+
+

पुस्तक अंश- सुम्निमा

वीपी कोइराला वीपी कोइराला
२०७३ असोज २७ गते ९:५०

सोमदत्तको निद्रा भङ्ग भयो । देख्छ त उसका सामु गुभा जस्तो पहेंलो शरीर भएकी एउटी सर्वाङ्ग नग्न बालिका चकित भएर उभ्भिरहेकी छे ।

एकछिनपछि सोमदत्तले प्रश्न गर्‍यो- “हे कनकवदनी बालिके, तिमी को हौ ?”

बालिकाले निश्छल उत्तर दिई- “म किराती छोरी हुँ- सुम्निमा । तिमी को हौ नि ए, दुब्ला केटा ?”
सोमदत्तले भन्यो- “म आर्यवंशी ब्राहृमण सूर्यदत्तको पुत्र सोमदत्त हुँ ।”

उसले यो पनि बतायो कि, ऊ यहीँ नजिकको आश्रममा मातापिताका साथ निवास गर्दछ । र, सुम्निमाले चाहिँ उत्तरतिरको एउटा पहाडको हरियो स्थललाई आैंलाले देखाएर भनी- “उः त्यहाँ छ हाम्रो गाउँ । तर सोमदत्त ! तिमीले आफ्नो नाउँ बताउँदा बाबुको नाउँ किन कहृयौ ?”

सोमदत्तले उत्तर दियो- “पुत्र पिताबाट जीवनदान ग्रहण गर्छ, तसर्थ त्यो उदात्त दानमय सम्बन्धको विस्मृतिको पाप हामीबाट कदापि हुन सक्दैन । यो कृतज्ञता ज्ञापन हो, बालिके !”

Bp koiralaसुम्निमा अझ बढी उत्सुक भई । उसले भनी- “ल झन् तिम्रै भनाइले पनि त आमाले जन्माएको हुँदा आमाको मान गर्नुपर्थ्यो, हैन र ? त्यसैले हामी किराती पैले आमालाई चिन्छौं, र उनले देखाएको मानिस हाम्रो बा हुन्छ ।”

सोमदत्तले भन्यो- “हामीहरु आर्यका सन्तति हौं, सुसंस्कृत छौं । तिमीहरु संस्कृतिविहीन बर्बर जातिका किरात हौ । त्यसकारण हाम्रा विचार तिम्रा विचारभन्दा पृथक छन् । माता क्षेत्र हो, अबोध बाले ! क्षेत्रपति त पिता हो । तिमीलाई यसको ज्ञान छैन ।”

बालकबालिकामा पनि एकप्रकारको हठ हुन्छ । त्यसैबाट प्रेरित भएर सुम्निमाले भनी- “ए बाहुनका छोरा ! आमाले पो आफ्ना छोरालाई तेरो बाबु यो हो भनेर चिन्हाइदिन्छे । बाबु त आमाले देखाएको लोग्नेमानिस पो हो त ।”

त्यसैबेला सोमदत्तले आश्रमको छेउबाट माताको पुकार सुन्यो । माथि उत्तरतिरबाट पनि एउटा नारीकण्ठको अस्पष्ट वाणी सुनियो- सुम्निमा ! ए छोरी ! के गरिराछेस् ?

सुम्निमाले भनी- “आमाले बोलाउनुभयो मलाई । जाऊँ है ?”

सोमदत्तले पनि भन्यो- “माताको आहृवान मलाई पनि भयो ।”

सुम्निमाले जाँदाजाँदै भनी- “भोलि यहीँ भेटौंला, है बाहुन ! ऐले जान्छु ।”

अनि आटव्य जङ्गलमा ऊ लोप भई । सोमदत्त गाई लिँदै आश्रम फक्र्यो ।

पुत्रको व्यग्र प्रश्नको उत्तरमा पिता सूर्यदत्तले उसलाई सम्झाए- “माताबाट परिचित हुने प्रणाली पाशविक हो । पशुहरुमा सतीत्व एवं पातिव्रत्य धर्मको शून्यताले सन्तानको परिचय माताबाट हुन्छ । तर पुत्र सोमदत्त ! यस्तो विकारयुक्त प्रश्न तिम्रो मस्तिष्कमा किन उत्पन्न भयो ?” पिताले किञ्चित शङ्कामा यो प्रश्न गरे ।

