+
+

अर्थतन्त्र एकातिर नेप्से सुचक अर्कोतिर !

२४ माघ, काठमाडौं । वीरगञ्जनाका खुलेको सन्देश प्रवाह भएलगत्तै नेपाल स्टक एक्सचेन्ज परिसूचक -नेप्से इन्डेक्स) अकासिएको छ । आइतबार नेप्से परिसूचक ११ अंकले बढेर १२६२.८२ अंकमा पुगेको छ, जुन हालसम्मकै उच्च हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २४ गते १७:३७

पुष्प दुलाल

२४ माघ, काठमाडौं । वीरगञ्जनाका खुलेको सन्देश प्रवाह भएलगत्तै नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से इन्डेक्स) अकासिएको छ । आइतबार नेप्से परिसूचक ११ अंकले बढेर १२६२.८२ अंकमा पुगेको छ, जुन हालसम्मकै उच्च हो ।

Bull stockआइतबार एक्सचेन्जमा एक सय २४ कम्पनीका १३ लाख ११ हजार कित्ता सेयर ७५ करोड ४७ लाख रुपैयाँमा किनबेच भएका छन् । लगानीकर्ता यसरी उत्साहित हुनुमा वीरगञ्जनाका खुलेपछि देशको अवस्था सुधार हुने आशा प्रमुख कारण मानिएको छ ।

तर, पछिल्ला दिनमा नेप्सेको प्रवृत्तिले देशको अवस्थालाई प्रतिविम्बित गरेको छैन ।

पछिल्लो केही हप्तामा नेप्से इन्डेक्सले पटक-पटक नयाँ रेकर्ड कायम गरिरहेको छ । यसअघि गत २९ भदौमा नेप्से इन्डेक्सले १२०८ र १५ भदौ ०६५ मा ११७५ अंक चुमेर नयाँ रेकर्ड राखेको थियो । जब कि त्यतिबेला भूकम्पले गर्दा देशको अर्थतन्त्र धराशयी अवस्थामा थियो ।

अर्थतन्त्र एकातिर नेप्से अर्कोतिर

विनाशकारी भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीले अर्थतन्त्र जर्जर बनेका बेला यसको प्रतिविम्ब नेप्सेमा देखिएको छैन । जब कि नेप्सेलाई देशको अर्थतन्त्रको प्रतिविम्ब मानिन्छ । के यसले आफ्नो धर्म छाडेको हो ? यो प्रश्न सोधियो सेयर दलाल संघका निवर्तमान अध्यक्ष नरेन्द्र सिजापतिलाई ।

‘सैद्धान्तिक हिसाबमा सेयर बजार सूचक मुलुकको अर्थतन्त्रको ऐना भए पनि त्यो सिद्धान्त नेपालको हकमा भने असफल भएको छ,’ सिजापतिले भने, ‘सरकारले नै चालू आर्थिक वर्षमा देशको कुल गार्हस्थ्य उत्पादन -जीडीपी) को वृद्धिदर दुई प्रतिशभन्दा कम हुन्छ भनेर घोषणा गरिसकेको अवस्थामा सेयर बजारमा बहार आउनुलाई स्वाभाविक मान्न सकिँदैन ।’
औद्योगिक वातावरण खुम्चिरहेको र आर्थिक गतिविधि पनि संकुचित हुँदै गएका बेला दिनदिनै नयाँ रेकर्ड कायम गर्नेर् सेयरबजारलाई मुलुकको अर्थतन्त्रको ऐना मान्न नहुने उनको धारणा छ ।

नेपालको सेयर बजार अर्थतन्त्रको ऐना नभई बैंकिङ क्षेत्रको ऐना भएको बताउँछन्, हाथवे इन्भेस्टमेन्टका प्रमुख अम्बिका पौडेल । ‘यस्तो संकटमा पनि बैंक तथा वित्तीय संस्थाहरूको पुस मसान्तसम्मको वित्तीय विवरणमा नाफा बढेको देखिएको छ र पुँजी बढाउनुपर्ने दबाबमा उनीहरूले अधिकतम बोनस सेयरको घोषणा गरिरहेका छन्,’ पौडेलले भने, ‘जसकारण अर्थतन्त्र जर्जर हुँदाहुँदै पनि सेयर बजारसूचक लगातार बढेको हो ।

अर्थतन्त्रको सिद्धान्त नेपालमा लागू नभएको पौडेलको पनि धारणा छ । ‘सैद्धान्तिक रूपमा भन्ने हो भने, अहिले नेप्सेसूचक बढ्नुपर्ने हुँदै होइन,’ उनले भने ।

पछिल्लो केही हप्ताको सेयर बजारको बढ्दो प्रवृत्ति अझै केही समय कायम रहने उनीहरूको भनाइ छ । ‘अंक मात्रै बढेको छैन, कारोबार रकम पनि उल्लेख्य बढेको छ । बिक्रीभन्दा खरिदको चाप उच्च छ,’ सिजापतिले भने, ‘यसले अझै केही हप्ता नेप्सेसूचक बढ्छ भन्ने देखाउँछ ।’ पौडेलले फागुन मसान्तसम्म नेप्से बढ्दो प्रवृत्तिमा रहने विश्लेषण गरे ।

अधिक तरलता एउटा कारण

सेयर बजारमा लगातार उछाल आउनुको एउटा कारण बैंकिङ क्षेत्रमा भएको लगानीयोग्य पुँजीको पर्याप्तता -अधिक तरलता) भएको सेयर विश्लेषक रविन्द्र भट्टराई बताउँछन् । भट्टराईको तर्कमा सिजापति र पौडेल पनि शतप्रतिशत सहमत छन् ।

बैंकमा निक्षेप राख्दा दुई प्रतिशत मात्रै ब्याज पाइने तर त्यही रकम सेयर बजारमा लगानी गर्ने हो भने तीन प्रतिशतभन्दा बढी कमाउन सकिने भएकाले लगानीकर्ताहरू सेयर किन्न आकषिर्त भएको भट्टराईले बताए ।

‘अधिक तरलताको मारमा परेका बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा बढाएका कारण सेयर बजारसूचक लगातार बढेको हो,’ विश्लेषक भट्टराईले भने । पुँजी बढाउने दबाबमा धेरै बैंक र वित्तीय संस्थाले २०/२५ प्रतिशत बोनस सेयर दिइरहेको प्रभाव पनि नेप्से इन्डेक्समा परेको उनले बताए ।

अभाैतिक काराेबार अर्को कारण

नेप्से पूर्णरूपमा अटोमेसनमा सञ्चालन हुनु सेयरबजार बढ्नुको अर्को महत्त्वपूर्ण कारण भएको भट्टराई, सिजापति र पौडेलको भनाइ छ ।

अहिलेको सेयर बजारको वृद्धि अभौतिक सेयरको कारोबारको प्रभाव पनि भएको उनीहरूको भनाइ छ । पौडेल भन्छन्, ‘आज किनेको सेयर चार दिनपछि नै तपाईंको खातामा जम्मा हुन्छ, त्यो सेयर धितो राखेर बैंकबाट ऋण लिएर फेरि सेयरमै लगानी गर्न सकिने भएकाले पनि अहिले नेप्से उछालिएको हो ।’

गत १ माघदेखि पूर्णरूपमा विद्युतीय प्रमाणपत्र भएको सेयरको मात्रै कारोबार हुँदै आएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले कडाइ गरेपछि पूर्ण रूपमा अभौतिक सेयरको कारोबार सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?