९ असोज, काठमाडौं । नेकपा एमालेमा दिवंगत नेताहरुको नाममा प्रतिष्ठान खोलेर गुटबन्दी गर्ने रोग सल्किएको भन्दै नेताका नाममा खुलेका प्रतिष्ठानलाई पार्टीकरण गर्न प्रस्ताव पेश भएको छ ।
जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य सूर्य थापाले लिखित प्रस्ताव राख्दै प्रतिष्ठानहरुमाथि अंकुश लगाउन माग गरेका हुन् । प्रचार विभाग उपप्रमुख समेत रहेका थापाको प्रस्तावमाथि शनिबारको बैठकमा समेत केही समय छलफल भएको थियो ।
उनको प्रस्तावको समर्थन गर्दै अर्का केन्द्रीय सदस्य खिमलाल भट्टराईले यदि नेताका नाममा प्रतिष्ठानहरु पार्टीका हुन् भने तीनका अध्यक्ष पनि पार्टीले तोक्नुपर्ने बताएका थिए । पार्टी अध्यक्ष केपी ओलीले भने नेताहरुले गुट नचलाउने हो भने प्रतिष्ठानहरुबाट केही नहुने भन्दै गुटबन्दीको अन्त नेतृत्वबाटै हुनुपर्नै जवाफ दिएका छन् ।
प्रतिष्ठानहरुलाई पार्टीले नियमन गर्नुपर्ने विषय अब बहसमा आएको थापाले बताए । थापाले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिने क्रममा प्रतिष्ठानहरुको प्रसंग उठाएका हुन् । गुटले प्रतिष्ठान चलाउँदा पार्टीका सम्मानित नेताहरुकै अपमान भइरहेको उनले बताए ।
उनको प्रस्तावमा भनिएको छ, पार्टी नेताका नाममा ‘प्रतिष्ठान/फाउण्डेसन/केन्द्र इत्यादि आफूखुसी गठन गरी गुटबन्दीको खेलमैदान बनाउन बन्द गरिनुपर्छ । पार्टीको स्वीकृतिबेगर गठन भएका/खोलिएका यस्ता संरचनाहरुलाई पार्टीको दायरा र संस्थागत योजनामा देश, जनता, समाज र सम्बन्धित आदरणीय नेता/अग्रज र सहिद कमरेडहरुको प्रतिष्ठा र सम्मान अभिबृद्धि गर्ने गरी संचालन गर्नुपर्छ ।’
गुट चलाउन प्रतिष्ठान
एमालेमा संस्थापन पक्ष र माधव नेपाल पक्ष दुवैले नेताका नाममा प्रतिष्ठान चलाइरहेका छन् । ती मध्ये कतिपय विदेशीको समेत सहयोग लिएर एनजिओका रुपमा समेत चलेका छन् भने कतिपय गुट सञ्चालनका लागि बनाइएका छन् ।
एमालेले नेताका नामका प्रतिष्ठान र अध्ययन केन्द्रका नाममा गुटबन्दी र समानान्तर पार्टी कमिटीको अभ्यास हुन थालेपछि प्रतिष्ठानहरु हेर्ने गरी पोलिटव्यूरो सदस्य बेदुराम भुषाललाई इन्चार्ज बनाएको छ ।
भुषालले प्रतिष्ठान सञ्चालन निर्देशिका मस्यौदा गरेर आफूले महासचिव इश्वर पोखरेललाई बुझाइसकेको बताए ।
भुषालले भने, मैले नेकपा एमाले प्रतिष्ठान सन्चालन निर्देशिका बनाएर महासचिवलाई दिएको छु, उहाँले अध्ययन गर्दै हुनुहोला । नेताका नाममा खुलेका प्रतिष्ठानले समानान्तर कमिटीको अभ्यास गर्ने कुरालाई निषेध गर्न खोजिएको छ ।’
