११ मंसिर, काठमाडौं । सरकारले सबै यातायात रोजगारदाता र मजदुरलाई सामाजिक सुरक्षा कोषका सुविधाबाट लाभान्वित हुन आह्वान गरेको छ ।
सामाजिक सुरक्षा दिवसका अवसरमा यातायात व्यवस्था विभागले यस्तो आह्वान गरेको हो । यातायात क्षेत्रमा कार्यरत श्रमिकको पेसागत सुरक्षा, भविष्यको सुनिश्चितता तथा भइपरी आउने जोखिम न्यूनीकरणका लागि कोषमा आबद्ध हुन सरकारले आह्वान गरेको हो ।
सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अनुसार उपचार खर्च प्राप्त हुन्छ । दुर्घटना अशक्तता सुरक्षा योजना अन्तर्गत कार्यस्थल वा सवारी दुर्घटनामा परे सम्पूर्ण उपचार खर्च तथा अंगभंग भई अशक्त भए आजीवन पेन्सन सुविधा कोष छ ।
योगदानकर्ताको मृत्यु भए निजको पति वा पत्नीलाई आजीवन पेन्सन, सन्ततिलाई शैक्षिक वृत्ति तथा संस्कार खर्च उपलब्ध हुन्छ । अवकाशपछिको जीवनयापनका लागि पेन्सन तथा अवकाश सुविधा योजनाबाट लाभान्वित हुन सकिन्छ ।
प्रतिक्रिया 4