नोट : अनलाइनखबरले विश्व इतिहासका महत्त्वपूर्ण र रोचक घटनाक्रम सम्बन्धी सामग्री शृंखलाबद्ध रूपमा प्रकाशन गर्न थालेको छ। शृंखलाको पहिलो अंकमा आज हामी इजरायल-प्यालेस्टाइन हिंसाको बिउ कसरी रोपियो भनेर चर्चा गर्दैछौं।
काठमाडौँदेखि पश्चिमतिर झन्डै पाँच हजार किलोमिटर टाढा उडेर जाने हो भने भूमध्यसागरको किनारमा एउटा सानो जमिनको टुक्रो भेटिन्छ। क्षेत्रफलका हिसाबले त्यो जमिन नेपालको बागमती प्रदेशभन्दा पनि सानो छ। तर त्यहाँ धुलोको त्यस्तो कुनै कण छैन, जसलाई रगत र आँसु नभिजाएको होस्। गएको एक शताब्दीमा फरकफरक पुस्ताले उस्तै त्रासदी भोगेको यस्तो भूमि पृथ्वीमा अन्त कतै छैन।
त्यो ठाउँको नाम हामी हरेक दिन समाचारका हेडलाइनमा पढ्छौँ– गाजा। अनि पढ्छौँ– वेस्ट ब्यांक, रफाह, रमल्लाह, जेरुसेलम र तेल अभिभ। हाम्रै सुदूरपश्चिमका विपिन जोशीहरूको जीवन पनि त्यहीँ अन्त्य भयो, जसको सम्झनाले पनि हामी विचलित हुन्छौँ। तर त्यो भूगोलका बासिन्दा यही दुःस्वप्न लिएर जन्मन्छन्। र, जति दिन, महिना वा वर्ष बाँच्छन् हरेक क्षण त्यही त्रासदीले लखेटिएका हुन्छन्।
हामीमध्ये धेरैलाई लाग्छ– यो इसाई, यहुदी र इस्लामबीच हजार वर्ष पुरानो कुनै अन्धविश्वासी धर्मयुद्ध हो। तर इतिहासका पुराना पानाहरू पल्टाउँदा बिल्कुल फरक यथार्थ भेटिन्छ।
यो कुनै ईश्वरका नाममा लडिएको लडाइँ होइन। यो त आधुनिक युरोपको साम्राज्यवादी महत्त्वाकांक्षा, तेल र व्यापारिक नाका कब्जा गर्ने दाउपेचको परिणाम हो। आवरणमा धर्म देखिन सक्छ, तर यसका योजनाकारहरू भने युरोप र अमेरिकाका कर्पोरेट टावरमा भेटिन्छन्।
गाजाका भग्नावशेषमुनि पुरिएका अबोध बालबालिकाहरूको आर्तनाद होस् वा साइरन बज्दा आफ्ना सन्तान छातीमा टाँसेर बङ्कर खोज्ने इजरायली आमाको भय– यी सबैको बीउ ११० वर्षअघि लन्डन र पेरिसका चिसा कोठाहरूमा रोपिएको थियो। आजको बमबारी, क्षेप्यास्त्र प्रहार र रक्तपात त्यही ऐतिहासिक घातप्रतिघातको परिणाम हो, जसको खाका बेलायती र फ्रान्सेलीहरूले पेन्सिल र स्केल चलाएर कोरेका थिए।
सय वर्षअघि कस्तो थियो प्यालेस्टाइन?