मदन भण्डारीकै नाममा ४ संस्था
मदन भण्डारीका नाममा मात्रै प्रतिष्ठान र अध्ययन केन्द्र समेत गरेर कम्तिमा चारओटा संस्था चलेका छन् । पार्टीले निर्णय गरेर स्थापना गरेको मदन आश्रति स्मृति प्रतिष्ठान बाहेक अरुका गतिविधिमा प्रश्न उठेको भुसालले बताए ।
मदन आश्रित स्मृति प्रतिष्ठानको अध्यक्ष प्रदिप नेपाल छन् । त्यस्तै मदन भण्डारी फाउण्डेशनले लामो समय केपी ओलीको विचार समूहको आधिकारिक गुटका रुपमा काम गरेको थियो ।
मदन भण्डारी फाउण्डेसनको अध्यक्ष अहिले मदन पुत्री उषाकिरण भण्डारी छन् । त्यस्तै पार्टी सचिव योगेश भट्टराई अध्यक्ष रहेको मदन भण्डारी अध्ययन केन्द्र छ । अध्ययन केन्द्र माधव नेपाल पक्षको विचार प्रवाह गर्ने थलोका रुपमा सञ्चालित छ ।
एमालेमा नेताका नाममा प्रतिष्ठान खोल्ने लहर नै चलेको छ । जीवित नेता झलनाथ खनालका नाममा समेत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान खोलिएको छ । जसलाई सरकारले पैसा दिएको कुरा विवादमा परेको थियो ।
मोरङको उर्लाबारीमा मदन भण्डारी प्रतिष्ठान एमाले नेता गुरु बरालको अध्यक्षतामा सञ्चालित छ । यो पनि ओली पक्षको पकडमा छ । मदन भण्डारी फाउन्डेसनलाई बिगतमा भारतीय दूतावासले समेत सहयोग गरेको थियो ।
कति छन् प्रतिष्ठान ?
पार्टीकै नीति अनुसार सञ्चालित पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष माधवकुमार नेपाल आफैं छन् । पछिल्लो समय पुष्पालल प्रतिष्ठानले जिल्ला-जिल्लामा शाखा विस्तार गरेको विषय विवादमा परेको प्रतिष्ठान इन्चार्ज भुसालले बताए ।
हालै जारी केन्द्रीय कमिटी बैठकमा ६ नम्बर प्रदेश सहसंयोजक समेत रहेका नेता यमलाल कडेलले गत संविधानसभा चुनावमा बागी उम्मेदवार उठेका शिव उपाध्यायलाई पुष्पलाल प्रतिष्ठानको अध्यक्ष बनाई माधव नेपाल आफैं उपस्थित भएर प्रोत्साहन गरेको भन्दै आपत्ति जनाएका थिए ।
उपाध्याय सुर्खेत २ मा यमलाल कडेलकै बागी उम्मेदवार उठेपछि एमालेले तीनै क्षेत्रमा पराजय भोग्नुपरेको थियो ।
नेपाल कम्युनिस्ट पार्टीका पूर्व महासचिव तुलसी लाल अमात्यको स्मृतिमा तुलसीला स्मृति प्रतिष्ठान छ । गोपाल शाक्य प्रमुख रहेको प्रतिष्ठानको कार्यालयमा पछिल्लो समय पार्टीको स्कूल सञ्चालन भइरहेको छ ।
नेपाल कम्युनिस्ट पार्टीकी संस्थापक सदस्य मोतिदेवी श्रेष्ठको स्मृतिमा गठित मोतिदेवी स्मृति केन्द्रको अध्यक्ष अष्टलक्ष्मी शाक्य छन् । यो प्रतिष्ठानले हालैमात्र जेष्ठ नागरिक आवास गृह सन्चालनमा ल्याएको छ ।
