प्रिय चाण्डालिक,
तिमीलाई म चिन्छु, तर तिमी मलाई चिन्दैनौ । यो असमान सम्बन्ध हो, र तिम्रो घाटमा असमानता नौलो कुरा होइन भन्ने मलाई थाहा छ ।
तिमी मकहाँ कसरी आइपुग्यौ, पहिले त्यो सुन ।
मलाई जितेन्द्र मल्ल दाइको फोन आउँदा फोन आउँदैन, गजल आउँछ । ‘हेलो दाइ’ भन्न नभ्याउँदै मेरो सानो कोठामा गजल सन्ध्या सुरु भइसक्छ । भित्ताहरू श्रोता बनेर बस्छन्, कुर्सीहरू ‘भन्नुस्, भन्नुस्’ भन्छन्, टेबलमा सेलाउँदै गरेको चियाको कपले रदिफ दोहोर्याउँछ, र झ्यालबाहिर यारा नदी ‘फेरि एकपटक, फेरि एकपटक’ भन्दै बगिरहन्छ । वर्षौँदेखि हाम्रो कुराकानी यसरी नै चल्दै आएको थियो । दाइको संसारमा कथा, पात्र वा घाटका लागि ठाउँ नै छैन जस्तो लाग्थ्यो । तिम्रो लागि त झन् कहाँ हुनु ।
त्यो दिन पनि फोन बज्यो । त्यतिबेला म के गर्दै थिएँ, आज जति सम्झन खोजे पनि सम्झना आउँदैन । तर दाइको एउटा प्रश्न भने अझै कानमा गुन्जिरहन्छ, ‘भाइ, कथा पढ्छौ ?’
गजलले कथाको कुरा गर्दै थियो । कोठाका सबै श्रोता झस्किए, चियाको कपले पनि ‘वाह’ भन्न बिर्स्यो । मुखले जवाफ दिइसकेको थियो, ‘हुन्छ दाइ, पठाउनुस् न।’ हातको काम त्यहीँ छुट्यो । केही बेरमै दाइले तिमीलाई पठाउनुभयो ।
तिम्रो कथा एक्काइस पृष्ठको थियो, चाण्डालिक, तर पढिसक्दा मेरो कोठाभरि पारामाटाको धुवाँ थियो । तिमीलाई पढ्दै जाँदा मलाई एक जना अर्को मानिस याद आयो: अल्बर्ट कामुको ‘द स्ट्रेन्जर’को मर्सो, जो आमाको मलामीमा रोएन । तिमीहरू दुवै मृत्युसामु त्यो भावनात्मक अभिनय गर्दैनौ, जुन हामी सबैले अपेक्षा गर्छौँ । तिम्रो घाटमा आउने पाठकले पनि सुरुमै यो चिसोपन महसुस गर्नेछन्, र यही चिसोपनले उनीहरूलाई अघि बढ्न बाध्य बनाउनेछ ।
अब तिमीलाई जन्माउने मानिसको कुरा । जितेन्द्र दाइ र ‘महबी मिका’का लेखक प्रकाश पन्थी उहाँबारे लगभग एउटै स्वरमा भन्थे: घरमै बस्छ, कुनै कार्यक्रममा जाँदैन, मोटा-मोटा किताब पढिरहन्छ, एकदम खतरा छ यो देव पाठक । मेरो दिमागमा दोस्तोयेवस्कीको ‘नोट्स फ्रम अन्डरग्राउन्ड’को पात्रजस्तो एउटा मानिस बस्यो । तर फोनमा भेट हुँदा त्यो मूर्ति एकैछिनमा भत्कियो । अर्को छेउमा त एउटा साधारण, स्पष्ट लेखकको आवाज पो थियो । उहाँले भन्नुभयो, ‘हो, मैले स्ट्रेन्जर पढेर यो कथा लेखेको हुँ । नेपालीमा जे पढ्न मन लाग्छ तर छैन, त्यो आफैँ लेखौँ भन्ने लाग्छ ।’
त्यसपछि उहाँले बिस्तारै अरू कथा पनि पठाउन थाल्नुभयो, तिम्रा छिमेकीहरू । ती पढ्दै जाँदा मभित्र एउटा छटपटी बढ्यो । देव पाठक उपन्यास लेख्ने सोच बनाउँदै हुनुहुन्थ्यो । मैले भनेँ, ‘उपन्यास पछि, पहिले यी कथा अरूले पनि पढ्न पाउनुपर्छ ।’ प्रकाशक भूपेन्द्र खड्काज्यूलाई पठाएँ, उहाँले पनि मन पराउनुभयो । यसरी मेरो फोनको स्क्रिनमा बसेका तिमीहरू एक दिन किताब बनेर पाठकको हातसम्म आइपुग्यौ।
