+
+

प्रेम सुवालको प्रश्न- प्रचण्डको दोस्रो पत्र पनि भारतीयले नै सार्वजनिक गर्नुपर्ने हो ?

'प्रचण्ड लेण्डुप दोर्जे बन्ने चिन्ता छ, पत्र सार्वजनिक गर्नुस्'

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २० गते १४:२४

Prem-Suwal-in-Parliament

२० भदौ, काठमाडौं । व्यवस्थापिका संसदमा सोमवार पनि प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न सांसदहरुले माग गरेका छन् ।

विशेष समयमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रचण्ड लेण्डुप दोर्जे बन्ने हुन् कि भन्ने चिन्ता जनतामा रहेकाले पत्र संसदमा सार्वजनिक हुनुपर्ने बताए ।

यसअघि माओवादी विद्रोहीको अध्यक्ष हुँदा सन् २००४ मा तत्कालिन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई लेखेको पत्र भारतकै प्राध्यापक एसडी मुनीले सार्वजनिक गरेको भन्दै सुवालले अहिलेको पत्र पनि कुनै भारतीयले सार्वजनिक गर्नुपर्ने हो ? भन्दै प्रश्न गरे ।

सुवालले मोदीलाई पठाइएको पत्रमा समग्र तराई मधेस एक वा दुई प्रदेश बनाएर संविधान संशोधन गर्ने र अंगीकृत नागरिकले पनि राष्ट्रपति लगायतका संवैधानिक पद पाउने आश्वासन दिइएको दावी गरे ।

उनले भने, ‘यी सबै कुराले अहिलेका प्रधानमन्त्री लेण्डुप दोर्जे बन्ने चिन्ता जनतामा जागेको छ । उहाँले त्यसो नगर्नुहोला भन्ने आशा छ, त्यसैले पत्र सार्वजनिक गरियोस् ।’

यसअघि एमालेका सांसद हर्कबोल राईले पनि पत्र सार्बजनिक गर्न र त्यसको जवाफ प्रधानमन्त्रीले नै संसदमा उपस्थित भएर दिनुपर्ने बताएका थिए ।

यसैबीच सत्तारुढ नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र संसदमा सार्वजनिक गर्न माग गरेका छन् ।

संसदको विशेष समयमा बोल्दै कांग्रेस सांसद रामहरी खतिवडाले यदि प्रधानमन्त्रीले भारतीय समकक्षीलाई पत्र पठाएको हो भने त्यो संसदमा सार्वजनिक हुनुपर्ने बताए ।

खतिवडाले भने, ‘पत्र पठाएको हो भने सार्बजनिक हुनुपर्छ, होइन भने राजनीतिक खपतका लागि हल्ला गर्न हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?