+
+
Shares

बोरिङ सञ्चालन भएपछि रामपुर बिर्ताको सिँचाइ समस्या समाधान हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते ७:०१

१२ मंसिर, सिरहा । सिरहाको मिर्चैया नगरपालिका-१ रामपुर बिर्ताका किसानले वर्षौंदेखि भोग्दै आएको सिँचाइ समस्या समाधान हुने आशा पलाएको छ ।

सिँचाइ अभावमा पर्याप्त उत्पादन गर्न नसकिरहेका किसानलाई लक्षित गरी निर्माण गरिएको डिप बोरिङको नेपाली कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले उद्घाटन गरेका छन् ।

सङ्घीय सरकारमा दीपक खड्का मन्त्री रहेका बेला सलहेश पोखरीनजिक डिप बोरिङ निर्माणका लागि एक करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तत्कालीन सांसद मञ्जु खाँणको पहलमा अघि बढेको उक्त योजना निर्माण सम्पन्न भएपछि सञ्चालनमा ल्याइएको हो ।

स्थानीय किसान सुकचेन मुखियाका अनुसार यसअघि किसानहरू आकाशे पानीको भरमा खेती गर्न बाध्य थिए । समयमा वर्षा नहुँदा बाली सुक्ने र सिँचाइ अभावमा करिब १०० बिघा खेतीयोग्य जमिनमा पर्याप्त उत्पादन लिन नसक्ने अवस्था थियो । डिप बोरिङ सञ्चालनमा आएपछि खेतमा सहजै पानी पुर्‍याएर खेती गर्न सकिने उनले बताए ।

त्यस्तै, अर्का किसान गोपाल सापकोटाले पनि लामो समयदेखिको सिँचाइ समस्या समाधान हुने आशा पलाएको भन्दै खुसी व्यक्त गरे । सिँचाइ सुविधा उपलब्ध भएपछि खेतीयोग्य जमिनको सदुपयोग हुनुका साथै कृषि उत्पादन र आम्दानी बढ्ने किसानहरूको अपेक्षा छ ।

डिप बोरिङ सञ्चालनमा आएसँगै रामपुर बिर्ताका करिब १०० बिघा जमिनमा सिँचाइ सुविधा पुग्ने र वर्षौँदेखि सिँचाइ अभावमा समस्यामा परेका किसानलाई खेतीपाती गर्न सहज हुने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति धनेश्वर यादव, सुरेन्द्र यादव, प्रदेशसभा क्षेत्र नम्बर ४ (क) का सभापति रमेशप्रसाद न्यौपाने, मिर्चैया–१ का वडाध्यक्ष रुपेश महतो, कर्जन्हा–१० का वडाध्यक्ष मोहम्मद सागिर मियाँ, क्षेत्रीय सचिव देवकृष्ण साह, नगर सभापति सञ्जीव यादव तथा स्थानीय किसानलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?