यसैले मसामु एउटा अप्ठ्यारो पनि छ । तिमीलाई मैले पाण्डुलिपिमै पढिसकेको थिएँ । पहिल्यै चिनेको मानिसलाई नयाँ आँखाले हेर्न गाह्रो हुन्छ । तर हेराक्लिटसले भनेका थिए, कुनै पनि मानिस एउटै नदीमा दुईपटक उत्रन सक्दैन, किनकि न त्यो नदी उही रहन्छ, न त्यो मानिस । मेरो झ्यालबाहिरको यारा पनि हरेक बिहान अर्कै पानी बोकेर बग्छ । पाण्डुलिपि पढ्ने त्यो बेलाको म र आज छापिएको किताब समातेर बसेको म एउटै मान्छे होइनौँ । यसपटक तिम्रो घाटमा मैले केही नयाँ कुरा भेटेँ ।
मैले एकपटक देव पाठकलाई भनेको थिएँ, ‘तपाईंका कथा कुनै रेस्टुरेन्टमा खाएको मिठो खानाजस्ता छन् ।’ खाना मिठो लाग्यो भने हामी रमाएर खान्छौँ, भान्सामा पसेर सेफलाई रेसिपी सोध्दैनौँ । तिम्रा धेरै पाठक त्यसै गर्लान्, र त्यसमा कुनै गल्ती छैन । तर कोही रेसिपी पनि जान्न चाहन्छन्, किनकि तिमी र तिम्रा छिमेकी हल्का नास्ता होइनौ । तिम्रो कथामा राखिएका सङ्ख्याको अर्थ छ, नामको अर्थ छ, र तिनका पछाडि हाम्रै समाजको त्यो यथार्थ छ, जसलाई हामी हेर्न चाहँदैनौँ तर जुन हाम्रै अगाडि छ । यो चिठीमा म तिमीसँग मसलाको कुरा गर्छु, तर थाल पूरै उघार्दिनँ ।
तिम्रो नामबाटै सुरु गरौँ । चाण्डालिक । मसानघाटमा चाण्डालको सेवक बनेर लाश जलाउने राजा हरिश्चन्द्रको कथा हामीले सानैमा सुनेका थियौँ । तिम्रा छिमेकीहरूका नाम पनि यस्तै ठाउँबाट आएका छन्: स्वर्भानु, इन्द्र, वनराकस, विषाद । यी नाम सजावटका लागि राखिएका होइनन् । आजका मानिसको स्वभाव, क्रिया र प्रतिक्रिया ती पौराणिक पात्रसँग अचम्मै गरी मिल्छन् । पुराणको ज्ञान नभएका पाठक तिम्रो घाटमा आइपुगे भने तिमीले नै तिनलाई सम्झाइदिनू: अप्ठ्यारो लाग्यो भन्दैमा किताब छोड्नुपर्दैन । कथाहरू आफैँमा पूरा छन्, नाम नचिनेरै पनि तिनको पीडा र व्यङ्ग्यले छुन्छ । पढिसकेपछि कुनै नामले मन कोट्यायो भने त्यसको कथा खोजेर हेरून् र फेरि पढून् । दोस्रोपटक अर्कै तह खुल्छ ।
तिम्रो घाटको पहिलो रहस्य पनि नाममै छ । हक्सबेरी नदीको किनारमा ‘कुबेरघाट’ छ, जहाँ धनीहरूका लाश बाजागाजा, स्तुति र सम्मानका साथ जल्छन् । लेनक्स ब्रिजमुनि तिम्रो ‘दरिद्रघाट’ छ, जहाँ लाशलाई लाशजस्तै व्यवहार गरिन्छ, न सम्मान न बिदाइ । एउटा घाटको नाम धनका देवताको, अर्कोको गरिबीको, र दुवै घाट दुई दाजुभाइले चलाउँछन् । तिम्रो मालिकको नाम स्मोकी, अर्थात् धुवाँ । र तिम्रो नाम, जुन तिमीले आफैँ रोजेका थियौ । मान्छेले आफ्नो नाम छोडेर काम मात्र बोक्न थालेपछि ऊ को बन्छ? तिम्रो कथाको केन्द्रीय प्रश्न यहीँबाट सुरु हुन्छ ।
