Comments Add Comment

यसकारण बढ्दैछ, आइपीओमा सर्वसाधारणको आकर्षण

IPO-Logo२१ असार, काठमाडौं । दिब्येश्वरी हाइड्रोपावरले निष्काशन गरेको साधारण सेयर (आइपीओ)मा मागभन्दा ७५ गुणा बढी आवेदन पर्‍यो ।

कम्पनीले ३ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर माग गरेकोमा ३ अर्ब रुपैयाँ बढीको माग आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रवन्धक एस क्यापिटलले जनाएको छ ।

त्यसअघि, ग्रीन डेभलपमेन्ट बैंकले ४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्दापनि ४ अर्ब २० करोड रुपैयाँ बराबरको माग आवेदन परेको थियो ।

ग्रीन डेभलपमेन्ट बैंकभन्दा अघि मेरो माइक्रोफाइनानसले ६ करोड रुपैयाँको आइपीओ निष्काशन गर्दा १२ अर्ब २० करोडको आवेदन परेको थियो ।

त्यस्तै, दशैंताका जलविद्युत लगानी तथा विकास कम्पनीले १ अर्ब ८७ करोड रुपैयाँको आइपीओ निष्काशन गर्दा ४५ अर्ब ३० करोड रुपैयाँको माग आवेदन परेको थियो । कम्पनीमा ३ लाख ५ हजार सर्वसाधारणले आवेदन दिएका थिए ।

आइपीओमा मात्रै होइन, सूचीकृत कम्पनीहरुले निष्काशन गरेका एफपीओमा पनि सर्वसाधारण लगानीकर्ताको आकर्षण उस्तै देखिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले प्रतिकित्ता ६ सय १ रुपैयाँका दरले ५ अर्ब ४५ करोड रुपैयाँको एफपीओ निष्काशन गर्दा ४७ अर्ब रुपैयाँको माग आवेदन परेको थियो ।

त्यस्तै, शिखर इन्स्योरेन्सले प्रतिकित्ता ६०१ रुपैयाँका दरले ३३ करोड २१ लाख रुपैयाँको एफपीओ जारी गर्दा पनि ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो ।

रियलाइन्स लोटस फाइनान्सले प्रतिकित्ता सय रुपैयाँ अंकिद दरका ५ करोड १४ लाख रुपैयाँको एफपीओ निष्काशन गर्दा ५२ करोड रुपैयाँको माग आवेदन परेको थियो ।

उल्लेखित दृष्टान्तहरुले के प्रष्ट पार्छ भने पछिल्लो समय कम्पनीहरुले निष्काशन गर्ने साधारण सेयरमा सर्वसाधारणको अत्यधिक आकर्षण छ । १० कित्ता सेयर पर्ने थाहा पाउँदा पाउँदै पनि सर्वसाधारणहरु फारम भर्न १० घन्टा लाइन बसेर सेयर हाल्न तयार हुन्छन् ।
share (13)
दोस्रो बजार अत्यधिक बढेकाले प्राथमिक बजार (आइपीओ) मा सर्वसाधारणको आकर्षण अत्यधिक बढेको सेयर विश्लेषकहरु बताउँछन् ।

एक वर्षअघि सानो लघुवित्त कम्पनीमा बेरोजगार रहेका श्रीमती र छोराछोरीलाई लाइन लगाएर ३ हजार रुपैयाँको (३० कित्ता) सेयर पार्नेसँग अहिले त्यही सेयर बढेर १ लाख पुगेको साना लगानीकर्ता संघका अध्यक्षका अध्यक्ष अम्बिका पौडेलले बताए ।

‘संसारमा यहाँभन्दा ठूलो प्रतिफल के हुन्छ र ?’ पौडेलले अनलाइनखबरसँग भने- ‘दोस्रो बजारमा बढेपछिको प्रभाव हो अहिलेको आइपीओको आकर्षण ।’