सोमदत्तले किरात बालिकासँग हुन गएको विवादको वर्णन पितालाई अवगत गरायो । पिताले भने- “पुत्र ! यो अनार्य देश हो । तिमीले अत्यन्त सतर्कतापूर्वक रहनुपर्दछ । अनार्यहरु पशुधर्मावलम्बी हुन्, हामी हौं देवधर्मी ।”

अर्को दिन गाई चराउन कोशीको तटमा आउँदा सोमदत्तको फेरि सुम्निमासँग भेट भयो । सुम्निमा साह्रै उत्ताउली, चटपटे र निश्छल केटी थी । सोमदत्तचाहिँ अत्यन्त शान्त प्रकृतिको गम्भीर बालक ।

भेट हुनेबित्तिकै सुम्निमाले सोधी- “हँ सोमदत्त ! तिमीले आमालाई माता किन भन्यौ हिजो ?”

सोमदत्तले शान्त भएर उत्तर दियो- “यो देवभाषा हो ।”

“त्यसो भए मान्छे भएर मान्छेको बोलीमा किन बोल्दैनौ, तिमी ? द्यौताको चलन गर्नु हुँदैन मानिस भएर ! मानिस भएपछि मानिसकै चलन गर्नुपर्छ, सोमदत्त !”

“सुम्निमा ! ए अबोध बालिके ! हामी ब्राहृमण हौं, तपको बलबाट देवत्व प्राप्त गर्न सक्दछौं । हाम्रो यज्ञ, धर्मकर्म, नियमसाधना, यो सबै मानवताबाट मुक्ति पाउने प्रयास हो, बुझ्यौ ?”

“म तिम्रा कुनै कुरा पनि बुझ्दिनँ, सोमदत्त ! तर मलाई लाग्छ, मान्छे भएर द्यौता हुन खोज्नु असल हैन । मान्छेको धर्म हैन त्यो । मान्छेको बेहोर रहँदैन, त्यसले बानी बिगार्छ, द्यौता भएर बस्न खोज्दा मान्छे नै हुँदैन । म तिमीलाई राम्ररी सम्झाउन त सक्तिनँ – बुद्धि छैन नि, त्यसैले ।

तर हेर न, सोमदत्त ! सजिलोसँग ‘आमा’ भन्ने साटो ‘माता’ भनेर तिमीले आमाजस्ती प्यारी मान्छेलाई कति टाढा पारिदियौ । हुन त ‘आमा’ को ठाउँमा ‘माता’ मात्रै भन्यौ तिमीले तर ‘माता’ भन्दिएर आमाको त्यो न्यानो र प्यारो काखलाई पर पन्छाएनौ र ?”

अनि अचानक दिक्क मानेर भनी- “हत्तेरी ! हेर न म कुरा सम्झाउनै सक्तिनँ ।”

तर सोमदत्तले सुम्निमाको भनाइको तात्पर्य राम्ररी बुझेको थियो । उसले भन्यो- “माता देवीतुल्य हुन् । आदर, सम्मान र कृतज्ञताले हामी मातालाई उच्च आसनमा स्थापित गर्छाैं । सम्मान र कृतज्ञता ज्ञापनको त्यो महान भावलाई ‘माता’ शब्दले मात्र केही अंशमा सम्बन्ध व्यक्त गर्न सक्दछ । ‘आमा’ त दैनिक जीवनको कौटुम्बिकताको सूचक शब्द मात्र हो ।”

बालिकाले फेरि हठ गरी- “घरका जहान-परिवारभित्रैकी त हुन् नि आमा पनि । कुटुम्बको नाताबाहेक अरु के हुन् त आमा ? मनमा बिनसित्ति खेलाइराखेका लहडी कुराले त्यस्तो न्यानो र प्यारो नातालाई बित्थामा टर्रो हुन नदेऊ, बाहुन !”

सोमदत्तले भन्यो- “हामी मातालाई दैहिक सम्बन्धबाट मुक्त गरेर उच्च मर्यादासम्पन्न पार्छाैं । त्यही हो संस्कृति ।”

सुम्निमाको चित्त बुझेन । उसले भनी- “तिमीहरु जेलाई पनि लुगा लगाइदिन्छौ, लुकाइदिन्छौ । जप, तप र यज्ञ गरेर, व्रत बसेर तिमीहरु सद्दे मानिसलाई मुकुन्डो भिराइदिन्छौ, नानाओली पहिरनले भएको जिउलाई ढाकिदिन्छौ र त्यस्तै नानाथरीका ठूल्ठूला कुरा र नबुझ्ने भाखाले बोलेर त्यतिबिघ्न माया गर्ने आमालाई टाढाटाढाको को-को उनाउजस्तो पारिदिन्छौ ।

तिम्री आमाले आफ्नो आङलाई रातदिन त्यत्रो लामोलामो लुगैलुगाले ढाकेर राखेको हुँदा उनलाई स्वास्नीमानिसबाट देवीद्यौता बनाउन तिमीलाई सजिलो पर्दो हो, नत्र भने लुगामुन्तिर सबै स्वास्नी मानिसहरुमा जेजे कुरा हुन्छन्, तिम्री आमाको पनि त त्यैत्यै कुरा छन् नि । हामी लुगा नै लाउँदैनौं, यसउसले हाम्री नाङ्गी आमालाई हामी ‘माता’ र ‘देवी’ जस्तो देख्नै सक्दैनाैं । नाङ्गी आमालाई कल्ले देवी भन्छ ?”

अत्यन्त आहत भएर किञ्चित कठोर शब्दमा सोमदत्तले भन्यो- “हे असंस्कृता बालिके ! देवीतुल्य माताका सम्बन्धमा तिमीले यो के अनर्गल प्रलाप गरेकी ? भो भो, तिम्रो यो पापमय प्रलाप अब बन्द गर ।”

सोमदत्त रिसाएको देखेर सुम्निमालाई दिक्क लाग्यो ।

उसले भनी- “तिमी रिसायौ ? मसँग नरिसाऊ, सोमदत्त !”

“माताका सम्बन्धमा म यस्तो अपशब्द सुन्न चाहन्नँ,” उस्तै आवेशमा सोमदत्तले भन्यो ।

सोमदत्त र सुम्निमाको भेट भएन । किनभने सोमदत्त सधैंको जस्तो गाई लिएर नदीतटतर्फ जान सकेन । सुम्निमा धेरैबेरसम्म समीको वृक्षमुनि त्यो ब्राहृमण बालकको प्रतीक्षा गर्दै बसिरही

सुम्निमा दुःखित भई । उसले भनी- “मैले बिराएँ, सोमदत्त ! मलाई छेमा गर । अपशब्द भनेको नराम्रो कुरा हो क्यार, तर मैले त्यस्तो नराम्रो कुरा कहाँ भनें र ? मैले त यति मात्रै भनेको कि मनमा उब्जिने धेरैथरीका कुरा, जसलाई तिमी ‘भावना’ भन्छौ क्यार, त्यसलाई हामी बस्ने संसारको माटोसँग मेल नखाने अमिल्दो नबनाऊ ।

भावना भनेको पखेटा लागेको चरोजस्तो हो । त्यो चरो छेउ र टुप्पो नभएको यो ठूलो आकाशको फुस्सामा प्वाँख हालेर मनपर्दी उड्न सक्छ, जति माथि जाऊँ भन्यो उति नै माथि पुग्न सक्छ । हामीले त धरतीसँग पो नाता राख्नुपर्छ । मान्छे भएपछि मान्छेकै चालचलनमा बाँधिएर बस्नुपर्छ, यो भनेकी पो त मैले, सोमदत्त ! र म तिमीजस्तो पढेगुनेकी पनि त छैनँ नि । तिमी, हेर, कति कुरा जान्दछौ, कति सिपालु छौ ।”

सोमदत्तको चित्त शान्त भयो । तर त्यसदिन उनीहरुका बीच अरु विशेष केही कुरा भएन । सुम्निमा खल्लो मन लिएर घर फर्की र रातभरि उसले निधो गरी कि, भोलिपल्टै ऊ सोमदत्तलाई खुसी पार्ने कोसिस गर्नेछ ।

