११ मंसिर, काठमाडौं । तेस्रोपटक मधेश सरकारको नेतृत्व लिने अवसर पाएको जनता समाजवादी पार्टी (जसपा), नेपालका नेताहरू काठमाडौं आइपुगेका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादव बिहीबार साँझ नै आएका हुन् भने मुख्यमन्त्री सरोजकुमार यादव शुक्रबार ।
अरु नेताहरू पनि काठमाडौं आउँदैछन् । ‘अध्यक्ष र मुख्यमन्त्री सहित नेताहरू आइसक्नु भएको छ, अब सबै दलका नेताहरूसँग भेटेर विश्वासको मत माग्ने योजना छ,’ जसपा नेपालका नेता मनिष सुमन भन्छन् । नेताहरूलाई भेट्ने कार्यतालिका भने बनिसकेको छैन ।
तर कांग्रेस, एमाले, नेकपा लगायत सबै दलका नेतालाई भेटेर समर्थन माग्ने तयारी भइरहेको छ ।
‘हाम्रो चाहनाले सरकारको नेतृत्व लिएको होइन । संवैधानिक व्यवस्था बमोजिम मुख्यमन्त्री बन्नु परेको हो,’ सुमन भन्छन्, ‘यो सरकारले विश्वासको मत पाएन भने प्रदेश सभा विघटनतिर जान सक्छ । त्यसैले संघीयतालाई बलियो बनाउन पनि यो सरकार टिक्नुपर्छ ।’
यही सरकार अन्तिम र चुनावी हुने विश्वास गर्छन् उनी ।
‘संविधानको अर्को धारा प्रयोग गर्ने र यो सरकारलाई असफल बनाउनेतिर लाग्नु बेठीक हो,’ सुमन भन्छन्, ‘यही सरकार अन्तिम र चुनावी बन्नुपर्छ । हाम्रो आग्रह यही हो ।’

प्रदेश तहका नेताहरुसँग गरिने छलफल र निर्णयले विश्वासको मत प्राप्त गर्ने स्थिति नरहेपछि उपेन्द्र यादव सहित नेताहरू काठमाडौं आएका हुन् । ‘प्रदेश तहमा हुने छलफलले हाम्रो निर्णय बदलिने स्थिति छैन,’ एमालेका एक नेता भन्छन्, ‘हिजो सरकार बदल्ने निर्णय पनि प्रदेश तहमा भएको होइन । केन्द्रले लिएको निर्णय पालनाकर्ता जस्तो छौं, हामी ।’
उनका अनुसार जसपा नेपालले धोका दिएर मुख्यमन्त्री नियुक्त गरेकाले पनि एमाले विश्वासको मत दिने पक्षमा छैन ।
‘सरोज यादव मुख्यमन्त्री नियुक्त हुनुभन्दा १० मिनेटअघिसम्म पनि हामी सँगै थियौं,’ एमालेका ती नेता भन्छन्, ‘तर उहाँ एकाएक बेपत्ता हुनुभयो, हामीलाई धोका दिनुभयो ।’
कांग्रेस नेता कृष्ण यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने खेलको नेतृत्व नै एमालेले लिएको थियो ।
एमालेको प्रस्तावमै नेकपाले पनि सरकार छोडेपछि कृष्ण यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
नेताहरूका अनुसार कांग्रेस नेतृत्वको सरकार ढालेर जसपा नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउने निर्णय गुन्डुमै भएको थियो । ‘यहाँका नेताहरू सरकारबाट बाहिरिने चाहनामा हुनुहुन्थेन, मन्त्रीहरू पनि राजीनामा दिन तयार थिएनन्,’ एमाले मधेशका एक नेता भन्छन्, ‘तर पार्टी अध्यक्षले दिएको निर्देशन पालना गर्नुको विकल्प पनि थिएन ।’
जसपा नेता सरोज यादवको नेतृत्वमा सरकार बनाउनेगरी एमाले र नेकपाका मन्त्रीहरूले राजीनामा दिएर विश्वासको मत फिर्ता लिएका थिए । तर गुन्डुको योजना बमोजिम नयाँ सरकार बनेनन् ।
गत ५ मंसिरमा संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा सरोज यादव मुख्यमन्त्री नियुक्त भए । एमाले र नेकपाले सर्मथन गर्न र सरकारमा भाग लिन पाएनन् ।
जसपा नेपालको यो शैलीलाई एमाले र नेकपाका नेताहरूले धोका भनेका छन् । ‘हामी सरकारमै थियौं, तर अर्को संयुक्त सरकार बनाउने भनेर राजीनामा दिएर बाहिर आयौं,’ नेकपा मधेशका एक नेता भन्छन्, तर हामीलाई बाहिरै राखेर जसपाले मुख्यमन्त्री बनाउने निर्णय गर्यो ।’ उनका अनुसार नेकपाले वर्तमान मुख्यमन्त्रीलाई विश्वासको मत दिने वातावरण छैन ।