तिमीलाई गन्ती मन पर्छ, चाण्डालिक । तिम्रो कथाको सुरुमै एक युरोपेली ग्राहक भन्छ, ‘मलाई जम्मा उन्नाइसवटा औँला दिनुस्, जोर सङ्ख्या अपवित्र लाग्छ ।’ तिमी शान्त भएर गन्छौ, ‘अठार, उन्नाइस… बीस’, र बीसौँ औँला घाटमा बस्ने ल्याब्राडोर कुकुरतिर हुर्याइदिन्छौ । ग्राहकले नौ सय पचास डलर दिँदा तिमी सच्याउँछौ, एउटा लिनुस् कि बीसवटा, मूल्य हजार नै हो । मलाई दृश्यभन्दा बढी तिम्रो गन्ती र हिसाबको त्यो शान्त लयले डर लाग्यो । बेवारिसे लाशको पच्चीस सयमध्ये दुई हजार मालिकको, पाँच सय तिम्रो । श्रमको यो भाग-बन्डा मसानघाटको मात्र कहाँ हो र, चाण्डालिक, प्रवासमा पसिना बेच्ने हामी धेरैको पनि हो।
हामी वर्षौँदेखि सुन्दै आएका थियौँ, मृत्यु बराबरी हो । तिम्रो कथाले त्यो वाक्यलाई चितामा राखेर फुकिदिन्छ । जीवनभर समाजले मानिसलाई तहमा राख्यो, र मृत्युले पनि त्यो सूची च्यातेन, बरु दुईवटा घाट बनायो । तिमी घाटका लाशलाई आफ्ना ‘रूममेट’ भन्छौ, जल्दासम्मका लागि । जीवित र मृतबीचको पर्खाल तिम्रो त्यो एउटै शब्दले भत्काइदिन्छ । मृत शरीरको औँला बेचिँदा तिम्रा पाठक चिच्याउनेछन्, तर जीवित मानिसको श्रम, समय र विवशता बेचिँदा हामी चिया पिउँदै समाचार पढ्छौँ । दुई कुरा बराबर त होइनन्, तर तिम्रो घाटले हाम्रो संवेदना कति असमान बाँडिएको छ भन्ने देखाइदिन्छ ।
तिम्रो घाटमा शवयानी पनि आउँछे, जसको नाममै शव छ । ऊ किन आई र तिमीलाई कहाँ पुर्याई, तिमीलाई त थाहै छ । म यहाँ लेख्दिनँ । तर उसले तिमीलाई सोधेको एउटा प्रश्न र तिम्रो उत्तर भने लेख्छु, किनकि मेरा लागि तिम्रो कथाको सबैभन्दा गहिरो क्षण यही हो । उसले सोधी, ‘के तिमीलाई कसैको माया लाग्दैन?’ तिमीले भन्यौ, ‘मायाले डर पैदा गर्छ ।’ मृत्युसँग दिनहुँ हिसाब गर्ने तिमीलाई खास डर त जीवनसँग लाग्दो रहेछ, किनकि माया गरेपछि गुमाउने केही हुन्छ।
अनि त्यो रात, चाण्डालिक । तिमीलाई सम्झना छ? म त्यो रातको कुरा पनि यहाँ खोल्दिनँ । त्यो रात तिम्रा पाठकले तिम्रै घाटमा, तिम्रै धुवाँमा आफैँ बिताउनुपर्छ । तर त्यो रात पढिसकेपछि मैले आफैँलाई सोधेँ: मानिसले मृत्युसामु अपेक्षित आँसु झारेन भने हामी उसको नैतिकता कसरी नाप्छौँ? आँसु नझार्नु क्रूरताको प्रमाण हो र? मर्सोलाई अदालतले सोधेको प्रश्न तिमीलाई पनि तिम्रा पाठकले सोध्नेछन् ।
अब तिमीलाई तिम्रा छिमेकीहरूबारे सुनाउँछु । तिम्रो किताब तीन लोकमा बाँडिएको छ । तिमी ‘रसातलका कथा’मा बस्छौ, ‘क्षयरस’, ‘धकधक : गनदेखि अनसम्म’ र ‘नेत्रचर उपाधीश’सँग । माथि ‘भू-लोकका किस्साहरू’मा ‘भ्वाइड पोइन्ट’, ‘छाद विषाद’, ‘हाइना’ र ‘ज्वाला माधुर्य’ बस्छन् । सबैभन्दा माथि ‘स्वर्गको गाथा’मा एउटै कथा छ, ‘द मिथ अफ वनराकस’ । भूलोकका किस्सा प्रायः यथार्थवादी छन्: साहित्यिक मञ्च, पुस्तक विमोचन, घरभित्रको हिंसा, सुत्केरी कोठा । रसातल र स्वर्ग भने तिम्रो घाटजस्तै स्वैरकाल्पनिक छन्, जहाँ छाया बाक्लिन्छ, अक्षरहरू मात्छन्, र लेखक आफ्नै कथाभित्र पसेर पात्रहरूलाई हेरिरहन्छ । तर स्वैरकल्पनाको खुट्टा पनि यथार्थकै जमिनमा टेकिएको छ: तिम्रो लेनक्स ब्रिज, चर्च स्ट्रिट, सिड्नीको ट्रेन । कल्पना जति उड्छ, पीडा उति नै चिनेजस्तो लाग्छ ।
