+
+
Shares

नारायणगढ–मुग्लिङ सडक आइतबारदेखि दैनिक ५ घण्टा बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते ५:३३

१२ मंसिर, चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न मंसिर १३ गते आइतबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।

तुइनखोला क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधि अपनाएर रोकथामको काम अघि बढाउन लागेको जनाएको छ । गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि रोकथामका उपाय अपनाउन लागिएको हो ।

पहिरो रोकथामका लागि ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ ।

साथै, भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायोइन्जिनियरिङ (जैविक प्रविधि) प्रयोग गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय अवलम्बन गरिने र पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिने सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले बताए ।

गत असोजदेखि रोकिएको तुइनखोला पहिरो रोकथामको काम पुनः सुरु गर्न लागिएको हो । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा पनि तुइनखोलामा काम गरिएको र कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलामा बाटो सहज बनाउन काम रोकिएको शर्माले बताए ।

उनका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बन्द गरेर काम गर्नुपर्ने देखिन्छ । प्राविधिक मूल्याङ्कनपछि कति समय सडक बन्द गरेर काम गर्ने भन्ने निर्णय हुनेछ । अहिले अर्को सूचना जारी नभएसम्मका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो ।

पृथ्वी राजमार्गको मुग्लिङनजिक घोप्टेभीरमा भोलिसम्म काम सकिने र पर्सिदेखि राजमार्ग सञ्चालनमा आउने शर्माले जानकारी दिए । घोप्टेभीरको काम सकिएपछि तुइनखोलामा पहिरो रोकथामको काम अघि बढाइनेछ ।

काठमाडौंबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ । सडक बन्दका कारण यात्रुलाई पर्न जाने असुविधालाई ध्यानमा राख्दै प्रशासनले यात्राको समय व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?