त्यसदिन पुत्र सोमदत्तबाट विवादको वर्णन सुनेर पिता सूर्यदत्त अत्यन्त प्रसन्न भएर ‘साधु साधु’ भने ।

भोलिपल्ट सोमदत्त र सुम्निमाको भेट भएन । किनभने सोमदत्त सधैंको जस्तो गाई लिएर नदीतटतर्फ जान सकेन । सुम्निमा धेरैबेरसम्म समीको वृक्षमुनि त्यो ब्राहृमण बालकको प्रतीक्षा गर्दै बसिरही । घरबाट तल झर्दा उसले अँजुलीभरि पहाडी फूल टिपेर ल्याएकी थी । बेलुकीपख निराश भएर त्यही समी वृक्षमुन्तिर सोमदत्त बस्ने गरेको ठाउँमा सबै फूल छरेर घर फर्की ।

दिउँसोको गाई चराउने नियममा सोमदत्तलाई बाधा पर्न गएको थियो । एउटा राजकुमारको आगमनले, जो मृगयाका लागि ससैन्य अटवीमा आएका थिए । जब उनले थाहा पाए कि, त्यहाँ एक पुण्यात्मा तपस्वी ब्राहृमणको कुटी पनि छ- आफूसँग आएका सैन्य, अङ्गरक्षक तथा रथलाई तपोभूमिको शान्ति भङ्ग नहोस् भन्ने हेतुले टाढै छाडेर उनी दर्शनार्थ त्यो आश्रममा आए । उनले भने- “महाभाग द्विजश्रेष्ठ ! म राजकुमार मृगया गर्न यहाँ आएको हुँ । मेरो सादर अभिनन्दन स्वीकार होओस् तथा मबाट राजपुत्रानुकूल सेवा ग्रहण गर्ने कृपा रहोस् ।”

नतशिर गरी उभ्भिएका राजकुमारलाई सूर्यदत्त र उनकी पत्नीले आशीर्वाद दिँदै दुवै हात उठाए ।
राजकुमारले फेरि सोधे- “हे पुण्यात्मा ! के तपाइर्ंहरुको यज्ञादि निर्विघ्नपूर्वक भइरहेको छ ? यहाँका अनार्य जातिबाट कुनै विघ्नबाधा त परेको छैन ?”

ब्राहृमणले वरिपरिका अनार्यबाट हुने गोवध तथा हिंसाको चर्चा गर्दा राजकुमारले अत्यन्त सौर्ययुक्त वाणीमा आˆनो सेनालाई सम्बोधन गर्दै भने- “नजिकका गाउँगाउँमा गएर किरात र भिल्ल जातिका प्रमुख व्यक्तिहरुलाई राजाज्ञा सुनाउँदै यहाँ बोलाएर ल्याओ ।”

यति भनी ब्राहृमण दम्पतीलाई विनम्र सम्बोधन गर्दै भने- “ब्राहृमणदेव ! क्षत्रियको धर्म हो- ब्राहृमणको सेवा गर्नु । त्यसको प्रतिपालन अवश्य हुनेछ ।”

केही समयपछि एकएक गर्दै अरण्यनिवासी भिल्ल तथा किरात जातिका प्रमुख व्यक्तिहरु आश्रमको प्राङ्गणमा एकत्रित हुन थाले । तिनीहरु प्रायः सर्वाङ्ग नग्न थिए ।

भिल्लहरुको चिल्लो कालो शरीर र किरातीहरुको पहेंलो शरीर, यी दुवै आफ्नाआफ्ना जाति समूह बनाएर आश्रमको दुई पाश्र्वमा बस्दै गए । भिल्लहरुको लामो कपालमा मयूरपङ्ख मुकुट शोभित थिए, र छाती र कम्मरमा कौडीका झुप्पाहरु । किरातीहरुले चाहिँ त्यति शृङ्गारको परिधान पनि पहिरिएका थिएनन् । उनीहरुजस्तै उनका स्त्रीहरु पनि निर्वस्त्र नै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?