दोस्रो बजार बढेका बेला प्राथमिक बजारमा त्यसको प्रभाव पर्नु स्वभाविक भएको सेयर विश्लेषक रविन्द्र भट्टराई बताउँछन् ।

‘दोस्रो बजार घटेका बेला पहिलो बजारमा पनि सर्वसाधारणको आकर्षण अत्यन्तै कम हुन्छ,’ भट्टराईले भने- ‘२०६८ सालतिर आइपीओ निकाल्ने कम्पनीहरुलाई आइपीओ बिकाउन हम्मेहम्मे परेको इतिहास साक्षी छ ।’

०६८ सालमा नेप्से इन्डेक्स घटेर २ सय ९० अंकसम्म झरेकेा थियो । अहिले नेप्से इन्डेक्स १७ सय अंकभन्दा माथि छ । नेप्से इन्डेक्स बढेसँगै बजारमा हजारौं नयाँ लगानीकर्ताहरु पनि थपिएका छन् ।

अहिलेको समय कम्पनीहरुलाई आवश्यक पुँजी जुटाउने उपयुक्त समय भएकेा भट्टराई बताउँछन् ।

‘सेयरमा सर्वसाधारणको आकर्षण बढेका बेला सेयर निष्काशन गरेर ठूला आयोजनाहरुमा बनाउनतर्फ ध्यान दिनुपर्छ,’ उनले भने- ‘भोली बजार घटेका बेला जनताबाट पैसा उठाउन निकै कठिन हुन्छ ।’

नेप्से सूचक ३ सयको हाराहारीमा हुँदाखेरी कम्पनीहरुले मागेजति आवेदन नआएको स्मरण गर्छन्,- धितोपत्र दलाल संघका अध्यक्ष नरेन्द्र सिँजापती ।

‘०६८/०६९ सालतिर लोटस फाइनान्सले निष्काशन गरेको आइपीओमा मागजति आवेदन पनि परेको थिएन,’ सिँजापतीले भने- ‘चिलिमेजस्तो कम्पनीले निकालेको आइपीओ पनि बल्लतल्ल बिक्री भएको थियो ।’

पछिल्लो एक वर्षमा मात्रै नेप्से सूचक ९० प्रतिशतभन्दा धेरैले बढेको छ । ०७२ असार मसान्तमा ९६१ अंंकमा रहेको नेप्से सूचक सोमबार १७१६ अंकमा छ ।

बैंकिङ क्षेत्राको ७५ प्रतिशत हिस्सा रहेको नेप्सेलाई चालु आर्थिक वर्षभरी बैंकिङ र बीमा क्षेत्रले उछालेको हो । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी ०७४ असार मसान्तसम्ममा २ देखि २५ गुणासम्मले बढाउनुपर्ने घोषणा गरेपछि सेयर बजार उछालिएको हो ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पनि राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको चुक्ता पुँजी बढाउँदैछ । त्यसको प्रधाव अहिले नै लघुवित्त कम्पनीहरुको सेयर मुल्यमा परिसकेको छ ।

त्यस्तै, बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने प्रस्ताब गरेको छ । बीमा कम्पनीहरुकेा चुक्ता पुँजी पनि बढाउने निर्णय भए आगामी वर्षपनि सेयर बजार बढ्ने विश्वास गरिएको छ । जसले आगामी वर्ष आइपीओमा अझ बढी आवेदन पर्ने प्रष्ट छ ।

प्रतिकित्ता सय रुपैयाँमा आइपीओ निकाल्नुपर्ने प्रावधान नै परिवर्तन गर्नुपर्ने सिँजापती बताउँछन् । ‘सय रुपैयाँमा आइपीओ निकाल्ने नीति परिवर्तन गरी कम्पनीको प्रिमियम मुल्यमा आइपीओ निकाल्न पाउने व्यवस्था गर्नुपर्छ,’ उनले भने- ‘अब हाम्रो सेयर बजारा ठूलो भइसक्यो, त्यसैले पुरानो ढर्रा परिवर्तन गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment