+

दशौं राष्ट्रिय खेलकुदमा आज ८ खेल हुँदै, बागमती शीर्ष स्थानमा हुँदा कर्णाली पदकविहीन

२०८३ मंसिर  १३ गते ६:२२ २०८३ मंसिर १३ गते ६:२२

१३ मंसिर, सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज ८ खेल हुँदैछन् ।

आज महिला र पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, बक्सिङ, जिम्न्यास्टिक,  फुलकन्ट्याक्ट कराते र टेनस प्रतियोगिता हुँदैछन् ।

आजका सबै खेल बिहान ९ बजे सुरु हुनेछन् । टेनेस बर्दियामा हुनेछ भने अरु ७ वटा खेल सुर्खेतको रंगशालाका कभर्डहलहरू, कालुङचोक क्रिकेट मैदान र सेनाको राजदल गणमा हुनेछन् ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हालसम्म सम्पन्न खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । प्रतियोगिताको सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ ।

हालसम्म सम्पन्न खेलका आधारमा बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कांस्य गरी कुल ४५ पदक जितेको छ । कर्णालीले भने अहिलेसम्म कुनै पनि विधामा पदक जित्न सकेको छैन ।

सहआयोजक प्रदेश नै पदकविहीन हुनुको कारणबारे कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले जनशक्ति अभाव, भौगोलिक विकटता र तयारीले पूर्णता पाउन नसक्दा अपेक्षित नतिजा हासिल हुन नसकेको बताए ।

पदक तालिकामा गैरआवासीय नेपाली संघ (एनआरएन) दोस्रो स्थानमा छ । एनआरएनले १२ स्वर्ण, चार रजत र चार कास्य गरी कुल २० पदक जितेको छ ।

त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण, २० रजत र १९ कास्य गरी कुल ५० पदक जितेको छ भने नेपाल पुलिस क्लबले आठ स्वर्ण, १५ रजत र १८ कास्य गरी कुल ४१ पदक प्राप्त गरेको छ ।

त्यस्तै, गण्डकी प्रदेशले चार स्वर्ण, एक रजत र चार कास्य गरी नौ पदक, कोशी प्रदेशले चार स्वर्ण, एक रजत र एक कास्य गरी छ पदक तथा सशस्त्र प्रहरी बल (एपीएफ) ले तीन स्वर्ण, एक रजत र एक कास्य गरी पाँच पदक जितेका छन् ।

लुम्बिनी प्रदेशले दुई स्वर्ण, छ रजत र तीन कास्य गरी ११ पदक तथा सुदूरपश्चिम प्रदेशले दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक जितेका छन् । मधेश प्रदेशले भने दुई कास्य पदक मात्रै जितेको छ । कर्णाली प्रदेशको पदक सङ्ख्या शून्य छ ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार दशौं राष्ट्रिय खेलकुदअन्तर्गत मंसिर ८ गतेदेखि पौडी, शारीरिक सुगठन, फुटबल, क्रिकेट, बास्केटबल, टेनिस, फुलकन्ट्याक्ट कराते, बक्सिङ र जिम्न्यास्टिकलगायतका खेल अनौपचारिक रूपमा सञ्चालन भइरहेका छन् । तीमध्ये पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन् ।

नेपाल पुलिस पुरुष फुटबलको सेमिफाइनलमा

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा शनिबार भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

नेपाल पुलिसका सुजन बलाम्पाकी मगरले पहिलो हाफको अतिरिक्त समयको ४६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा नेपाल पुलिसका शिशिर चौधरी, सञ्जीव लामा र अभिषेक लामा तथा गण्डकीका सन्दीप पौडेल र बिसन गुरुङले पहेँलो कार्ड पाएका थिए ।

नेपाल पुलिस सेमिफाइनलमा प्रवेश गर्दा गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।

दशौँ राष्ट्रिय खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय