दिसाजन्य फोहोर संकलन, प्रशोधन र व्यवस्थापन गर्न आवश्यक पूर्वाधार निर्माणमा कम्पनीले उल्लेख्य लगानी गरेको छ ।

दिसा–पिसाबजन्य फोहोर प्रशोधनको अध्ययन केन्द्र
शौचालयजन्य फोहोर प्रशोधन गरेर प्रांगारिक मल उत्पादन गर्ने यो केन्द्र अहिले देशका विभिन्न स्थानीय तहका लागि अध्ययन र सिकाइको केन्द्रसमेत बन्दै गएको छ । कम्पनीका अध्यक्ष यमबहादुर थापाका अनुसार देशका विभिन्न प्रदेशका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सम्बन्धित क्षेत्रका सरकारी अधिकारीहरू प्रशोधन प्रविधि र यसको व्यवस्थापनबारे अध्ययन गर्न केन्द्रमा आउने गरेका छन् ।
हरेक महिनाजसो विभिन्न पालिकाका जनप्रतिनिधि र सरकारी अधिकारीहरू प्रशोधन केन्द्रको अवलोकन तथा अध्ययनका लागि आउने गरेको थापाले बताए । उनका अनुसार शौचालयजन्य फोहोरलाई सुरक्षित रूपमा प्रशोधन गरेर प्रांगारिक मल उत्पादन गर्न सकिने र त्यसबाट आम्दानीसमेत लिन सकिने अभ्यासले अन्य स्थानीय तहलाई पनि आकर्षित गरेको छ ।
‘शौचालयजन्य फोहोर व्यवस्थापन स्थानीय सरकारका लागि सधैं टाउको दुखाइको विषय बन्दै आएको छ । तर यसलाई प्रशोधन गरेर प्रांगारिक मल उत्पादन गर्नुका साथै आम्दानीको स्रोतसमेत बनाउन सकिन्छ भन्ने हामीले व्यवहारमै देखाएका छौं,’ थापाले भने, ‘स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने फोहोर निजी कम्पनीले संकलन र प्रशोधन गरिदिँदा उनीहरूको ठूलो समस्या समाधान भएको छ । यही अभ्यास सिक्न विभिन्न पालिकाका जनप्रतिनिधि र सरकारी अधिकारीहरू आउने गर्नुभएको छ ।’
उनका अनुसार यो केन्द्रको अभ्यासलाई अन्य स्थानीय तहमा पनि विस्तार गर्न सके शौचालयजन्य फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न सहज हुनेछ । फोहोरलाई खर्च र समस्याको विषयका रूपमा मात्र नहेरी त्यसबाट उपयोगी उत्पादन र आम्दानी लिन सकिने सम्भावना पनि यसले देखाएको छ ।

यस्तो छ प्रांगारिक मल उत्पादनको प्रक्रिया
कम्पनीले घरघरका शौचालयबाट संकलन गरेको फोहोरलाई गाईवस्तुको गोबरसँग मिसाएर प्रशोधन गर्ने गरेको छ । मेसिनको सहायताले फोहोरबाट डस्ट निकालिन्छ । त्यसमा वनमारा (झारपात), पिना, हड्डीको धुलो, निम तथा सुर्तीको धुलो र ब्याक्टेरियाको विकासमा सहयोग गर्ने ईएम मिसाइन्छ ।
त्यसपछि करिब ४५ दिनसम्म कुहाउने तथा प्रशोधन गर्ने प्रक्रिया अपनाइन्छ । यसरी तयार भएको मललाई सुनवलस्थित प्रयोगशालामा परीक्षण गरेपछि प्याकेजिङ गरी बजारमा पठाउने गरिएको छ ।
नेपाल बायो कम्पोस्टका अध्यक्ष थापाका अनुसार कम्पनीले पछिल्लो एक वर्षदेखि मासिक करिब १० टन प्रांगारिक मल उत्पादन गर्दै आएको छ । उत्पादित मल एक, पाँच र २५ किलोका प्याकेटमा बजारमा बिक्री भइरहेको छ ।
दिसाजन्य फोहोर र गोबरलाई प्रशोधन गरेर तयार गरिएको मल कृषि प्रयोजनमा उपयोग हुँदै आएको छ । यसले रासायनिक मलमाथिको निर्भरता घटाउन र प्रांगारिक खाद्यान्न, तरकारी तथा फलफूल उत्पादनलाई प्रोत्साहन गर्नसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
सामुदायिक वनसँगको सहकार्यमा परियोजना
रामनगर सामुदायिक वनसँग सम्झौता गरी २०७८ सालदेखि यो परियोजना सञ्चालन गरिएको हो । तत्कालीन अध्यक्ष क्याप्टेन किशन थापाको कार्यकालमा सामुदायिक वनको साधारणसभाबाट निर्णय भएपछि परियोजना अघि बढाइएको थियो ।
तीन वर्षका लागि गरिएको सम्झौताअनुसार कम्पनीले सामुदायिक वनलाई मासिक ३५ हजार रुपैयाँ भाडा र मल बिक्रीबाट हुने नाफाको ५० प्रतिशत उपलब्ध गराउने सहमति गरेको थियो । पाँच कठ्ठा क्षेत्रफलमा सञ्चालन भइरहेको परियोजनामा एक लाख लिटर क्षमताको ट्रिटमेन्ट प्लान्ट निर्माण गरिएको छ ।
थापाका अनुसार प्लान्ट निर्माणमा करिब तीन करोड रुपैयाँ र सडक निर्माणमा २५ लाख रुपैयाँ खर्च भएको छ । लकडाउनका कारण परियोजना सञ्चालनमा विभिन्न समस्या आए पनि अहिले यसलाई उद्योगका रूपमा स्थापित गर्दै लगिएको उनको भनाइ छ ।
रामनगर सामुदायिक वनका अध्यक्ष रुद्र हमालले परियोजनाले प्रांगारिक मल उत्पादनसँगै वातावरण संरक्षण, प्रांगारिक खाद्यान्न, तरकारी तथा फलफूल उत्पादनमा योगदान पुर्याएको बताए ।
शौचालयजन्य फोहोरको उचित व्यवस्थापन नहुँदा खोलानाला, खुला क्षेत्र तथा वन क्षेत्रमा विसर्जन हुने जोखिम रहने उल्लेख गर्दै उनले व्यवस्थित संकलन र प्रशोधनले वातावरणीय प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने बताए ।
‘फोहोर व्यवस्थापनसँगै प्रांगारिक मल उत्पादन गरेर कृषि र वातावरण संरक्षणमा योगदान पुर्याउने काम आफैंमा महत्वपूर्ण छ,’ हमालले भने, ‘यस्तो चुनौतीपूर्ण काममा निजी क्षेत्रबाट लगानी गर्ने उद्यमीलाई स्थानीय, प्रदेश र संघीय सरकारले संरक्षण र प्रोत्साहन गर्नुपर्छ ।’
उनका अनुसार वन क्षेत्रसँग जोडिएको यस्तो परियोजनाले जैविक स्रोतको उपयोग, फोहोर व्यवस्थापन र वातावरणीय संरक्षणलाई एकसाथ अघि बढाउन सहयोग पुर्याएको छ ।
प्रतिक्रिया 4