तिमी एक्लो छैनौ, चाण्डालिक । तीनै लोकका बासिन्दा कुनै न कुनै आगोसँग जुधिरहेका छन् । तिम्रो घाटमा आगो शवमा लाग्छ, अरूको घरमा कहिले पुस्तकमा, कहिले मनमा, कहिले अनपेक्षित ठाउँमा । र यी सबै आगोमाथि तिम्रै प्रश्न धुवाँजस्तो घुमिरहन्छ: ‘को हुँ म?’ तिमीले लेनक्स ब्रिजमुनि एक्लै सोधेको प्रश्न अरूले पनि सोधिरहेका रहेछन् । ‘नेत्रचर’को कथावाचक आफ्ना प्रिय लेखकहरू एकएक गर्दै गायब भएपछि यही सोध्छ, र ‘छाद विषाद’की आमा ऐनासामु उभिएर भन्छिन्, म आफैँले आफैँलाई चिन्दिनँ ।
तिम्रा छिमेकीहरू एकअर्काको घरमा पस्छन्, र कहिलेकाहीँ तिम्रो घाटसम्म पनि आइपुग्छन् । कामु, जसको मर्सोसँग मैले तिमीलाई तुलना गरेँ, ‘क्षयरस’को ऐनामा सिसिफसको श्राप बनेर उभिन्छ । ऐना पनि एउटा घरबाट अर्को घर सर्छ: ‘हाइना’को पोरस ऐनामै आफ्नो रूपमा मख्ख पर्छ, र ‘छाद विषाद’की आमा ऐनामा आफ्नै अनुहार चिन्दिनन् । ‘नेत्रचर’को कथावाचकलाई अरूले ‘पाठकजी’ भन्छन्, र उसको मुखमा पुगेर तिम्रो आफ्नै कथाको नामले यस्तो रूप लिन्छ कि सुनेर तिमी लाजले भुइँ हेर्नेछौ । के रूप, त्यो म तिमीलाई पनि भन्दिनँ । तिम्रो घाटको मूल्य र तिम्रो मालिक स्मोकी पनि त्यहाँ अनपेक्षित रूपमा फेरि भेटिन्छन् । यसरी पढ्दा यो किताब छुट्टाछुट्टै कथाको थुप्रोभन्दा एउटा सानो ब्रह्माण्डजस्तो देखियो, र तिमी त्यसको सबैभन्दा तल्लो, सबैभन्दा तातो कुनामा बस्छौ ।
तिम्रो सबैभन्दा नजिकको छिमेकी स्वर्भानु हो । राहुको पुरानो नाम, जसले ग्रहण लगाएर घाम निल्छ । ‘क्षयरस’मा ऊ कम्पनीले लादेको एक महिनाको बिदामा केही लेख्ने वाचा गर्छ, तर लेख्न सक्दैन । त्यसपछि उसको छाया बाक्लिन थाल्छ, र मानिसहरू उसको छायाको डरले उसबाट टाढा हिँड्छन् । तिमी अरूको शरीर जलाएर बोझ हलुका बनाउँछौ, स्वर्भानु भने आफ्नै नलेखिएको बोझ बोकेर हिँड्छ । त्यो छाया कति बाक्लिन्छ र अन्ततः कसले कसलाई बोक्छ, पढ्दा मेरो आङ सिरिङ्ग भयो । लेख्ने सपना बोकेर एक पाना पनि नलेखेका हामीजस्ता धेरैका लागि, चाण्डालिक, यो कथा आफ्नै कथा हो ।
अलि पर चर्च स्ट्रिटमा ‘धकधक’का गन्धक र बन्धक बस्छन् । गन्धक स्वामी घरबारविहीन मानिस हो, जसले समाजले दिएको दुर्गन्धलाई आफ्नै उपाधि बनाएको छ, ठ्याक्कै तिमीले आफ्नो पेशालाई नाम बनाएझैँ । बन्धक रानी भने पसलमा मोबाइलमा महाभारत हेर्ने कामाक्षी हो, जसलाई कथावाचक नायकत्वको प्रोपोगान्डाकी बन्धक ठान्छ । उनीहरूको कथाको एउटा वाक्यले मलाई रोक्यो: ‘समाज सामाजिक न्यायमा अपाङ्ग छ ।’ हामी चोरलाई औँला देखाउँछौँ, तर उसलाई त्यो बाटोमा कसले धकेल्यो भनेर सोध्दैनौँ । बस नम्बर ६६६, निभ्दै र बल्दै गरेका सडकबत्ती, फोक्सोभरिको कालो धुवाँ । तिम्रो घाटको धुवाँ यहाँ पनि पुगेको रहेछ । त्यो अन्धकार कहाँ पुगेर टुङ्गिन्छ, त्यो पाठक आफैँले भोग्नुपर्छ ।
