Comments Add Comment

यी हुन् ‘सियो मान्छे’, अनुहारमा रोप्छन् साढे ५ सय सियो

siyo-manchhe

उनको खास नाम भुपेन चन्द्र दास हो । २७ वर्षका यी युवक आफ्नो खास नामबाट भन्दा ‘भारतका सियो मान्छे’ अर्थात् इण्डियन नीडल म्यानको उपनामले परिचित छन् । यसो हुनुको खास कारण छ, त्यो के भने उनले आफ्नो अनुहारमा मात्रै एकैपटकमा साढे ५ सय सियो रोपेर अड्याउन सक्छन् ।

भारतको आसामस्थित हाजो क्षेत्रका बासिन्दा भुपेनको नाम भारतको गिनिज बुक अर्थात् इण्डिया बुक अफ रेकर्डस्मा लेखिइसकेको छ । एकदिन आफ्नो नाम गिनिज बुक अफ वल्र्डस् रेकर्डस्मा लेखाउने लक्ष्य उनको रहेको छ ।

बार्कोर्फ्ट टेलिभिजनसँगको कुराकानीमा उनले आफ्नो इतिहास बताएका छन् । सुरुमा आफुलाई अनुहारमा सियो रोप्ने यस्तो स्टन्ट देखाउन डर लागेको भएपनि अहिले बानी परेको उनको भनाइ छ ।

सुरुमा आफुले अनुहारमा ५० देखि १ सय वटासम्म मात्र सियो रोप्ने गरेकोमा अहिले भने साढे ५ सय वटासम्म सियो रोप्ने गरेको उनको दाबी छ ।

उनले आफ्नो अनुहारका प्रायः सबै भागमा सियो रोप्दछन् । ओँठ, नाक, गाला तथा परेला जताततै सियो उन्दछन् ।

आफुले स्कुल पढ्ने बेलामा एकजना व्यवसायिक स्टन्टम्यान आफ्नो स्कुलमा आएर गरेको प्रदर्शन देखेपछि आफुलाई यस्तो काम गर्ने प्रेरणा मिलेको उनी सुनाउँछन् ।

अनुहारमा सियो रोप्ने मात्र होइन उनले तिखा किला भएको काठमा खाली खुट्टाले टेक्ने तथा आँखा, जिब्रो र जिउमा पग्लेको तातो मैन खन्याउने जस्ता अन्य साहसिक काम पनि गर्ने गरेका छन् ।

आफ्नो स्टन्टवाजीबाट भुपेनले चर्चा कमाएपनि खासै कमाइ भने गर्न सकेका छैनन् । छोराको यस्तो लहडवाजी देखेर उनका बुवा शम्भुराम दासलाई दिक्क लागेको छ । छोरालाई यस्तो काम छाडेर सामान्य खालको जागिर खोज्न तथा विवाह गरेर दुलही भित्राउन उनले आग्रह गर्ने गरेका छन् ।

भारतका चर्चित कार्यक्रमहरुमा यस्तो स्टन्ट देखाएर छोराले चर्चा कमाउँदा समेत आफुलाई खुसी नलागेको भन्दै शम्भुरामले छोराको अनुहारमा रोपिएका सियो देखेर आफुलाई डर लाग्ने र रातभर निद्रा नलाग्ने सुनाउँछन् ।

तर बुवाको आग्रहलाई भुपेनले मान्नेवाला छैनन् । अनुहारमै सियो रोपेर गिनिज बुकमा नाम लेखाएपछि मात्र आफुले यो काम छाड्ने उनको दृढता छ ।

जम्मा साढे ५ सय सियो अनुहारमा रोप्ने भुपेन गिनिज बुकको रेकर्डबाट भने निकै टाढा छन् । अनुहारमा सबैभन्दा धेरै सियो रोपेकोकिर्तिमान अहिले चीनका वेइ शेंग्चुको नाममा छ ।
सन् २०१३ को जुन ११ मा उनले आफ्नो अनुहारमा २१ सय ८८ वटा सियो रोपेर किर्तिमान राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment