कुवेतमा इरानले गरेको ड्रोन आक्रमणमा परी दुई इटालियन नागरिकको मृत्यु भएको छ ।
कुवेतको रक्षा मन्त्रालयले आज इरानी ड्रोन आक्रमणमा घाइते भएका दुई इटालियन नागरिकको मृत्यु भएको पुष्टि गरेको हो ।
मन्त्रालयका आधिकारिक प्रवक्ता कर्नेल साउद अब्दुल अजिज अल–अत्वानले एक्समार्फत विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइते अन्य व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
यसअघि कुवेती सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानी ड्रोनको सामना गर्ने क्रममा खसेको भग्नावशेष लागेर दुई इटालियनसहित चार जना घाइते भएको जनाएको थियो ।
इटालीको समाचार एजेन्सी एएनएसएका अनुसार मृत्यु भएका दुवै जना जर्मन हतियार निर्माता कम्पनी राइनमेटलका कर्मचारी थिए ।
यसैबीच, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले कुवेतमा भएको आक्रमणमा आफ्ना दुई नागरिकको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेकी छन् ।
युरोपेली परिषद्को बैठकमा सहभागी भइरहेका बेला घटनाबारे जानकारी पाएको उल्लेख गर्दै उनले आफू र सरकारका तर्फबाट मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् ।
‘आक्रमणबाट प्रभावित सबै व्यक्ति र उनीहरूका परिवारप्रति मेरो सहानुभूति छ,’ मेलोनीले एक्समा लेखेकी छन् ।
प्रतिक्रिया 4