१०७ सदस्यीय प्रदेश सभामा जसपासँग २७, एमालेसँग २४, कांग्रेससँग २२, नेकपासँग १५, जनमत पार्टीसँग १२, नेसपा, राप्रपा र नाउपासँग १/१ जना सांसद छन् । मुख्यमन्त्री यादवले विश्वासको मत पाउनलाई एमाले, कांग्रेस र नेकपा मध्ये कुनै एउटा दलको साथ अनिवार्य छ ।
तर जनकपुरमा भइरहेको छलफल र शक्ति–संघर्ष जसपा नेपालको पक्षमा छैन । एक नेताका अनुसार कांग्रेस, एमाले र नेकपाका नेताहरुबीच लगातारजसो छलफलमा छन् ।
‘आज पनि हामीले छलफल गर्यौं । वर्तमान मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भन्नेमा हामी एकठाउँ छौं,’ उनी भन्छन् । ५ मंसिरमा पनि यी तीन दलका नेताहरुले प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णलाई भेटेर संयुक्त सरकार गठनका निम्ति समय थप गरिदिन आग्रह गरेका थिए ।
संविधानको धारा १६८ (२) बमोजिम सरकार बनाउन बहुमत जुटाउने उनीहरूको तर्क थियो । कांग्रेस, एमाले र नेकपा मिल्दा ६१ सिट पुग्ने भएकाले प्रदेश प्रमुखले संयुक्त सरकार गठनका लागि समय थप गरिदिन पनि सक्थे ।
तर त्यसो नगरी संविधानको अर्को धारा बमोजिम जसपा नेपालका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरिदिए ।
कांग्रेसका तीन विकल्प
अग्रगामी मोर्चामा रहेका जनमत पार्टीको साथ पाउने विश्वासमा रहेको जसपा नेपाललाई बहुमत जुटाउन कांग्रेसप्रति तुलनात्मक बढी आशा देखिन्छ ।
यद्यपि प्रदेश सभामा रहेका सबै दलका नेताहरुसँग कुरा गर्ने तयारीमा जसपाका नेताहरू छन् ।
‘कुराकानी सबै दलसँग गरेपनि कांग्रेसप्रति अलि बढी आश जसपाले गरेको छ,’ एक शीर्ष नेता भन्छन्, ‘किनभने कांग्रेस नेतृत्वले वास्तविकता बुझेको छ, उहाँहरुको सरकार कसले ढाल्यो भन्ने तथ्य लुकेको छैन ।’
मधेश सरकारको नेतृत्व बदल्ने योजना उपेन्द्र यादवले नभएर केपी ओलीले तयार पारेकाले पनि कांग्रेसको मत पाउने विश्वास जसपाका नेताहरूले गरेका छन् । उच्च स्रोतका अनुसार यो सम्भावनाप्रति कांग्रेस नेतृत्व नकारात्मक छैन ।

यद्यपि अरु विकल्पमा पनि छलफल गर्न कांग्रेसका नेताहरूले चाहेका छन् । ‘हाम्रै नेतृत्वको सरकार थियो, जुन सरकार बिना कारण ढालिएको छ,’ कांग्रेसका एक शीर्ष नेता भन्छन्, ‘पहिलो प्राथमिकता आफ्नै सरकार ब्युँताउने हो ।’
वर्तमान मुख्यमन्त्रीलाई विश्वासको मत नदिएर अर्को सरकार बनाउँदा त्यसको नेतृत्व फेरि आफ्नै पार्टीले पाउने आशा कांग्रेस नेताहरूले गरेका छन् ।
‘मुख्यमन्त्री सरोज यादवलाई विश्वासको मत नदिने हो भने एमाले र नेकपासँग विकल्पहरू बाँकी रहँदैन,’ उनी भन्छन्, ‘उहाँहरूले साथ दिँदा फेरि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ ।’
तर बिनाकारण राजनीतिक अस्थिरता निम्त्याउने ओली र प्रचण्डको योजना विफल बनाउन कांग्रेसले एकपटक त्याग गर्न सक्ने विकल्प पनि रहेको स्रोत बताउँछ ।
‘हाम्रो नेतृत्व वर्तमान मुख्यमन्त्रीलाई समर्थन गरेर जाने विकल्पमा पनि खुला छ, तर कुनै निर्णयमा पुगिसकेको अवस्था भने होइन,’ कांग्रेस स्रोत भन्छ ।
निर्णय नलिएर प्रदेश सभा विघटन हुने स्थिति आउन दिने पक्षमा भने कांग्रेस नरहेको उनी बताउँछन् । ‘हामीसँग तुलनात्मक खराब विकल्प पनि छ,’ ती नेता भन्छन्, ‘एमालेले अगाडि बढाउने पात्रलाई समर्थन गरेर पनि सरकारको विकल्प दिन सकिन्छ ।’
नेताहरूका अनुसार जसपा नेपालका अध्यक्ष यादव भने कांग्रेस नेतृत्वको साथ पाउनेमा आशावादी छन् । ‘कांग्रेसको सरकार ढल्यो । जसपा नेपाललाई त फुटाउनेसम्मको योजना एमाले र नेकपाले बनाएको थियो,’ एक नेता भन्छन्, ‘त्यसैले हामीबीच कुरा मिल्न सक्छ । यसलाई स्वभाविक मान्नुपर्छ ।’
प्रतिक्रिया 4