चलचित्र ‘चंखे शखे पंखे’को हाल धमाधम छायांकन भैरहेको छ । करिब ८० लाखको बजेटमा तयार हुने भनिएपनि यो चलचित्रको बजेट बढ्ने संभावना छ । हालै मात्र चलचित्रको पहिलो चरणको छायांकनका लागि महंगो सेट तयार पारिएको छ । निर्माण यूनिटले बालाजुको फिल्म स्टूडियोमा तयार पारेको सेटलाई अहिले सम्मकै महंगो भन्दै दाबी गरेको छ ।
छायांकार राजेश श्रेष्ठले चाहे अनुसारको स्पेश र रंग मिलाएर सेट बनाउँदा पर्दामा राम्रो देखिने बताए । चलचित्रमा नायिका पूजा शर्मा टेलिभिजन रिपोर्टरको भूमिकामा देखिएकी छिन् । यस्तै, चलचित्रको शिर्ष भूमिका सुवास थापा, प्रेम पुरी र निर्देशक सुदर्शन थापा देखिएका छन् । नायिका नन्दिता केसीको चलचित्रमा विशेष भूमिका छ ।
यो सेट पश्चात एक डान्सिङ नम्बरका लागि बालाजुको फिल्म स्टूडियोमा नै अर्को सेट लगाउने निर्माणपक्षले तयारी गरेको छ । निर्माता सन्तोष सेनले आफू पहिलो चलचित्रबाट नै यो क्षेत्रमा स्थापित हुन खोजेको भन्दै कुनै कन्जुस्याँई विना नै काम गरिरहेको बताए ।
छायांकन सुरु भएको एक महिना भैसकपनि अझै १५ दिन पश्चात यसको छायांकनको काम सकिनेछ । निर्देशक सुदर्शन थापाले आफ्नो करिअरकै महंगो र राम्रो मेकिङमा चलचित्र बनिरहेको बताए ।