+
+

केपी ओलीले भने- बुढेसकालमा माताजीसित हुँदैन !

देशलाई पर्दा टाउको लुकाउँछु भने मैले दु:ख पाएको किन ?

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २१ गते २:१०

kp oli (1)१९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली आइतबार साँझ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा विभिन्न मिडियाका सम्पादक एवं अग्रज पत्रकारहरुसँग अन्तरक्रियामा सहभागी भए । त्यहाँ उनले एकजना सन्यासी र माताजीवीचको यौन सम्बन्धबारे एउटा रोचक कथा सुनाएर अहिलेको राजनीतिक मुद्दामा आफ्नो अडान कस्तो हुन्छ भन्नेबारे दृष्टान्त दिए ।

पत्रकारले एमाले अध्यक्ष ओलीलाई बेलाबेलामा अडान लिने र कहिलेकाहिँ सम्झौतामा पनि आउने गरेको भन्दै अबको परिस्थितिमा संविधान संशोधनबारे अडान लिइरहने कि चुनावको वातावरण बनाउने भन्ने आशयको जिज्ञासा राखेका थिए ।

जवाफमा ओलीले भने- ‘प्रधानमन्त्रीजी (प्रचण्ड) ले चर्को विरोध नगरिदिनोस् भन्नुभयो । उहाँले आफूलाई अहिले पनि ठूलो खेलाडाी ठान्नुहुन्छ, तर उहाँले के-के गर्नुहुन्छ भन्ने त हामीले त देखिराखेका छौं । त्यो प्रस्ताव फिर्ता गर्नुहोस्, चुनाव गरौं ।’

अबको परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पत्रकारले राखेको जिज्ञासाको जवाफमा ओली केही खुलस्त एवं भावुक रुपमा प्रस्तुत भए । उनले भने- ‘हामी यत्रो लामो समय लडेको किन त ? म कहिले-कहिले आफैंलाई यसो सोच्छु क्या ! १४ वर्ष जेल किन बसें ? त्यत्रो भूमिगत किन बसें ? किन मैले दुःख कष्ट गरें ? देशका लागि ।’

ओलीले थपे- ‘देशलाई नै पर्दाखेरि चाँहि म कछुवाले जसरी यसो टाउको भित्र हाल्छु भने मैले त्यो दुःख पाएको किन ? उहिले नै मैले अलिकति फरक बाटो लिएको भए हुन्थ्यो होला नि त । म गल्ती गर्नेवाला छैन फेरि ।’

यति भनिसकेपछि पूर्वप्रधानमन्त्री ओलीले कथा सुनाए । उनले दुईदर्जनबढी पत्रकारहरुसँग भने- ‘म तपाईहरुलाई एउटा किस्सा पनि सुनाइदिन्छु ।’

कथाः केपी ओलीकै शब्दमा

एकजना साधु थिए । बाल ब्रह्मचारी । अत्यन्तै बाल ब्रह्मचारी । लामो समयदेखिको अविवाहित । बहुत निष्ठावान् । उनले बहुत अभ्यासहरु गरे ।

गाउँलेहरुले उनलाई कुटी बनाएर राखिदिए । एउटी जोगिनी, सन्यासिनी, माताजी पनि त्यहाँ बस्ने गरिन् ।

गाउँलेहरुले प्रसादहरु लगिदिएर सहयोग गर्थे ।

एक दिन बिहानै प्रसाद लिएर जाँदाखेरि ती बूढा जोगीले भने- अब मलाई तपाईहरुले प्रसाद स्रसाद ल्याउनुपरेन । मलाई दर्शन गर्न आउनु पनि परेन । अब म सन्यासी रहिनँ ।
‘के भो बाबा के भो ?’

‘माताजीसँग मेरो अलिकति यस्तोउस्तो भो । म सन्यासी रहिनँ अब । त्यसकारण अब मलाई केही गर्नुपरेन ।’

‘बुढेसकालमा अब माताजीसँग हुँदैन’

बूढा जोगीको कथा सुनाइसकेपछि ओलीले थप व्याख्या गर्दै भने- ‘त्यसै गर्ने हो भने बीसै वर्षमा गरेको भए हुन्थ्यो नि त । ८० नाघेपछि यो कुनै तरिका हो ? न उमेरको आनन्द भो, न सन्यास । यता पनि छैन, उता पनि छैन ।’

त्यसपछि जोगीसँग आफूलाई सामान्यीकरण गर्दै ओलीले भने-‘जिन्दगी त जेलमा बित्यो ठीक छ । जिन्दगी त संघर्षमा बित्यो ठीक छ । भूमिगत हिडिँयो, ठीक छ । युवाअवस्थामा दुखकष्ट गरियो ठीक छ ।’

एमाले अध्यक्ष ओलीले भने- ‘बुढेसकालमा अब माताजीसँग हुँदैन ।’

सबैको चासोः अब केपी ओली के गर्छन् ?

दायाँ-वायाँ पार्टी महासचिव र्इश्वर पोखरेल, सचिवहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङलगायतलाई राखेर पत्रकारसँग प्रस्तुत भएका एमाले अध्यक्ष ओलीले समसामयिक राजनीतिबारे सुरुमा लगभग ४० मिनेटसम्म आफ्नो पार्टीका धारणाहरु राखेका थिए । त्यसपछि करिब पौनेघण्टा पत्रकारहरुको प्रश्नको जवाफमा उनले समय बिताए । पत्रकारसँगको छलफलपछि इन्द्रेणीमै एमाले प्रचार विभागको आयोजनामा डिनरको आयोजना गरिएको थियो ।

KP Sharma Oli, UML Chairman 1
व्यवस्थापिका संसद र सडक दुबैतिर राजनीतिक ध्रुवीरकरण र तनाव बढिरहेका बेला एमालेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम सबैका लागि चासोपूर्ण हुनु स्वाभाविकै हो । एमालेले अवरुद्ध पारिरहेको संसद अब खोल्छ कि खोल्दैन ? संविधान संशोधनमा एमाले अन्ततः सहमतिमा आउँछ कि हलो अड्काइरहन्छ ? यस्तो प्रश्नहरु पत्रकारले एमाले नेतृत्वमा तेस्र्याएका थिए । कतिपय प्रश्नहरुको जवाफ एमाले अध्यक्ष ओलीले यति घुमाउरो र लाक्षणिक शैलीमा दिए कि अन्तिममा उनले आफैं भने-‘हैन मैले धेरै घुमाउरो जवाफ दिएँ कि क्या हो ?’

के-के भने ओलीले ?

देशको जिम्मेवार प्रतिपक्षी दलका नेता रहेको पूर्वप्रधानमन्त्री ओलीले पत्रकारहरुसँग आफूलाई निकै संयमितरुपमा प्रस्तत गरेका थिए । तैपनि आफ्नो लाइनमा उनी टसको मस गर्ने अवस्थामा देखिएनन् ।
मन्तव्यको शुरुमा ओलीले भने- ‘हामीले एकतावद्ध भएर संक्रमणकाल टुंग्याउनुपर्छ । संक्रमणकाल टुंगिएपछि सुस्थिर लोकतान्त्रिक अभ्यासमा देश प्रवेश गर्छ ।’

एमाले अध्यक्ष केपी ओलीले अर्को प्रमुख दल नेपाली कांग्रेसलाई आफूहरुले सम्झाउन नसकेको विश्लेषण सुनाए । ‘मैले उहिले पनि वामपन्थी र प्रगतिशील शक्ति मिलेर अघि बढ्नुपर्छ भनें, ०४६ सालमा हामीले यसलाई साकार पार्‍यौं ।’ ओलीले विगतसँग संविधानसभा चुनावपछिको राजनीतिक परिस्थितिलाई जोड्दै भने- ‘हामीले अर्को प्रमुख दल (कांग्रेस) लाई सम्झाउन सकेनौं । अनुत्पादक लगानीकर्ता र अनुत्पादक रोजगारदाताको भूमिकाले परिस्थिति बिग्रियो ।

दोस्रो संविधानसभाको चुनावपछि एमालेले नै ठूलो दल कांग्रेसलाई बाइपास गर्नुहुँदैन भनेको र आफैंले सुशील कोइरालालाई प्रधानमन्त्रीका लागि आग्रह गरेको ओलीले सुनाए । संक्रमणकाल मिलेरै टुङ्याउनुपर्नेमा जोड दिँदै ओलीले भने-‘सुशील कोइरालाजीले भन्नुभएको थिएन, मैले आफैं भनें ।… तर, संविधान बनेपछि नेपाली कांग्रेस अलिक फरक ढंगले प्रस्तुत भयो । कांग्रेसले नेतृत्वको प्रश्नमा मात्रै होइन, एमालेलाई किनारा लगाउने र एक्ल्याउने उल्टो नीति पो लियो ।’

नेपाली कांग्रेसकै कारण सहमतिको वातावरण बिगि्रएको बताइसकेपछि एमाले अध्यक्ष ओलीले आफ्नो प्रधानमन्त्रित्व कालमा भएका कामहरुको व्याख्या गरे । उनले त्यसिबेलाको परिस्थिति र आफूले गरेको कामबारे यसो भने- ‘मैले सपथ ग्रहण गर्दा तराईमा ४७ जना मरिसकेका थिए । भारतसँगको सम्बन्ध तनावपूर्ण थियो । म प्रधानमन्त्री भएपछि तराईको आन्दोलन मथ्थर भयो । मथ्थर हुँदै गयो । काठमाडौंमा आयौं भने । काठमाडौंमा प्यारोडी गीतमा दुई/चार दिन चल्यो । आन्दोलनरत आन्दोलनरत आन्दोलनरत भनेर खुबै उचालियो, मलाई त्यसमा भन्नु केही पनि छैन ।’

पूर्वप्रधानमन्त्री ओलीले पत्रकार भेटघाटमा विगतको व्याख्या गर्दै भने- ‘नाकाबन्दी खुल्यो, मारामारको स्थिति सिद्धियो । नाकाबन्दी खुलेर म भारत गएँ । बुद्धिजीवीले भारतसँग अहिलेसम्म सकारात्मक सम्झौता भएका छैनन् भनेको सुन्छु, म प्रधानमन्त्री भएर भारत गएर गरेको सम्झौता सकारात्मक छन् । बिशाखापटनम, बंगलादेशको बाटो, किन हुन सकेन सकारात्मक ?’