र ‘नेत्रचर उपाधीश’, तिम्रो सबैभन्दा नजिकको नातेदार । सङ्ग्रहको सबैभन्दा चलाख कथा मेरा लागि यही हो, र उत्तिकै दुःखी पनि । त्यहाँ लेखकको कुर्सीमुनिको भुइँ नै हराएको छ । अक्षरहरू ‘रक्सीले झ्याप भएझैँ’ बटारिन्छन्, र लेखेको कथा अर्कै बन्छ । रमाइलो कुरा, अक्षरहरू पक्षपाती छन् । केही चर्चित नेपाली लेखकका किताब फेरिन्छन्, केहीका जस्ताका तस्तै रहन्छन् । कसका फेरिन्छन् भन्ने सूची पढ्दा धेरै पाठक मुस्कुराउनेछन्, केही लेखक भने अलि असजिलो मान्नेछन् । कथाको शीर्षक-पात्र नेत्रचर उपाधीश आफैँ, नेपाली साहित्यका पुरस्कार र उपाधिको न्यायाधीश, अनेक टाउका र आँखाभरि रङ्गीन चस्मा लगाएर प्रकट हुन्छ: खरानी रङ सामाजिक यथार्थवादको, निलो फ्रायडवादको । साहित्यलाई ‘वाद’को चस्माबाट मात्र हेर्ने बानीमाथि यसभन्दा राम्रो बिम्ब के होला! कथाले अन्तमा लेखक र पाठकको सम्बन्धमाथि एउटा प्रश्न राख्छ । त्यसको उत्तर खोज्ने बाटो कता जान्छ, म भन्दिनँ । यति मात्र भन्छु, त्यो बाटो पनि अन्ततः तिम्रै घाटतिर मोडिन्छ ।
माथि भूलोकमा, जहाँ बत्ती बलेको छ तर उज्यालो कम, ‘छाद विषाद’ले तिम्रो प्रश्नलाई एउटी आमाको सुत्केरी कोठाभित्र लैजान्छ । शीर्षकको ‘विषाद’ले मलाई गीताको पहिलो अध्याय, अर्जुनको विषाद, सम्झायो । अर्जुन युद्धको सुरुमै धनु बिसाएर बस्छन्, यहाँकी आमा भने नयाँ जीवनको सुरुमै बाँच्ने इच्छा बिसाएर बस्छिन् । कथा उनकै मुखबाट सुरु हुन्छ, ‘म मर्न चाहन्छु ।’ उनी हामीलाई ‘तपाईं’ भन्दै टुक्रा-टुक्रामा कुरा गर्छिन्, बीचमा छोरालाई दूध खुवाउन उठ्छिन्, र फर्केर सोध्छिन्, ‘ए, अझै यहीँ हुनुहुन्छ?’ वरिपरिका सबैले माया त गर्छन्, तर हातमा तराजु बोकेर आउँछन्, नाप्छन्, जोख्छन् र जान्छन् ।
कोही सुन्दैनन् । तिमीलाई जीवनसँग डर लाग्छ, जीवन जन्माएकी यो आमालाई भने मृत्यु लोभलाग्दो लाग्छ । छोरो उनको प्राणरक्षक हो कि विषादको सूत्रधार, उनी आफैँ छुट्याउन सक्दिनन् । माया र डर यहाँ पनि एउटै थालमा छन्, चाण्डालिक । यो कथाको ‘तपाईं’ को हो, त्यो पढिसकेपछि मात्र बुझिन्छ ।
भूलोकमा पोरस पनि बस्छ, ‘हाइना’मा । न्वारनको पुरुषोत्तम नाम भद्दा लागेर उसले अलेक्जेन्डरसँग लडेका राजाको नाम ओढेको छ । तिमीले आफ्नो नाम छोडेर पेशा ओढ्यौ, उसले आफ्नो नाम छोडेर वीरताको भ्रम ओढ्यो, र त्यो वीरता आफ्नी पत्नी मृदुनामाथि देखाउँछ । कथा एउटा झापडबाट सुरु हुन्छ, र कथा भन्ने मानिस नै झापड हान्ने हो । ‘म त तिमीलाई यी सामाजिक हाइनाहरूबाट बचाउन चाहन्छु ।’ हाइनाबाट बचाउने दाबी गर्ने मानिस आफैँ हाइना हो । हामी पीडितको आँसु पढ्न अभ्यस्त छौँ, तर पीडकले आफ्नो हिंसालाई ‘माया’ र ‘सुरक्षा’का शब्दमा कसरी बेर्छ, त्यो यति नजिकबाट हेर्ने मौका साहित्यमा थोरै मिल्छ । पाठक सुरुदेखि नै असहज हुन्छ, र त्यो असहजता नै यस कथाको सफलता हो ।