त्यस्तै साहना प्रधानको स्मृतिमा गठित साहना प्रधान अध्ययन प्रतिष्ठानको अध्यक्ष एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्री छन् । पार्टीका स्वर्गी नेताहरुको नाममा रहेका १७ ओटा प्रतिष्ठानहरु आफ्नो जानकारीमा आएको इन्चार्ज भुसालले बताए ।
केन्द्रमा रहेका बाहेक जिल्ला-जिल्लामा प्रतिष्ठानहरु चलिरहेका छन् । जसमा रत्न वान्तवा स्मृति प्रतिष्ठान इलाममा छ । त्यस्तै सुखानी शहीद स्मृति प्रतिष्ठान देवराज घिमिरको अध्यक्षतामा झापामा सञ्चालित छ ।
हरि नेपाल स्मृति प्रतिष्ठान संखुवासभामा छ भने पाण्डवराज घिमिरे र विनोद घिमिरे स्मृति प्रतिष्ठान जनकपुरमा छन् । शहीद ऋषि देवकोटा आजाद स्मृति प्रतिष्ठान सिन्धुलीमा छ । एकदेव आले चिन्तन प्रतिष्ठान तनहुँमा छ ।
त्यस्तै नेत्रलाल अभागी स्मृति प्रतिष्ठान र शहीद उमेश थापा स्मृति प्रतिष्ठान दाङमा छन् भने यदु स्मृति प्रतिष्ठान रुकुममा छ । शहीद रामनाथ दाहाल स्मृति प्रतिष्ठान झापामै सञ्चालनमा छ ।
घनश्याम भुसालको अध्ययन केन्द्र स्वतन्त्र
प्रतिष्ठान र अध्ययन केन्द्रहरुलाई फरक ढंगले हेरिनुपर्ने प्रतिष्ठान विभागका इन्चार्ज वेदुराम भुसालले बताए । अध्ययन केन्द्रहरुको नियमनका लागि झलनाथ खनाल इन्चार्ज रहेको नीति अध्ययन प्रतिष्ठानले काम गर्ने भएको छ ।
एमाले उपमहासचिव घनश्याम भुषालले नेपाल अध्ययन केन्द्र चलाइरहेका छन् । यो अध्ययन केन्द्र स्वतन्त्र प्रकारका रहेकाले पार्टीले नियमन गरि रहन नपर्ने नेताहरुले बताएका छन् ।
पार्टीमा गुटबन्दी अन्त गर्ने गरी प्यानल चुनाव निषेध गरेर अघि बढेका बेला गुटका समानान्तर कार्यालयका रुपमा रहेका प्रतिष्ठानहरुलाई नियमभित्र ल्याउन आफूले छलफलका लागि प्रस्ताव ल्याएको थापाले बताए ।
थापाले उपमहासचिव भुसालप्रति शंकेत गर्दै गुटबन्दी बाहेक केही पनि नगर्ने नेताले गुटबन्दी अन्त गरौं भन्ने प्रस्ताव ल्याउनु हास्यास्पद हुने बताएका छन् । उनले गुटबन्दी अन्त्य गर्ने भुसालको प्रस्ताव पार्टीमा छलफल नगरी मिडियामार्फत आउनुले पद्धति उल्लंघन गरेको आरोप लगाएका छन् ।
पर्यटन विश्वविद्यालय चाहियो
एमाले पर्यटन बिभाग प्रमुख समेत रहेका थापाले नेपालमा पर्यटन विश्वविद्यालय स्थापनामा पार्टीले तत्कालै अवधारणा अघि सार्नुपर्ने प्रस्ताव समेत राखेका छन् ।
थापाको प्रस्तावमा भनिएको छ-देशभित्रै उच्च गुणस्तरीय र अुनुसन्धानमूलक पर्यटन शिक्षा हासिल हुने गरी ‘पर्यटन विश्वविद्यालय’ स्थापनामा अविलम्ब जोड दिनुपर्छ । पार्टीले यसै केन्द्रीय कमिटी बैठकद्धारा त्यसको अगुवाई र अठोट सार्वजनिक गर्नुपर्छ ।