+
+

सूचीकृत कम्पनीको सेयरमा ११ मन्त्रीको लगानी, भूमिसुधारमन्त्रीसँग धेरै सेयर

मन्त्री खाँडले अस्तित्वमै नभएको फाइनान्समा सेयर देखाए

विजयराज खनाल विजयराज खनाल
२०७३ मंसिर ३० गते १५:१७

mantri-list

३० मंसिर, काठमाडौं । नेपालका मन्त्रीहरुको सेयर बजारप्रति सकारात्मक धारणा नहुनुमा उनीहरुको सेयर लगानी नहुनु, बजारबारे जानकारी नहुनु आदि कारणहरुलाई लिइने गरिएको छ ।

हुनत बजारलाई प्रभावित पार्न सक्ने निर्णय गर्नुपर्ने पदमा रहँदा दोस्रो बजारबाट सेयर खरिदलाई गैरकानुनी मानिए पनि प्राथमिक सेयर निष्कासन (आइपीओ)मा भने लगानी गर्न सकिने भनेर नियामक निकाय राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेका कर्मचारी र ब्रोकरहरु समेतले लगानी गर्ने गरेको पाइन्छ ।

तर, हाल सरकारमा रहेर आफ्नो सम्पत्ति विवरण पेश गर्ने ३१ मन्त्रीहरुमध्ये ११ मन्त्रीसँग मात्रै सूचीकृत संस्थाको सेयर रहेको छ । यस्ता कम्पनीको सेयर स्वामित्वका आधारमा सबैभन्दा धेरै सेयर हुनेमा भूमिसुधार मन्त्री बिक्रम पाण्डे अग्रस्थानमा छन् ।

सबैभन्दा धेरै सेयर भए पनि पाण्डेसँग प्राइम बैंकको मात्रै सेयर छ ।

त्यस्तै सबैभन्दा कम सेयर हुने मन्त्रीमा सामान्य प्रशासन मन्त्री केशवबहादुर बुढाथोकी छन् । उनीसँग कृषि बिकास बैंकको ३७ कित्ता सेयर छ ।

कतिपय मन्त्रीहरुले पैतृक सम्पत्तिको रुपमा समेत सेयर पाएको उल्लेख गरेका छन् ।

सेयरमा मन्त्री परिवारकै आकर्षण

स्वाथ्यमन्त्री गगन थापासँग आफू र आफन्तका नाममा सूचीकृत संस्थाको २२ हजार ७ सय १९ कित्ता सेयर छ । थापाकी श्रीमती अञ्जना केसी थापा, पिता महेन्द्रकुमार थापा, छोरी गार्गी ए थापा र आफन्त जियना ए थापाका नाममा समेत सेयर रहेको छ ।

खानीखोला जलविद्युत् आयोजना, बरुण हाइड्रोपावर, अपि हाइड्रोपावर र जनता बैंकमा माथि उल्लेखित सबैजसो परिवारका सदस्यको लगानी रहेको छ । थापा संसदको जलस्रोत तथा उर्जा समितिका सभापति समेत रहेकाले पनि उर्जामा उनको विशेष चासो रहेको मान्न सकिन्छ ।

जलविद्युत् लगानी तथा विकास कम्पनी, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काठमाण्डु लगायतमा पनि थापा परिवारको लगानी रहेको छ । थापासँग स्थानीयमा सेयर जारी गरेको तर सर्वसाधारणमा सेयर जारी गर्न नसकेको अपर तामाकोशी जलविद्युत् कम्पनीको २सय ९३  कित्ता सेयर छ ।

ministers-share-invest

सूचीकृत कम्पनीमा भन्दा अन्यमा विश्वास

विभिन्न सूचीकृत सेयरमा स्वास्थ्यमन्त्रीको लगानी देखिए पनि अन्य क्षेत्रका कम्पनीहरुमा पनि उत्तिकै लगानी रहेको छ ।

उर्जामन्त्री जनार्दन शर्माले आफ्नो सम्पत्ति विवरणमा एकपटक ‘सनराइज बैंक’ उल्लेख गरेर पुनः त्यसलाई मेटेका छन् । मन्त्री शर्माले पिपुल्स हाइड्रो सहकारीमा ५ हजार कित्ता सेयर रहेको उल्लेख गरेका छन् ।

अन्य कतिपय मन्त्रीको सूचीकृत संस्थाको सेयरमा लगानी छैन तर विभिन्न कलेज, सहकारी संस्था, कन्स्ट्रक्सन कम्पनी लगायतमा सेयर लगानी देखिन्छ ।

बजारको अपडेट छैन

धेरैजसो मन्त्रीले पैतृक सम्पत्तिका रुपमा पाएको, कुनै समयमा प्राथमिक सेयरमा लगानी गरेकाले पनि होला, बजारबारे अपडट नभएको समेत पाइयो । कतिपय मन्त्रीले मर्ज भएर अर्को संस्थामा विलय भएका संस्थाको समेत सेयर देखाउनुले यही संकेत गर्छ ।

मन्त्री बालकृष्ण खाँडले लर्ड बुद्ध फाइनान्स (विवरणमा बैंक उल्लेख)को सेयर रहेको उल्लेख गरेका छन् । जब कि यो संस्था ग्लोबल आइएमइ बैंकसँग मर्ज भएको वर्षौं भइसकेको छ ।

कुन मन्त्रीसँग कुन बैंकको सेयर ?

  • बिमलेन्द्र निधि – कृषि बिकास बैंक
    अर्जुननरसिंह केसी – कृषि बिकास बैंक
    रमेश लेखक – प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंकलगायत
    प्रकाशशरण महत – सिटिजन्स बैंक, कुमारी बैंक, सिद्धार्थ बैंकलगायत
    बालकृष्ण खाँड – लर्ड बुद्ध फाइनान्स, ग्लोबल आइएमई बैंक, नेपाल एसबीआई बैंकलगायत
    दीपक बोहरा – बैंक अफ काठमाडौं, लुम्बिनी, नबिल, एभरेष्ट, सेञ्चुरी, कृषि बिकास बैंक लगायत
    हितराज पाण्डे – नेपाल इन्भेष्टमेन्ट बैंक
    केशवकुमार बुढाथोकी – कृषि बिकास बैंक
    रोमी गौचन थकाली – फेवा बिकास बैंक
    नवीन्द्रराज जोशी – एस डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक
    जीवनबहादुर शाही – कृषि बिकास बैंक, चिलिमे जलविद्युत् कम्पनी, ज्योती बिकास बैंक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?