उसकै उल्टो पाटो ‘ज्वाला माधुर्य’ हुन् । नाममै विरोधाभास छ, आगो र मिठास । आफूलाई अस्ट्रेलियाको नेपाली साहित्यको पर्यायवाची ठान्ने यी उपन्यासकार आफ्नो कथा आफैँ भन्छिन् । उनी आफ्नो नयाँ उपन्यासको विमोचनमा पारिजात र ‘शिरीषको फूल’ दुवै मन नपर्ने घोषणा गरेर सभाहल चुप पार्छिन्, ‘मानौँ बम फोरेँ ।’ अन्तर्वार्ताका प्रश्न पनि उनी आफैँ लेखेर पठाउँछिन् । कथाले विचारको होइन, विचारलाई निजी पदक बनाउने बानीको खिल्ली उडाउँछ । त्यही अहंकार पुरुषमा देखिँदा हामी अहंकार भन्छौँ, स्त्रीमा देखिँदा सजिलै विचारधारालाई दोष दिन्छौँ । यस कथामा एउटा कुर्सी छ, चाण्डालिक । त्यो कुर्सीसँग के हुन्छ, म तिमीलाई भन्दिनँ । यति मात्र भन्छु, पढ्दा पढ्दै मैले आफैँलाई सोधेँ, म किन हाँसिरहेको छु?
भूलोककै अर्को बासिन्दा इन्द्र हो, ‘भ्वाइड पोइन्ट’मा । देवताहरूका राजा, जसको नजर पुराणमा पनि कहिल्यै तृप्त हुँदैन । हजारौँ मान्छे र सयौँ मोबाइलका क्यामेरा उठेका मञ्चमा उभिएको चालीस वर्षको इन्द्रलाई जिन्दगी सोध्छ, ‘के तैले आफ्नो बाल्यकाल बाँचिस् केटा?’ सङ्ग्रहका बलिया सुरुवातमध्ये यो एक हो । ताली र सफलताको उज्यालोबीच उभिएको मानिसभित्र पनि एउटा खाली बिन्दु हुन्छ, जसलाई कुनै उपलब्धिले भर्न सक्दैन । इन्द्र साथीहरूका श्रीमतीहरूको ‘भ्वाइड पोइन्ट’ खोतल्न थाल्छ, तर कथाको सुरुमै ऊ आफ्नै जीवनलाई ‘विराट खालीपन’ भन्छ । तिमीले मायालाई डरसँग जोड्यौ, इन्द्र आफूभित्रको आँट भन्ने जन्तु सानैमा मरिसकेको सम्झन्छ ।
र सबैभन्दा माथि, ‘स्वर्गको गाथा’मा वनराकस बस्छ । अचम्म त के भने, स्वर्गको खण्डमा कसैले स्वर्ग पाउँदैन । गाउँलेहरू भन्छन्, ‘भगवान हामीसँग रिसाएजस्तो छ ।’ यहाँ पनि तिम्रै जस्तो गन्ती छ: तीन प्वाल परेको लँगोटी, तीनवटा दाँत, तीन छोराछोरी । पोहोर साल गाउँभरि दुईको बिगबिगी थियो रे । हामीले पछ्याउने फेसन, नारा र आस्था पनि यस्तै त हुन्, एक वर्ष दुई, अर्को वर्ष तीन । एउटा अन्धो बूढो बिँडी तान्दै सम्झाउँछ, ‘त्याग र बलिदानबिना को स्वर्ग जान सक्छ र केटा हो?’ हाँसो उठ्छ तर घाँटीमै अड्किन्छ । ‘भीड भेडा हुन्छ’ भन्ने उखान त सुनेकै हौ । यो कथामा त्यो उखानको के हुन्छ, तिम्रा पाठकले पढेर हेरून् । कथाको उत्तरार्धमा एक अनपेक्षित पाहुना पनि आइपुग्छ । को, त्यो भन्दिनँ, तर तिमीले उसको नाम यही चिठीमा पहिल्यै सुनिसकेका छौ ।