त्यतिबेला आजको इजरायल वा प्यालेस्टाइनको अलगअलग नक्सा नै थिएन। खासमा अहिले इजरायल, प्यालेस्टाइन, जोर्डन, सिरिया, लेबनान र इराकसहितको सबै भूभाग अटोमन साम्राज्यका हिस्सा मात्र थियो। इस्तानबुलको दरबारमा बस्ने सुल्तानहरूले चार सय वर्षदेखि यो भूगोलमाथि शासन गरिरहेका थिए।
अहिलेका ६ देश त सानो हिस्सामा सीमित थिए भने अटोमन साम्राज्य आफैँमा कति ठूलो थियो भन्ने त छुट्टै शृङ्खला बन्नेछ। विश्व इतिहासमै सबैभन्दा लामो समयसम्म टिकेको र प्रभावशाली अन्तरमहादेशीय साम्राज्यहरूमध्ये एक थियो अटोमन।
पश्चिम एसिया मात्र होइन, दक्षिणपूर्वी युरोप र उत्तर अफ्रिकासम्म फैलिएको यो साम्राज्य ५० लाख वर्ग किलोमिटरभन्दा बढी भूगोलमा विस्तारित थियो। विशाल भूगोलभित्र रहेका विविध धर्म र जातिका मानिसहरूलाई व्यवस्थापन गर्न उनीहरूले ‘मिल्लत प्रणाली’ लागू गरेका थिए। यस व्यवस्थाअन्तर्गत मुस्लिम, इसाई र यहुदीहरूलाई आआफ्नो धार्मिक कानुन, अदालत र परम्पराअनुसार स्वायत्त रूपमा बाँच्ने स्वतन्त्रता थियो। युरोपमा यहुदीहरूमाथि चरम दमन भइरहेका बेला अटोमन साम्राज्य भने उनीहरूका लागि सुरक्षित आश्रयस्थल थियो।
त्यस बखतको जेरुसेलम वा जाफाका गल्लीहरूमा कुनै राष्ट्रिय सीमा थिएन। अरबी भाषा बोल्ने मुस्लिमहरू बहुसङ्ख्यक थिए। हजारौँ वर्षदेखि त्यही माटोमा जरा गाडेका अरब इसाईहरू पनि त्यतै थिए। सँगै केही प्रतिशत रैथाने यहुदीहरू पनि थिए, जसले व्यापार गर्थे। ती यहुदीहरू अरबी बोल्थे, उनीहरूको रहनसहन र खानपिन स्थानीय अरबहरूसँगै मिल्थ्यो।

पहाडका कान्लाहरूमा जैतुनका बगैँचा थिए। भूमध्यसागरको हावा सुन्तलाका बगानहरू चाहार्दै सुसाउँथ्यो। साम्प्रदायिक घर्षण हुँदै नभएको होइन, तर ‘म बाँच्न तिमी मेटिनुपर्छ’ भन्ने जातीय घृणा बलियो भएको थिएन।
तर, चार सय वर्ष पुरानो अटोमन साम्राज्य भित्रभित्रै मक्किसकेको थियो। १७औँ शताब्दीको अन्त्यतिर, विशेषगरी सन् १६८३ को भियना घेराबन्दी गर्ने प्रयास असफल भएपछि यो साम्राज्य बिस्तारै ओरालो लाग्न थाल्यो। उता युरोप भने औद्योगिक क्रान्ति, सैन्य आधुनिकीकरण र राष्ट्रवादको लहरमा उड्न थालिसकेको थियो। १९औँ शताब्दीसम्म आइपुग्दा अटोमनको अवस्था यति कमजोर भयो कि युरोपेली शक्तिहरूले यसलाई ‘द सिक म्यान अफ युरोप’ (युरोपको बिरामी) भनेर गिज्याउन थालिसकेका थिए।