एमाले अध्यक्ष ओलीले चीन र भारत दुुबै छिमेकीसँग आफ्नो सरकारका पालामा सकारात्मक सम्झौता भएको बताए । तर, कसैले धानको भात खानका लागि एक गह्रो खेत बनाउँदा छिमेकीले रिसाउने किन ? ओलीको प्रश्न थियो,’धानको भात खाने भो भनेर छिमेकी रिसाउँछ भन्ने पर्सेप्सन किन ?’

संसद चल्नै नदिने अडान
एमाले अध्यक्ष ओलीले व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्तावमाथि छलफल हुनै नदिने अडान दोहोर्‍याए । संसदमा एमालेले गरिरहेको अवरोध सही भएको जिकिर गर्दै ओलीले भने-‘यो संवैधानिक छैन, मध्यरातमा खुसुक्क दर्ता गरिएको यो प्रस्ताव संविधान विपरीत, अदालतको विचाराधीन विषयमा एवं एवं राष्ट्रिय हित विपरीत छ, राष्ट्रिय हित विपरीत विषयमा संसदमा छलफल हुँदैन ।’

kp-oli-and-prachand-in-parliamentयस्तो विषयमा संसदमा भोटिङमा लैजानु भनेको यो प्रस्तावलाई सम्मान दिनु भएकाले यसलाई भोटिङमा लैजान नदिने ओलीले बताए । चुनाव भन्दैमा सबैले लड्न पाँदैनन्, कस्ताले उम्मेद्वार हुने भन्ने क्राइटेरिया हुन्छ भन्दै ओलीले यस्तो प्रस्ताव संसदमा छलफलका लागि अयोग्य भएको दाबी गरे ।

तर, मंगलबार अदालतले यसबारे सकारात्मक प्रतिक्रिया दियो भने एमालेले के गर्छ भन्ने पत्रकारको जिज्ञासामा ओलीले पछि नहट्ने संकेत गर्दै यो प्रस्ताव सरकारले फिर्ता लिनुपर्ने अडान राखे ।

पत्रकार भेटघाटमा एमाले अध्यक्ष ओलीले एएटा अर्को प्रशंगमा भने- ‘मेरो जुत्ताको तलुवा जहाँ टेक्यो त्यहाँ चिप्लिनेखालको छैन ।’

मधेसी मोर्चाको आलोचना, सामाजिक सदभावको वकालत

एमाले अध्यक्ष ओलीले मधेसी मोर्चाको खरो आलोचना गरे । ‘के हो मधेसको मुद्दा ? ५ नम्बर प्रदेश छुट्याउने यो माग कसको हो ? के गर्छ यसले ?’ ओलीले अगाडि भने-‘प्रधानमन्त्रीले गज्जबको तर्क गर्नुभयो, २ नम्बर प्रदेशमा तराई र पहाड छुट्याएको छ भने ५ नम्बरमा किन नहुने भन्नुभयो । अहिले त टेबल ठटाउनुमात्रै भएको छ, भोलि टेबल नै फुटाउनुहुन्छ र भन्नुहुन्छ, पाँच नम्बर फुटाउन हुन्छ भने ७ नम्बर, एक नम्बर किन हुँदैन ? यसैलाई लहरो बनाएर जान खोज्ने हो भने भोलि भर्‍याङै बनाइदियो भने के गर्नुहुन्छ ? त्यसकारण भर्‍याङ बनाउन सकिँदैन ।’

ओलीले ५ नम्बर प्रदेशका जनताको आन्दोलनलाई प्रधानमन्त्री प्रचण्डले वितण्डता भनेको आरोप लगाउँदै भने-‘जिन्दगीभरि वितण्डता गरेको मान्छेले शान्तिपूर्ण आन्दोलनलाई वितण्डता भन्ने ?’

पत्रकार भेटघाटमा एमाले अध्यक्ष ओलीले समाजिक सदभाव भड्काउन खोज्नेहरुलाई नेपाली जनताले असफल पारेको बताउँदै भने- ‘हिमाल पहाड र तराईका वीच सदभाव बढाऔं ।’

चुनावका नाममा ब्ल्याकमेलिङ

पूर्वप्रधानमन्त्री ओलीले चुनावले यो देश बचाएको होइन भन्दै केही मुलुकमा चुनावले देशै सिध्याएको बताए । उनकाे संकेत सिक्किमतिर थियो ।

अहिले चुनाव हुन सक्दैन भन्दै ब्ल्याकमेलिङ नगर्न ओलीले सरकारलाई चेतावनी दिए । विगतमा वैद्यले, गोइतले चुनाव हुन नदिने भने पनि चुनाव भएको भन्दै ओलीले प्रश्न गरे- किन हुन सक्दैन चुनाव ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?