+
+

राजनीतिमा लाग्न युवालाई डा. भट्टराईको आह्वान

'हामीले बनाएको नक्सा कसले कार्यान्वयन गर्ने ?'

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २६ गते १८:२२

baburam-bhattarai

२६ मंसिर, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले युवाहरुलाई राजनीतिमा आउन आह्वान गरेका छन् । युवाहरु राजनीतिमा नआएसम्म समृद्ध नेपाल निर्माण नहुने उनले बताए ।

‘अरुलाई सरापेर हुँदैन । तपाईंहरु नै अगाडि आएर देशको जिम्मा लिन सक्नुपर्छ । त्यसरी मात्रै नयाँ समृद्ध नेपाल बन्छ,’ थापाथली क्याम्पसमा आइतबार आयोजित विद्यार्थीहरुको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले भने, ‘राजनीतिबाट बिमुख भएर, राजनीतिबाट कटेर देश विकसित हुन सक्दैन र तपाईहरुका सपना पनि पूरा हुन सक्दैनन् । त्यसअर्थमा युवा विद्यार्थी साथीहरुलाई मेरो बिनम्र आग्रह छ तपाईंहरुले अब नयाँ ढंगको राजनीति गर्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराइले नीति निर्माण तहमा युवाहरुले निर्णायक भूमिका खेल्नुपर्ने बताए । प्राविधिक शिक्षा अध्ययन गरेका युवाहरु नीति निर्माण तहमा नपुगेसम्म नक्सा कोरेको भरमा मात्र देश विकास नहुने उनले प्रष्ट पारे ।

‘हामीजस्ता मानिसहरु जो ज्ञान, विज्ञान र प्रविधिले युक्त छौं । हामी नीति निर्माण तहमा हामी संलग्न भएनौं भने, हामीले खालि नक्सामात्र बनाइदिएर त्यो कार्यान्वयन कसले गर्ने ?’ डा. भट्टराईले भने, ‘त्यसलाई कार्यान्वयन गर्ने सही नीति भएन भने, सही बजेट भएन भने, त्यसलाई कार्यान्वयन गर्ने राज्यव्यवस्था भएन भने तपाईंहरुले बनाएका नक्सा जति सुन्दर भए पनि अफिसका कोठाहरुमा थन्किन्छ ।’

अहिलेको राजनीति दिक्क लाग्दो भएको भन्दै उनले त्यसलाई सुधार्न युवाहरु नै अघि सर्नुपर्ने उनको भनाइ थियो । विगतको राजनीतिक संस्कारका कारण युवाहरु पलायन भएर दक्ष जनशक्ति विदेशमा श्रम बेच्न बाध्य भएको टिप्पणी गरे ।

‘अहिलेको राजनीति देख्दा अत्यन्त दिक्क लाग्छ । भ्रष्टाचार, अनियमितता छ, नातावाद छ, कृपावाद छ । विकृति छ । नेताहरुले एउटा भन्छन् अर्को गर्छन् । त्यसले तपाईहरुलाई दिक्क लाग्न सक्छ,’ उनले भने, ‘आफूले सिकेका ज्ञान स्वदेशमै खपत हुने वातावरण बनाउनु अबको मुख्य राजनीतिक कार्यभार हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?