अटोमनले आफूलाई सान्दर्भिक बनाउन पहिलो विश्वयुद्धमा भाग लियो, त्यो पनि जर्मनीको पक्षमा लागेर। १९१४–१९१८ सम्म चलेको विश्वयुद्धमा जर्मनीले त घुँडा टेक्यो नै, आफैँमा छिन्नभिन्न भएको अटोमनको अस्तित्व पनि मटियामेट भयो।
६०० वर्ष पुरानो अटोमन साम्राज्य ढलेपछि यसका विभिन्न भूभागहरू बेलायत र फ्रान्सले आपसमा भागबन्डा गरे, जसले आजको पश्चिम एसियामा द्वन्द्वको नक्साङ्कन गर्यो।
बेलायतका लागि मध्यपूर्व आफ्नो वर्चस्व देखाउने भूभाग मात्र थिएन, आर्थिक विकासको मेरुदण्ड पनि थियो। एक– त्यो बेला बेलायतको औपनिवेशिक मुटु मानिने भारत पुग्ने सबैभन्दा छोटो समुद्री नाका स्वेज नहर यही भूभागमा थियो। दोस्रो– ब्रिटिस नौसेना आफूलाई आधुनिकीकरण गर्न कोइला छाडेर डिजेलतर्फ जाँदै थियो। अनि, मध्यपूर्वको मरुभूमिमुनि कच्चा तेलको विशाल भण्डार फेला पर्दै थियो।
विश्वयुद्धपछि सम्हालिन खोजेको अटोमन साम्राज्यलाई उठ्नै नदिन बेलायतले एउटा चतुर चाल चालेको थियो। इजिप्टको कायरोस्थित ब्रिटिस उच्चायुक्त हेनरी म्याकमोहनले मक्कामा रहेका अरब शासक शरिफ हुसेनलाई गोप्य पत्र लेखे, ‘यदि अरबहरूले हाम्रा शत्रु तुर्कहरूविरुद्ध विद्रोह गरेर बेलायतलाई सघाए भने युद्धपछि एलेप्पो (अहिले सिरिया) देखि एडेन (अहिले यमन)सम्म फैलिएको (केही भूभागबाहेक) एउटा विशाल, स्वतन्त्र अरब राज्य बनाइदिनेछौँ।’

अरबहरूले बेलायतको वचन पत्याए। ब्रिटिस गुप्तचर अधिकृत टी.ई. लरेन्स, जसलाई लरेन्स अफ अरेबिया भनिन्थ्यो, उनको सहयोगमा अरब लडाकुहरूले अटोमन सेनामाथि भीषण छापामार आक्रमण सुरु गरे। ब्रिटिसहरूले वचन पूरा गरेका भए उत्तरमा सिरियादेखि विशाल साउदी अरब, कुवेत, इराक, बहराइन, जोर्डन, ओमान र यमनलगायतका देश रहेको भूभाग एउटै अरब साम्राज्य हुने थियो। अरबहरूले आफ्नै स्वतन्त्र साम्राज्यको सपना देख्दै रगत बगाए। तर, उनीहरूलाई थाहा थिएन– लन्डनको मनसाय अर्कै थियो।
आआफ्नो अस्तित्व जोगाउन र बढाउन अरबहरू आपसमा भिडिरहेका थिए तर सन् १९१६ को मे महिनामा लन्डन र पेरिसका दुई कूटनीतिज्ञ भने नक्सा अगाडि राखेर गोप्य कोठामा बसेका थिए। ती थिए– बेलायतका मार्क साइक्स र फ्रान्सका फ्रान्स्वा जर्ज–पिको।
छलफलको एजेन्डा थियोः अटोमन साम्राज्यको जमिन आपसमा कसरी बाँड्ने?
