११ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत आजदेखि फुल कन्ट्याक्ट र शारीरिक सुगठनको प्रतिस्पर्धा पनि सुरु हुँदैछ ।
यी दुई खेलको प्रतिस्पर्धा सुरु भएपछि आज दशौँ राष्ट्रिय खेलकुदमा कूल ९ खेलमा प्रतिस्पर्धा हुनेछ ।
कर्णाली प्रदेशको सुर्खेतलाई मुख्य केन्द्र बनाएर भइरहेको दशौँ अन्तर्गतमा खेलहरु लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा पनि सञ्चालन भइरहेको छ ।
आज शुक्रबार सुर्खेतमा फुल कन्ट्याक्ट कराते र पश्चिम रुकुमको चौरजहारीमा शारीरिहक सुगठन प्रतियोगिता सुरु हुनेछ ।
यस बाहेक सुर्खेतमा महिला तथा पुरुष क्रिकेट, महिला बास्केटबल, पुरुष फुटबल, बक्सिङ र जिम्न्यास्टिक खेलको प्रतिस्पर्धा हुनेछ ।
विरेन्द्रनगर क्रिकेट मैदानमा भइरहेको महिला क्रिकेटमा शुक्रबार कर्णाली र आर्मी तथा मधेश र एपीएफबीच खेल हुनेछ । यस्तै कालुन्चौक मैदानमा भइरहेको पुरुष क्रिकेटमा कोशी र एपीएफ तथा मधेशर नेपाल आर्मीबीच खेल हुनेछ ।
सुर्खेत रंगशालमा भइरहेको पुरुष फुटबलमा लुम्बिनी र कोशी प्रदेश तथा बागमती र नेपाल आर्मीबीच खेल हुनेछ ।
यसैगरी महिला बास्केटबल अन्तर्गत फुलकोर्ट र थ्री अन थ्री दुवैमा आज क्वाटरफाइनल खेलहरु हुनेछन् ।
सुर्खेतस्थित मुख्य कभर्डहलमा बिहानैदेखि बक्सिङका खेल हुनेछन् भने मिनी कभर्डहलमा जिम्न्यास्टिकको प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन कभर्डहलमा फुल कन्ट्याक्ट कराँतेका खेल हुनेछ ।
यस्तै बाँकेको नेपालगन्जमा भइरहेको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिप आज समापन हुँदैछ ।
मंसिर ८ देखि सुरु भएको पौडीमा आज अन्तिम दिन १२ इभेन्टको प्रतिस्पर्धा हुनेछ । बर्दियामा भइरहेको टेनिसमा आज क्वाटरफाइनल खेलहरु हुनेछन् ।
प्रतिक्रिया 4