बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी र चेल्सीका डिडियर ड्रोग्बा फुटवल मैदानका परिचित प्रतिस्पर्धी हुन् ।
तर, यी दुर्इ स्ट्राइकरवीच हालै नेपाली मःमः खान पनि प्रतिस्पर्धा भएको छ ।
बिश्वकपका बेला १० नम्बरको जर्सी लगाएर मेस्सीको समर्थनमा उत्रिने नेपालीलाई खुसीको खवर छ- यो प्रतिस्पर्धामा ड्रोग्बालाई मेस्सीले नै उछिनेका छन् ।
हालै सार्वजनिक गरिएको एक बिज्ञापनमा मेस्सीको नेपाल र मःमः कनेक्सनलाई देखाइएको छ । टर्किस एयरलाइन्सको खानाको प्रर्बद्धन गर्न बनाएको बिज्ञापनमा देखाइएको कथावस्तु अनुसार ड्रोग्बालाई बिश्वभरका खाना परिक्षण गरी मेस्सीलाई जित्ने रहर लाग्छ ।
सवैभन्दा पहिले आउँछन उनी नेपाल । जहाँ उनी एक रेष्टुँरामा पसेर पलेंटी कस्दै मःमः खान बस्छन् । ड्रोग्बा त्यतिबेला झसङ्ग हुन्छन-जब उनले मःमः ब्यापारीसँग मेस्सीले अंकमाल गरेको तस्वीर भित्तामा देख्छन् ।
उनले थाहा पाए-मेस्सी त पहिले नै नेपाल आएर मःमःको स्वाद लिइसकेका रहेछन् । उनकै हस्ताक्षर भएको तस्वीर भित्तामा झुण्डिएको छ ।
त्यसपछि उनी जापान जान्छन- त्यहाँ पनि मेस्सीको हस्ताक्षर गरिएको तस्वीर भित्तामा झुण्डिएको हुन्छ । त्यसपछि उनी साइबेरिया जान्छन, त्यहाँ पनि मेस्सीकै तस्वीर भित्तामा झुण्डिएको हुन्छ ।
आजित भएर ड्रोग्बा टर्किस एयरको बिमानभित्रकै खानामा रमाउँछन् । तर, त्यहाँ पनि मेस्सीको अटोग्राफसहितको तस्वीर भित्तामा देखिन्छ ।
नेपालमासमेत उडान गर्दै आएको टर्किस एयरले आफ्नो खानाको प्रर्बद्धनका लागि बनाएको यो बिज्ञापन शुक्रबार युट्युवमा अपलोड गरिएको हो ।
२४ घण्टा नवित्दै करिव १० लाखले यो भिडियो हेरिसकेका छन् । टर्किस एयर संसारमै सवैभन्दा धेरै शहरमा उडान गर्ने युरोपेली एयरलाइन्स हो ।