हातमा स्केल र पेन्सिल लिएका बेलायतका साइक्सले भूमध्यसागरको एकर सहरदेखि इराकको किर्कुकसम्म पूर्वपश्चिम सिधा धर्को ताने।
–धर्कोको उत्तरतर्फ (आजको सिरिया, लेबनानलगायत): फ्रान्सको नियन्त्रणमा जाने।
–दक्षिणतर्फ (आजको इराक, साउदी र जोर्डनलगायत): बेलायतको हातमा रहने।
–र, तीनवटै धर्मका लागि पवित्र भूमि रहेको प्यालेस्टाइनलाई अन्तर्राष्ट्रिय निगरानीमा राख्ने।
शताब्दीयौँदेखि सँगै बाँचेका गाउँ, परिवार र जनजातिहरूलाई यो पेन्सिलको रेखाले एकाएक दुई देशमा बाँडिदियो। स्थानीय जनता र तिनका प्रतिनिधिलाई सोध्नेसम्मको आवश्यकता कसैले ठानेन।

६७ शब्दको त्यो बाल्फोर घोषणा
साइक्स र पिकोले कोरेको रेखामाथि बेलायतले अर्को पासा फाल्यो।
युरोपमा यहुदीहरूले शताब्दीयौँदेखि सामाजिक बहिष्कार, विभेद र राज्य–संरक्षित हिंसा भोग्दै आएका थिए। १९औँ शताब्दीको अन्त्यसम्म आइपुग्दा यहुदीहरूले आफ्नै पैतृक भूमिमा फर्केर स्वतन्त्र राष्ट्र बनाउनुपर्छ भन्दै ‘जायोनिजम’ अभियान चलाउन थालेका थिए।
पहिलो विश्वयुद्ध उत्कर्षमा पुग्दा बेलायत चरम दबाबमा थियो, किनकि खर्चिलो युद्ध लम्बिएको थियो। अमेरिकालाई पनि युद्धमा तान्न शक्तिशाली लन्डनलाई यहुदीहरूको समर्थन चाहिएको थियो।
सन् १९१७ नोभेम्बर २ मा बेलायती विदेशमन्त्री आर्थर बाल्फोरले बेलायतमा प्रतिष्ठित यहुदी अगुवा लर्ड वाल्टर रोथस्चाइल्डलाई एउटा संक्षिप्त पत्र पठाए। चिठीको केबल ६७ शब्दको मुख्य हिस्सा आज पनि विश्व कूटनीतिको सबैभन्दा चर्चित र विवादित दस्ताबेज मानिन्छः
‘प्यालेस्टाइनमा यहुदी जनताका लागि एउटा ‘राष्ट्रिय घर’ स्थापना गर्ने कुरालाई महाराजको सरकार सकारात्मक रुपमा हेर्दछ र यो उद्देश्य प्राप्तिका लागि हरसम्भव प्रयास गर्नेछ। त्यस्तै प्यालेस्टाइनमा रहेका गैरयहुदी जनसङ्ख्याको नागरिक र धार्मिक अधिकारमा प्रतिकूल असर पर्ने कार्य गरिने छैन।’
प्रख्यात लेखक आर्थर कोएस्टलरले पछि यसलाई व्यङ्ग्य गर्दै लेखेका थिए– ‘एउटा राष्ट्रले अर्को राष्ट्रलाई तेस्रो राष्ट्रको जमिन दिने गम्भीर वाचा गर्यो, जहाँ तेस्रो राष्ट्रको कुनै सहमति थिएन।’
त्यस बखत प्यालेस्टाइनको कुल जनसङ्ख्यामा यहुदीहरूको हिस्सा १० प्रतिशतभन्दा कम थियो; ९० प्रतिशतभन्दा बढी स्थानीय अरबहरू थिए। तर पत्रमा ती ९० प्रतिशत रैथाने जनतालाई उनीहरूको पहिचानबाट सम्बोधनसमेत नगरी ‘विद्यमान गैर–यहुदी समुदाय’ भनेर उल्लेख गरियो– मानौँ उनीहरू नाम नभएका कुनै आगन्तुक हुन्।
एउटा स्वतन्त्र अरबको सपना देख्दा जन्मिए दर्जन मुलुक
