+

चौथो संस्करणको एनपीएल कम्तीमा दुई मैदानमा खेलाइने

२०८३ मंसिर  १० गते २०:०६ २०८३ मंसिर १० गते २०:०६

एनपीएलको चौथो संस्करण कम्तीमा दुई मैदानमा सञ्चालन हुने क्यान सचिव पारस खड्काले उल्लेख गरे ।

१० मंसिर, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भएकै दिन ५ मंसिरमा प्रधानमन्त्री बालेन्द्र शाहले छैटौं संस्करणदेखि होम एन्ड अवेमा सञ्चालन गर्ने घोषणा गरे ।

होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्न आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने प्रतिवद्धता प्रधानमन्त्री बालेनले जनाए । सोही परिकल्पना पूरा गर्ने उद्देश्यसहित शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले छलफल अगाडि बढाएका छन् । उनले मन्त्रालयका पूर्वाधार टोलीदेखि फ्रेन्चाइज टोली र नेपाल क्रिकेट संघ (क्यान)सँग छलफल गरेका छन् ।

सुरुवातमा मन्त्री पोखरेलले रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया तथा प्राविधिक मापदण्डका विषयमा मन्त्रालयका पूर्वाधार टोलीसँग छलफल गरेका थिए । छलफलपछि मन्त्री पोखरेल सरकार र निजी क्षेत्रको साझेदारी सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलबाट खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने निचोडमा पुगे । त्यसपछि उनले निजी क्षेत्रको साझेदारीमा फ्रेन्चाइज टोलीलाई नै पहिलो प्राथमिकतामा दिनुपर्ने योजना अघि सारे । सोही विषयमा मन्त्री पोखरेलले आठवटै टिमसँग छलफल गरे ।

छलफलमा आठवटै फ्रेन्चाइज टोलीका प्रतिनिधिसहित नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का पनि सहभागी थिए । प्रधानमन्त्री बालेनले उल्लेख गरेअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला, चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला, काठमाण्डु गोर्खाजका लागि त्रिवि क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला घरेलु मैदान हुन् ।

यीमध्ये अधिकांश निर्माणाधिक अवस्थामा छन् । छलफलमा रंगशाला निर्माण गर्ने जिम्मा सम्बन्धित फ्रेन्चाइज टोलीले नै लिनुपर्ने प्रस्ताव मन्त्री पोखरेलले गरे । ‘सरकारले एक्लैले बनाउने अवस्था छैन । त्यसको विकल्प भनेको पिपिपि मोडल हो । नीजि क्षेत्रसँग सहकार्य गर्दाखेरि हामीले प्राथमिकता कसलाई दिने भन्दाखेरि आठवटै टिमले बनाउछ भने त्यो अझ राम्रो हुन्छ भनेर मन्त्रीज्यूले पहिलो छलफल नै फ्रेन्चाइज टोलीसँग गर्नुभएको हो,’ मन्त्राका एक सचिवालय सदस्यले भने । यसबाट क्लबहरूको स्वामित्व र अपनत्व हुँदा निर्माण छिटो हुने र समर्थकमाझ पनि सकारात्मक सन्देश जाने विश्वास मन्त्री पोखरेलले लिए ।

मन्त्रीको प्रस्तावमा फ्रेन्चाइज टोलीहरु सकारात्मक भए । ‘नीजि साझेदारीमै जाने भएपछि हामी सेकेन्डम्यान किन हुने । हामीनै फष्टमा आउने हो । हामी नै काम गर्छाैं’ कर्णाली याक्सका ओनर गृहेन्द्र घिमिरेले बैठकमा भने ।

फ्रेन्चाइज टोलीका प्रतिनिधिहरुले सरकारले दीर्घकालीन स्पष्ट नीतिगत व्यवस्था गरिदिए रंगशाला निर्माण तथा सञ्चालनमा निजी क्षेत्रबाट लगानी भित्र्याउन आफूहरू तयार प्रतिवद्धता जनाए । खेलकुद पूर्वाधारमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन र प्रायोजनसम्बन्धी नीतिगत जटिलता फुकाउन सरकारसँग उनीहरुले आग्रह गरे ।

सुदूरपश्चिम रोयल्सका ओनर स्वतन्त्र प्रताप शाहले धनगढीको फाप्ला क्रिकेट मैदानको काम अहिले चलिरहेको छ, त्यसमा हामीले गर्नुप¥यो भने कसरी जाने हो ? भनेर जिज्ञासा राखेका थिए । त्यसमा मन्त्री पोखरेलले त्यसमा कुरा गरौला भन्ने जवाफ फर्काए । उनले आफूहरुले पीपीपी मोडलमै काम गर्न चाहेको र त्यसको लागि क्लबहरुसँगै सहकार्य गर्ने कुरालाई सरकारले प्राथमिकतासाथ हेरेको बताए ।

प्रधानमन्त्रीले छैटौं संस्करणदेखि होम एन्ड अवेमा गर्ने बताएपछि उक्त छलफलमा आगामी चौथो संस्करणदेखि नै दुईदेखि तीनवटा मैदानमा एनपीएलका खेलहरु गराउने कुरा अगाडि बढेको छ ।

एनपीएलको चौथो संस्करण कम्तीमा दुई मैदानमा सञ्चालन हुने क्यान सचिव खड्काले उल्लेख गरे । ‘चौथो संस्करणमा जाँदा दुईटा भेन्यूमा त जानै पर्नेछ । दोस्रो भेन्यू कहाँ हुन्छ । अहिले पूर्वाधारको हिसाबले हेर्दाखेरि तल्लो मुलपानी र चितवनको गौतम बुद्ध रंगशालाको ६०-७० प्रतिशत प्यारापिटको काम भइसकेको छ,’ उनले भने ।

छलफलमा कीर्तिपुरस्थित टियु मैदान र मूलपानीको विद्यमान महँगो डीपीआरलाई परिमार्जन गरि सहुलियत बजेटमा टियु, मूलपानी र चितवनको गौतमबुद्ध क्रिकेट रंगशाला १० महिनाभित्रै तयार पार्न सकिने प्रस्ताव क्यान सचिव खड्काले गरे । जसमा मन्त्री पोखरेल र आठवटैं टोली सकारात्मक रहे ।

फ्रेन्चाइज क्लबका प्रतिनिधिहरूले आगामी सिजनका लागि तत्काल टियु मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिए । अन्य मैदानको हकमा अपसी सहकार्य गरेर रंगशाला निर्माणमा पनि लाग्नसक्नेमा उनीहरुले बताए । त्रिवि क्रिकेट मैदानमा मात्रै फ्लडलाइट भएका कारण दिउँसोका खेल मूलपानी र बेलुकाका खेल त्रिविमै खेलाउन सकिने सुझाव फ्रेन्चाइजका प्रतिनिधिले दिए ।

एनपीएल २०२६ एनपीएल क्रिकेट
लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय