+
+

मदिराले लठ्ठ युवतीलाई झन्डै बमले उडायो

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ४ गते ६:३९

४ माघ, काठमाडौं । शुक्रबार राति स्युचाटारस्थित कृष्णहरि बिडारीको घरमा डेरामा बस्दै आएकी एक युवतीलाई मदिराको नशासँग झन्डै बमले उडाएन।

डेढ महिनाअघिदेखि अमृत शर्मा नाम गरेका युवकसँग डेरामा बसेकी इलामकी सीतामाया राईको मदिरा नशा केहीबेरमै सकियो, जब उनकै कोठामा ठूलो आवाजसहित सुतली बम पड्किएको अन्नपूर्ण पोस्टमा खबर छ।

राति साढे नौ बजेतिरको यो घटनाले स्युचाटारमा कोलाहल मच्चियो। विस्फोटको आवाजपछि ‘बचाऊ बचाऊ’ भनेर राईले कराएपछि एउटै घरमा डेरामा बस्ने सर्वसाधारण र अन्य स्थानीय बासिन्दा पुगेर ढोकाको ग्रिल फोडिदिए। कोठा बारुदको मुस्लोले भरिएको थियो।

प्रहरी करिब २० मिनेटपछि घटनास्थल पुगेको थियो। प्रहरी पुगेर केरकार गर्दा युवती मदिरामा लठ्ठ थिइन्। युवतीले पिएको भर्जिनको बोतलसँगै कटुवा पेस्तोल भुइँमै थियो।

पेस्तोलमा दुईवटा गोली लोड गरिएको थियो। एकातिर मदिरामा लठ्ठ युवती र अर्कोतिर कटुवा पेस्तोल देखेपछि प्रहरी टोली झस्कियो। कुनै आतंककारी समूह त छैन भनेर घर घेरेर सर्च गर्दा केही फेला परेन। बरु अर्को सुतली बम र बारुद कोचिएको बट्टा फेला पर्‍यो।

ओच्छ्याननजिकै तराई जनतान्त्रिक ज्वाला सेना (समूह) लेखेको चन्दा रसिद फेलापर्यो‍। कोठामा राईको राहदानी र कतार एअरलाइन्सको टिकट पनि फेला परेको छ। घटनास्थलमा महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्तबहादुर पाल र काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम कार्की पनि पुगेका थिए।

फेला परेको सुतली बम डिस्पोजल टोलीले डिस्पोज गरायो। फरार शर्माको खोजीका लागि नाकानाकामा प्रहरी तैनाथ भए पनि उनी फेला परेनन्। युवतीले दिएको युवकको परिचय सही नभएको निष्कर्षमा प्रहरी पुग्यो।

शर्माले राईलाई डेढ महिनादेखि डेरामा राखेका थिए। पतिपत्नीकै हैसियतमा बसेका उनीहरूमाथि घरबेटी र अन्य स्थानीयले खासै ख्याल गरेनन्।

राईले प्रहरीलाई दिएको बयानअनुसार उनी दुईतीनपटक इजरायल गएर स्वदेश फर्किएकी हुन्। फरार शर्माले आफूले चढ्ने मोटरसाइकल घरबेटी बस्ने अर्को घरनजिकै राखेका थिए। बा ६४ प ३०३३ नम्बरको कालो पल्सर उक्त मोटरसाइकल भने सिन्धुपाल्चोककी सानु नेपालको नाममा रहेको प्रहरी अनुसन्धानबाट खुल्यो।

बसको टिकटमा भने शर्माले अमृत सिंह भनेर टिपाएका थिए। राईलाई शर्माले आफ्नो काठमाडौंमै सिमेन्ट फ्याक्ट्री छ भनेर ढाँटेका थिए। काठमाडौं प्रहरी प्रमुख एसएसपी कार्कीले भने, ‘मदिराले लठ्ठ युवतीलाई झन्डै बमले उडाएन।’ घरबेटी बिडारीले नाम, थर र ठेगनासमेत थाहा नपाई डेरा दिएका रहेछन्।

प्रहरीले कोठा खानतलासी गर्दा शर्माको पहिचान हुने कुनै वस्तु फेला नपरेको कार्कीले बताए। ‘चन्दा रसिद फेला परेको छ, नाम नसुनेको पार्टी देखिएको छ, खोजतलास गर्छौं’, कार्कीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?