बेलायतले फ्रान्ससँग गोप्य रुपमा कोरेका नक्सा र लन्डनमा बाल्फोरले यहुदीका लागि गरेको राष्ट्रिय घरको वाचाबाट मरुभूमिमा युद्धरत अरब लडाकुहरू भने बेखबर थिए। उनीहरू बेलायती उच्चायुक्त म्याकमोहनको वाचामा विश्वास गरेर अटोमन साम्राज्यको बचेखुचेको शक्तिसँग लडिरहेका थिए।

जुन १९१६ मा मक्काका राजा शरिफ हुसेनले अटोमनविरुद्ध ‘अरब विद्रोह’को घोषणा गरेका थिए। विद्रोहको अग्रमोर्चामा उनका साइँला छोरा अमिर फैसल थिए। फैसलका लडाकुहरूले हाल साउदी अरबमा रहेको हेजाज क्षेत्रका रेलमार्ग उडाए। जुलाई १९१७ मा उनीहरूले लाल सागरको किनारमा रहेको अकाबा बन्दरगाह कब्जा गरे। हाल जोर्डनमा रहेको एक मात्र बन्दरगाह अकाबा कब्जा गरेपछि उनीहरू उत्तरतर्फ बढ्दै जनरल एलनबीको नेतृत्वमा रहेको बेलायती सेनाको साझेदार बने। यो सेनाले डिसेम्बर १९१७ मा जेरुसेलम जित्यो।
सन् १९१८ को अक्टोबर। झन्डै सवा दुई वर्षको लडाइँपछि फैसलका लडाकु बेलायती सेनासँगै दमस्कस छिरे। त्यहाँ चार सय वर्षपछि अटोमन झन्डा झारियो। सडकभरि उत्सव मनाइयो। अरबहरूलाई लाग्यो– म्याकमोहनले वचन दिएको विशाल स्वतन्त्र अरब राज्यको सपना अब पूरा हुँदै छ, र त्यसको राजधानी दमस्कस हुनेछ।
तर दमस्कसमा फहराएको अरब झन्डा दुई वर्ष पनि टिकेन।
अरब स्वतन्त्रताको माग सम्झाउन फैसल सन् १९१९ मा पेरिस शान्ति सम्मेलनमा पुगे। अमेरिकी राष्ट्रपति वुड्रो विल्सनले पठाएको ‘किङ–क्रेन कमिसन’ले स्थानीय जनमत बुझेर निष्कर्ष निकाल्योः अरबका बहुसङ्ख्यक जनता स्वतन्त्रता चाहन्छन्, तर फ्रान्सेली शासन त्यो चाहँदैन। अमेरिकाले पनि त्यो प्रतिवेदन वर्षौँसम्म सार्वजनिकै गरेन।
मार्च १९२० मा सिरियाली राष्ट्रिय कांग्रेसले फैसललाई सिरियाको राजा घोषणा गर्यो। एक महिनापछि इटालीको सान रेमो सहरमा बेलायत र फ्रान्स फेरि नक्सा लिएर बसे। सिरिया र लेबनान फ्रान्सको भागमा परे, इराक र प्यालेस्टाइन बेलायतको। साइक्स–पिकोको पेन्सिलको रेखाले मोहर पायो। तर यसले अरब योद्धा र तिनका संरक्षकलाई नै आमनेसामने बनायो।
जुलाई १९२० मा फ्रान्सेली सेना दमस्कसतर्फ बढ्यो। युद्धमन्त्री युसुफ अल–अजमाको नेतृत्वमा पुराना बन्दुक बोकेका सिरियाली योद्धाहरूले फ्रान्सेली ट्याङ्क र विमानको सामना गरे। केही घण्टामै सबै सकियो। युद्धमन्त्री अल–अजमा मारिए र राजा फैसल देश निकाला भए।
त्यसपछि पनि फ्रान्सले ‘फुटाऊ र राज गर’को नीति झन् अघि बढायो। उसले बेरुत, त्रिपोली, सिदोन र बेका उपत्यका जोडेर ‘ग्रेटर लेबनान’ बनायो। बाँकी सिरियालाई पनि अलावी, द्रुज, दमस्कस र एलेप्पोका नाममा सानासाना राज्यमा टुक्र्याउन खोज्यो। तर दोस्रो विश्वयुद्धको क्रममा मात्र सन् १९४३ मा लेबनान र सन् १९४६ मा सिरिया स्वतन्त्र भए।
बेलायतले आफ्नो भागमा भिन्न प्रयोग गरिरहेको थियो। अटोमनका तीन प्रान्त, कुर्द बहुल मोसुल, सुन्नी बहुल बगदाद र शिया बहुल बसरा, जोडेर ‘इराक’ बनाइयो। साइक्स–पिको सहमतिअनुसार मोसुल फ्रान्सको भागमा थियो। तर त्यहाँको जमिनमुनि तेल छ भन्ने थाहा पाएपछि बेलायतले फ्रान्ससँग मोलमोलाइ गर्यो। बदलामा फ्रान्सले इराकी तेलमा २५ प्रतिशत हिस्सा पायो। धर्मको होइन, तेलको हिसाबले यो द्वन्द्व सिर्जना गरिएको थियो भन्ने यो नै एक बलियो उदाहरण हो।
मार्च १९२१ मा कायरो पुगे बेलायती उपनिवेशमन्त्री विन्स्टन चर्चिल। उनीसमेतको बैठकले अनौठो समाधान निकाल्यो। दमस्कसबाट लखेटिएका फैसललाई इराकको राजा बनाइयो। उनका दाजु अब्दुल्लाहलाई जोर्डन नदीपूर्वको मरुभूमिमा ‘ट्रान्सजोर्डन’ नामको नयाँ भूभागको अमिर बनाइयो। यद्यपि सन् १९३२ मा इराक र सन् १९४६ मा जोर्डन स्वतन्त्र भए।
बेलायतले नज्दका शासक अब्दुल अजिज इब्न साउदलाई पनि वर्षौँदेखि भत्ता दिँदै आएको थियो। इब्न साउदका सेनाले मक्का कब्जा गरे र १९२५ सम्ममा हेजाज पनि लिए। सन् १९३२ मा नयाँ देश जन्मियोः साउदी अरब, साउदको पारिवारिक नामबाट देशकै नाम साउदी अरब राखियो। ६ वर्षपछि त्यहाँको मरुभूमिमुनि तेल भेटियो।
कुवेत सन् १८९९ देखि नै बेलायती संरक्षणमा थियो। कुवेतले दाबी गर्दै आएको भूभागको करिब दुई तिहाइ साउदी भागमा पर्यो।
बहराइन, कतार, ओमान र आजको संयुक्त अरब इमिरेट्स १९औँ शताब्दीदेखि नै बेलायतसँगका सन्धिमा बाँधिएका थिए। बहराइन, कतार र यूएई सन् १९७१ मा बल्ल स्वतन्त्र भए। दक्षिणमा यमनको कथा पनि दुई टुक्रामा लेखियो। अटोमन फर्किएपछि उत्तरमा इमाम याह्याको राज्य स्वतन्त्र भयो, तर दक्षिणको एडेन बन्दरगाह सन् १९६७ सम्म बेलायतको उपनिवेश रह्यो। दुई यमन सन् १९९० मा मात्र एक भए।
यसरी एउटा स्वतन्त्र अरब राज्यको सपना दर्जनभन्दा बढी देशमा टुक्रियो। तिनका सीमा लन्डन र पेरिसले कोरे, र धेरैजसो देशका राजा लन्डनले नै छाने। अरबहरूले रगत बगाएर जितेको युद्धको फल युरोपले बाँडेर खायो।
तर यो भागबन्डाको सबैभन्दा जटिल टुक्रा भने अझै बाँकी थियोः प्यालेस्टाइन, जहाँ बेलायत दुई पक्षलाई दुईथरी वाचा गरेर पाइला राख्दै थियो।
बारुदको पहिलो झिल्को र साम्राज्यको पलायन
पहिलो विश्वयुद्ध सकियो। अटोमन साम्राज्य ढल्यो। सन् १९२२ मा ‘लिग अफ नेसन्स’को निर्णयबाट प्यालेस्टाइनको शासन चलाउने जिम्मा औपचारिक रूपमा बेलायतले लियो।
बेलायतले प्यालेस्टाइनमा हात हाल्दा दुईवटा वाचा गरेको थियोः
एकातिर अरबहरूलाई ‘स्वतन्त्र राज्य’को वाचा।
अर्कोतिर यहुदीहरूलाई ‘राष्ट्रिय घर’को वाचा।
बेलायतकै घोषणाका आधारमा आफ्नो राष्ट्रिय घर बनाउन युरोपबाट यहुदी आप्रवासीहरूको लर्को प्यालेस्टाइनतर्फ लाग्न थाल्यो। उनीहरूले जमिन किन्न थाले र नयाँ बस्तीहरू बसाउन थाले। स्थानीय अरबहरूले आफ्नो खुट्टामुनिबाट जमिन भासिँदै जान थालेको महसुस गरे। स्वतन्त्र अरब राज्यको सपना त टाढिँदै थियो।
१९२० को दशकदेखि नै जेरुसेलम र हिब्रोनमा खुनी दङ्गाहरू भड्किन थाले। सन् १९३६ मा आइपुग्दा अरबहरूले बेलायती शासन र यहुदी आप्रवासनविरुद्ध ३ वर्ष लामो ऐतिहासिक विद्रोह गरे। बेलायतले त्यो विद्रोहलाई निर्ममतापूर्वक दबायो– हजारौँ अरब मारिए, जेल हालिए वा गाउँ निकाला गरिए। अरब समाज नेतृत्वविहीन र निशस्त्र बन्न पुग्यो। त्यसको ठीक उल्टो, हगाना र इरगुनजस्ता यहुदी भूमिगत दस्ताले सैन्य तालिम र आधुनिक हतियार बटुल्दै गए।
जब सन् १९३० को दशकमा हिटलरको नाजी जर्मनीले युरोपमा ६० लाख यहुदीहरूको नरसंहार गर्दै थियो, प्यालेस्टाइनतर्फ आउने शरणार्थीहरूको सङ्ख्या सुनामीझैँ बढ्यो।
बेलायत आफैँले सल्काएको आगोको लप्काले घेरिँदै थियो। अरबहरूलाई विश्वासमा लिन बेलायतले यहुदी शरणार्थीको कोटा तोकेर सीमा कडाइ गर्न खोजेको पनि थियो। अब यहुदी समूहहरू नै बेलायतविरुद्ध खनिन थाले। यहुदी भूमिगत लडाकुहरूले बेलायती सैनिक, कार्यालय र पूर्वाधारहरूमा बम हान्न थाले। सन् १९४६ मा जेरुसेलमको ‘किङ डेभिड होटेल’ मा भएको विस्फोटमा ९१ जना मारिए, जसमा अधिकांश बेलायती प्रशासनिक अधिकारीहरू थिए।
दोस्रो विश्वयुद्ध सकिँदा बेलायत आर्थिक रूपमा थिचिएको थियो। भारत छाड्ने तरखरमा रहेको लन्डनसँग अब प्यालेस्टाइनको यो खुनी दलदल सम्हाल्ने न इच्छा थियो न शक्ति।
सन् १९४७ को फेब्रुअरीमा बेलायतले हात टक्टक्याउँदै घोषणा गर्यो– ‘हामी प्यालेस्टाइनको म्यान्डेट त्याग्दै छौँ। अब यसको फैसला नवगठित संयुक्त राष्ट्रसंघले गरोस्।’
आगो सल्काएर बेलायत चुपचाप पछाडिको ढोकाबाट भाग्दै थियो। तर, मरुभूमिमा पेन्सिलले कोरेका रेखाहरू रगतका रेखामा बदलिइसकेका थिए। अझ त्यो ६७ शब्दको त्यो चिठीले एउटा यस्तो विस्फोटक बारुद तयार पारिसकेको थियो, जो सन् १९४८ मा आएर पड्किनेवाला थियो।
यो शृंखलाको अर्को अंकमा इजरायल कसरी अस्तित्वमा आयो भन्नेबारे चर्चा गर्नेछौं।
प्रतिक्रिया 4