तिमीहरूलाई बोल्न सिकाउने भाषा पनि अनौठो छ, चाण्डालिक । देव पाठकका वाक्य छोटा, कतै त एक शब्दका हुन्छन्, र तिम्रै गन्तीको लयमा अघि बढ्छन् । नेपाली वाक्यका बीचमा ‘ओके’, ‘पुअर एनिमल’, ‘यू आर हायर्ड’ जस्ता अङ्ग्रेजी शब्द निःसङ्कोच छिर्छन् । त्यो सिड्नीमा बाँचिरहेका तिमीहरूको सास हो । छप्ल्याङ्ग, ह्वालह्वाल्ती, फुरुरु जस्ता शब्दले वीभत्स दृश्यलाई पनि लगभग बालकथाको ध्वनि दिन्छन्, र त्यही बेमेलबाट कालो हास्य जन्मिन्छ । उपमाहरू फूल, जून र तारा जस्ता चिल्ला होइनन् । ती शरीर, फोहोर, कुहिनु र आगोबाट आउँछन्, तिम्रै घाटको माटोबाट । स्वर्भानुले बल्लबल्ल कोरेका शब्द ‘भोकमरीमा पिल्सिएर सुकेनास लागेका’ जस्ता देखिन्छन् । पढ्दा नाक खुम्चिन्छ, तर अर्थ त्यही खुम्चिएको नाकबाटै भित्र पस्छ । र कतिपय बिम्ब त एउटा वाक्यमा अटाउँदैनन्, पूरै कथा बनेर फैलिन्छन्: स्वर्भानुको छाया, चर्च स्ट्रिटको अन्धकार, ज्वाला माधुर्यको कुर्सी, सुत्केरी आमाको अँध्यारो कोठा । एउटै रूपकलाई सुरुदेखि अन्त्यसम्म बढाउँदै लैजाने यो सीप नेपाली कथामा धेरै कम भेटिन्छ ।
अब हिसाब गरौँ, चाण्डालिक । गन्ती त तिम्रो पेशा हो, आज मलाई गन्न देऊ । मेरो विचारमा तिम्रो ‘दरिद्रघाट’ र ‘नेत्रचर उपाधीश’ यस सङ्ग्रहका सबैभन्दा सफल कथा हुन् । पहिलोमा विचार र दृश्य एकै आगोमा जल्छन्, दोस्रोमा हास्य र शोक एउटै वाक्यमा बस्छन् । ‘वनराकस’ र ‘क्षयरस’ तिनको नजिकै छन् । बाँकी कथाले पनि आफ्नै किसिमले सङ्ग्रहलाई धनी बनाएका छन्: ‘छाद विषाद’ ले सुत्केरी आमाको मौन अँध्यारो, ‘हाइना’ र ‘ज्वाला माधुर्य’ले घर र मञ्चको पाखण्ड, अनि ‘भ्वाइड पोइन्ट’ले सफलताभित्रको रित्तोपन । जहाँ पात्र आफ्नो विचारभन्दा जटिल हुन्छ, तिमीजस्तो वा नेत्रचरको ‘पाठकजी’जस्तो, त्यहाँ पाठकले उसको पक्ष नलिए पनि उसलाई बिर्सन सक्दैन ।
अब केही कुरा साथीको हैसियतले पनि भन्छु । रेस्टुरेन्टमा मिठो खाना खाइसकेपछि पनि मनमा आउँछ, थालमा अर्को एउटा परिकार भए हुन्थ्यो । यस्ता कुरा भान्साको आलोचना होइनन्, अर्को पटकको खानाका लागि सानो सुझाव हुन् । तिम्रो घाट घुमिसकेपछि मसँग पनि तीनवटा कुरा बाँकी छन् ।
पहिलो, आवाजको । तिमीसहित धेरैजसो कथा ‘म’ले भनेका छन्, र ‘छाद विषाद’ र ‘ज्वाला माधुर्य’बाहेक ती ‘म’ प्रायः एउटै खालका पुरुष हुन्: संसारलाई व्यङ्ग्यले हेर्ने, दर्शनका केही पङ्क्ति जान्ने, भित्रभित्रै आफैँसँग जुधिरहने । सबै कथा लगातार पढ्दा अघिल्लै कथाको कथावाचक अर्को लुगा लगाएर आएजस्तो लाग्न सक्छ।
दोस्रो, ‘भ्वाइड पोइन्ट’को उत्तरार्धको । कतिपय पाठकलाई यो सङ्ग्रहमा अश्लीलता आयो भन्ने लाग्ला, र म त्यो आरोपसँग सहमत छैन । समाजमा जस्तै कथामा पनि घुरेर हेर्ने र अरूको शरीरलाई सामान ठान्ने सबैले सजाय पाउँदैनन्, र अपराधीलाई अन्तिम पृष्ठमा सजाय दिएर पाठकलाई ढुक्क बनाउनु लेखकको काम होइन । मेरो कुरा अनुपातको मात्र हो । त्यहाँ इन्द्रको नजर महिलाका शरीरमा यति लामो अडिन्छ कि सुरुवातमा उठेको बाल्यकाल र खालीपनको प्रश्न पछाडि पर्छ । त्यो भाग अलि छोटो भएको भए कथा आफ्नो सुरुवातकै प्रश्नतिर फर्कन सक्थ्यो ।
र तेस्रो, महिलाको आफ्नै आवाजको । यस किताबमा महिला पात्र प्रशस्त छन्: तिम्रो घाटकी शवयानी, पोरसकी मृदुना, चर्च स्ट्रिटकी कामाक्षी, विमोचनकी ज्वाला माधुर्य । ‘ज्वाला माधुर्य’ र ‘छाद विषाद’ त महिलाकै मुखबाट भनिएका छन्, तर ज्वाला माधुर्यको आवाज व्यङ्ग्यको ऐनामा उभिन्छ । आफ्नो भित्री घाउ खोलेर देखाउने महिला कथावाचक ‘छाद विषाद’की आमा मात्र हुन्, र त्यो कथाले देखाइसक्यो, देव पाठक महिलाको भित्री आवाज समात्न सक्नुहुन्छ । शवयानीले तिम्रो घाटलाई आफ्नै आँखाले देखाएकी भए, वा मृदुनाले आफ्नो घरभित्रको रात आफैँ भनेकी भए, त्यो अर्कै कथा हुन्थ्यो । अर्को सङ्ग्रहमा यस्ता अरू कथा पढ्न पाए यो ब्रह्माण्ड अझ पूरा हुनेछ ।
यहीँ मलाई लेखनाथ पौड्यालको ‘साहित्यको फुटबल’ सम्झना आउँछ । तिमीले घाटमा फुटबल खेल्ने फुर्सद कहिल्यै पाएनौ होला, तर सुन । त्यहाँ भाषा विशाल चौर हो, साहित्य एउटा बल, र लेखकहरू खेलाडी । कविको चिन्ता खेलाडीको सङ्ख्याभन्दा बलभित्रको हावामा छ: बललाई विचार र जागृतिले भर्नू, तर भर्दाभर्दै फुट्ने गरी होइन । तिम्रो सृष्टिकर्ताको बलमा हावा प्रशस्त छ: कामु, सिसिफस, मुराकामी, महाभारत, पौराणिक नाम र गन्तीका सङ्केत ।
अब यो बल पाठक र आलोचकको चौरमा छ । कसैले अगाडि धकेल्ला, कसैले कडा प्रहार गर्ला । प्रहार गर्न पाइन्छ, तर बललाई लात्ती हान्नु र बल फुटाइदिनु एउटै कुरा होइन । पुस्तकको सबैभन्दा ठूलो दुर्भाग्य त कसैले त्यसलाई नपढ्नु हो, तिम्रो घाटको बेवारिसे लाशजस्तै, जसलाई कसैले नाम लिएर बोलाउँदैन ।त्यसैले मेरो एउटै कामना छ, चाण्डालिक: तिमी बेवारिसे नहोऊ । तिम्रो घाटमा पाठक आइरहून्, तिमीलाई नाम लिएर बोलाइरहून् ।
म त्यो दिन के गर्दै थिएँ, आज पनि सम्झन सक्दिनँ । तर त्यस दिनदेखि एउटा कुरा भने सम्झिरहेको छु: एउटा सामान्य बिहानको एउटा सामान्य फोन, र त्यसले खोलेको तिम्रो घाट । तिमीले मलाई एउटा प्रश्न दियौ, मैले आफ्नो काम बिर्सें । र मेरो बिर्सनाको त्यो खाली ठाउँमा तिमी आएर बस्यौ ।
‘को हुँ म?’
कति सामान्य वाक्य । मानिसका धेरै महत्त्वपूर्ण अनुभव यस्तै सामान्य वाक्यबाट सुरु हुन्छन् । प्रेमको सुरुवात कहिलेकाहीँ ‘चिया खान्छौ ?’ बाट हुन्छ, मित्रताको ‘कहाँ जाँदै?’ बाट । अनि कुनै किताबसँग लामो सम्बन्धको सुरुवात ‘पढ्छौ?’ बाट ।
सायद साहित्यले सधैँ उत्तर दिनुपर्दैन । कहिलेकाहीँ उसले वर्षौँदेखि नसोधिएको प्रश्न फेरि सुनाइदिए पुग्छ । र त्यो प्रश्न सुनिसकेपछि, मानिस पहिलेझैँ निश्चिन्त भएर आफ्नो नाम भन्न सक्दैन ।
तिम्रो एक पाठक,
रमेश अधिकारी
प्रतिक्रिया 4