+
+
Shares

आवासको सुनिश्चितताबिना होल्डिङ सेन्टरबाट नहटाउन सुकुमवासीको माग

‘सरकारले घर भत्काएको १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धतासहित हामी पीडित परिवारलाई विगत ७ महिनादेखि होल्डिङ सेन्टरमा राखेको थियो । तर आज सम्म पनि हामीले स्थायी आवास र उचित व्यवस्थापन पाउन सकेका छैनौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १९:०४
फाइल तस्वीर

१० मंसिर, काठमाडौं । सरकारले होल्डिङ  सेन्टर छाड्न सूचना टाँसेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमवासीहरू रुष्ट बनेका छन् ।

भक्तपुरको बोडेमा कृषि विकास बैंक भवनको बनाइएको होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीलाई शुक्रबारसम्म ठाउँ खाली गर्न प्रशासनले सूचना टाँसेको थियो । सूचनामा भूमिहीन नठहरिनेलाई शुक्रबारबाट हट्न निर्देशन दिएको थियो ।

सरकारले नै सुकुमवासीलाई त्यहाँ सात महिनादेखि राखिरहेको छ । तर, स्थायी बसोबासको व्यवस्था नगरेरै हट्न सूचना टाँसेपछि सुकुमवासीहरू रुष्ट बनेका हुन् ।

काठमाडौंका नदी किनारबाट स्थानान्तरण गरिएका सुकुमवासीलाई भक्तपुरको बोडेस्थित कृषि विकास तालिम केन्द्र, खरिपाटीमा विद्युत् प्राधिकरणको तालिम केन्द्र र नागार्जुनका होल्डिङ सेन्टरमा राखिएको छ ।

तीनै स्थानमा बसोबास गरिरहेका ११ जना सुकुमवासीले संयुक्त विज्ञप्ति निकालेर दिगो रूपमा आवासको सुनिश्चित नभई होल्डिङ सेन्टरबाट नहटाउन सरकारसँग माग गरेका छन् ।

सरकारी सूचनाप्रति असहमति जनाउँदै सुकुमवासीले उक्त निर्देशन पुनर्विचार गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।

वैकल्पिक व्यवस्था नै नगरी २३ देखि ५५ वर्षसम्म बसोबास गरिरहेको ठाउँबाट वैशाखमा विस्थापित गरेकोप्रति उनीहरूले आपत्ति जनाएका छन् ।

‘सरकारले घर भत्काएको १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धतासहित हामी पीडित परिवारलाई विगत ७ महिनादेखि होल्डिङ सेन्टरमा राखेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर आज सम्म पनि हामीले स्थायी आवास र उचित व्यवस्थापन पाउन सकेका छैनौं ।’

सरकारले आफ्नो पूर्वप्रतिबद्धता पूरा गर्नुको सट्टा होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिनु अमानवीय कार्य भएको उनीहरूको ठहर छ । ‘जग्गाको अभिलेखमा नाम देखिएकै आधारमा भूमिहीन तथा सुकुमवासी नठहराउने निर्णय पुनरावलोकन गरी प्रत्येक परिवार भूमिहीन तथा सुकुमवासी हुनुपरेको कारण, वास्तविक जग्गा, आवासीय र आर्थिक अवस्थाबारे पीडित परिवारसँग प्रत्यक्ष संवाद तथा निष्पक्ष स्थलगत छानविन गरी न्यायोचित निर्णय गरियोस्,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै, जुन जिल्ला र स्थानबाट निष्कासन गरिएको हो, सोही जिल्ला प्रशासन, सम्बन्धित सरकारी निकाय र पीडित प्रतिनिधिबीच संवाद गरेर समय सीमासहितको कार्ययोजना तयार गर्न, प्रभावित परिवारसँग संवाद, सहमति गरी योजना सार्वजनिक गर्न पनि उनीहरूले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?