Comments Add Comment

ओलीलाई भेटेपछि प्रचण्डले भने- हामीले स्थिरता र अनुशासन पैदा गर्नु छ

'भद्र सहमति'बारे झन ठूलो भ्रम

२३ जेठ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार प्रधानमन्त्री केपी ओलीसँग भेट गरे । भेटमा के-के कुरा भयो, त्यो खुलस्त रुपमा बाहिर आइसकेको छैन । तर, प्रधानमन्त्रीलाई एक्लै भेेटेर फर्केका प्रचण्डले दिउँसो उद्योग व्यवसायीको कार्यक्रममा मन्तव्य दिने क्रममा राजनीतिक स्थिरता र अनुशासनमा जोड दिएका छन् । Uddyog
‘हामीले अहिले भनेका छौं राष्ट्रिय एकताको खाँचो छ । राष्ट्रिय एकता नभई यो संविधान कार्यान्वयन हुँदैन’ प्रचण्डले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको महाधिवेशनमा भने- ‘पुनर्निर्माण अभियानलाई गति दिनका लागि पनि राष्ट्रिय एकता खाँचो छ । तेस्रो, मधेस लगायत जुन समस्या देखिएका छन्, त्यसको सामाधानका लागि पनि राष्ट्रिय एकताको खाँचो छ र जनताको चाहना अनुसार तीब्र आर्थिक विकासका निम्ति पनि राष्ट्रिय एकताको खाँचो छ ।’

प्रचण्डले कम्तिमा दुई अढाइ वर्षसम्म दलहरु मिलेर अघि बढ्नुृपर्ने बताए । उनले भने- ‘कमसेकम दुई अढाइवर्ष हामी एकठाउँमा उभिएर गयौं भने देशलाई एउटा स्थिरतामा लान सकिन्छ । हामीले धेरै अस्थिरता र धेरै अराजकता भोगेका छौं । यही विन्दुबाट हामीले स्थिरता र अनुशासन पैदा गर्नु छ ।
प्रचण्डले आफ्नो ४० मिनेट लामो भाषणमा काहिँ पनि सरकार परिवर्तन र एमालेसँग भएको भद्र सहमतिको कुरा गरेनन् । बरु उनले राजनीतिको केन्द्रीकरण र नेतृत्वको केन्द्रीकरण यतिबेलाको ऐतिहासिक आवश्यकता भएको बताए ।
कार्यक्रममा प्रचण्डले भने- ‘कतिपयलाई भ्रम पर्ने गरेको छ, मैले राष्ट्रिय एकताको कुरा गर्दागर्दै सरकारको पनि कुरा गर्छ । मैले सुशील कोइरालाजीलाई भनेको थिएँ, तपाई राष्ट्रपति हुनोस् । जसलाई जेन्टलमेन एगि्रमेन्ट भनेर बुझ्ने गरिएको छ । केपी ओलीलाई तपाई प्रधानमन्त्री हुनोस् र संविधान घोषणा गर्नेतिर जाऔं भनियो र एउटा राष्ट्रिय एकताको वातावरण बन्यो । ओलीजीलाई मैले नै प्रस्ताव गरेर प्रधानमन्त्रीमा हिजोको समझदारी अनुसार अगाडि बढाएँ । राष्ट्रपतिमा पनि हामीले सम्माननीय विद्या भण्डारीजीलाई अगाडि बढाउने जमर्को गर्‍यौं । त्यसपछि प्रचण्डका बारेमा जेजस्ता भ्रम थिए, त्यो पखालियो भन्ने मलाई लाग्छ ।’

विगतमा पनि राष्ट्रिय एकता नभएको भए गणतन्त्र स्थापना र संविधान निर्माण सम्भव नरेहेको प्रचण्डले बताए । उनले भने- ‘राष्ट्रिय एकता नभएको भए गणतन्त्र घोषणा र संविधान निर्माण गर्न सकिँदैनथ्यो । त्यसकारण राष्ट्रिय एकता आजको ऐतिहासिक आवश्यकता हो ।
प्रचण्डले आफूलाई प्रधानमन्त्री पद नचाहिएको भूकम्प आएका बेलामा नै बताएको स्पष्ट पारे । उनले भने- ‘हामीलाई चाहिएको पद हैन, राष्ट्रिय एकता र सम्वृद्धि हो भन्ने कुरा स्थापित भयो भन्ने लाग्छ ।’
सरकार परिवर्तनका बारेमा चलेको हल्लातर्फ संकेत गर्दै प्रचण्डले भने-‘अहिले पनि थुप्रै भ्रमहरु बजारमा छन् । अहिले पनि हाम्रो चिन्ता के छ भने यदि राष्ट्रिय एकता भएन भने संविधान बनेर पनि त्यो कागजको खोस्टा बन्ने खतरा पैदा हुन्छ । त्यसकारण राष्ट्रिय एकताको खाँचो छ ।’

‘भद्र सहमति’बारे झन ठूलो भ्रम

बजेट घोषणापछि प्रधानमन्त्रीले राजीनामा दिने भद्र सहमति भएको माओवादी नेताहरुले बताइरहेका बेला प्रचण्ड र ओलीको भेटवार्ता अनि राजनीतिक स्थिरतामा प्रचण्डले दिएको जोडले उक्त भद्र सहमतिमाथि झन् ठूलो ‘कन्फ्युजन’ उत्पन्न गराएको छ ।
प्रधानमान्त्री केपी ओलीले ९ बुँदे सहमति हुँदा कुनै पनि प्रकारको भद्र सहमति नभएको बताउँदै आएका छन् भने एमालेकै केही शीर्ष नेताले भद्र सहमति भएको बताइरहेका छन् ।
तर, प्रधानमन्त्रीलाई भेटेपछि प्रचण्डले पनि सरकार परिवर्तनमा भन्दा राजनीतिक स्थिरतामा जोड दिएका छन् ।

याे पनि पढ्नुहाेस्

ओली-प्रचण्ड भेट, राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment