११ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।
आङ्देम्बेले सरकारको यस्तो कार्य निन्दनीय रहेको पनि बताए । ‘व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएर महिनौँसम्म अनिश्चिततामा राख्यो । अहिले हिउँदको कठ्याङ्ग्रिँदो मौसममा भक्तपुरको बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरबाट समेत हटाउन खोजिँदैछ । यो निन्दनीय छ,’ आङ्देम्बेले भनेका छन् ।
उनले देशभर कतै पनि आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई पहिले जग्गाको टुंगो लगाएर मात्रै व्यवस्थापनको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।
‘देशभर कतै पनि आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई पहिले जग्गाको टुंगो लगाइयोस् । उनीहरूको आवास सुनिश्चित गरियोस् । त्यसपछि मात्र व्यवस्थापनको प्रक्रिया अघि बढाइयोस् । वैकल्पिक आवासको व्यवस्था नगरी नागरिकलाई सडकमा पुर्याउने अधिकार सरकारलाई छैन,’ आङ्देम्बेको भनाइ छ ।
भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १९ परिवारका ५९ जनालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज (शुक्रबार) दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको छ । प्रशासनले घरभाडाबापत सरकारले उपलब्ध गराउने १५ हजार रुपैयाँ लिएर सेन्टर छाड्न भनेको छ ।
आङ्देम्बेले सरकारको उक्त कदमलाई संविधानप्रदत्त आवासको हकविपरीत रहेको बताएका छन् । संविधानको धारा ३७ (१) ले प्रत्येक नागरिकलाई आवासको हक सुनिश्चित गरेको उल्लेख गर्दै उनले राज्यले नागरिकको आश्रय खोस्ने नभई आश्रयविहीनलाई सुरक्षित आवास उपलब्ध गराउनुपर्ने बताएका छन् ।
‘राज्यको जिम्मेवारी नागरिकको आश्रय खोस्ने होइन, आश्रयविहीनलाई सुरक्षित आवास उपलब्ध गराउने हो,’ उनले भने ।
उनले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित, सम्मानजनक तथा दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको पहिचान तथा तथ्यांक संकलन गरेर मात्रै व्यवस्थापन गर्नुपर्ने कांग्रेसको सुझाव सरकारले बेवास्ता गरेको उनको आरोप छ ।
प्रतिक्रिया 4